स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न माग

नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्यौलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।
महासंघको हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने जनाएको छ ।
महासंघका नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन तथा यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै निर्देशिकाको अक्षरस पालना गराउन सरकार र सरोकारवाला निकायसँग छलफल शुरु गर्ने बताए ।
स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको भनाइ थियो ।
मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नती, पुनरुत्थान र विस्तारका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गर्ने योजना रहेको पनि अध्यक्ष सिंहले बताए ।
स्थानीय निकायमार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरुमा कार्यक्रमहरु ल्याउने प्रयास गर्ने । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय राजश्व परामर्स समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने उनले बताए ।
नेपाल सरकारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै लघु घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकासमा सहयोग र सहकार्य गर्न चाहने सम्भावित दातृ निकायहरुको पहिचान गरी कार्यक्रम सञ्चालन गर्न पहल गर्ने नयाँ कार्यसमितिको योजना रहेको उनले बताए । नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्युतीय तथ्याङ्क अद्यावधिक गर्नुका साथै विद्यमान नीति, ऐन तथा कार्यविधिहरुलाई लघु, घरेलु तथा साना उद्योग मैत्री बनाउन पहल र प्रयत्न गर्ने महासंघको योजना रहेको छ ।
कोरोनाका कारणले स्थगित भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवद्र्घन र विकास गर्न सहयोग गर्ने महासंघको आगामी योजना रहेको अध्यक्ष सिंहले बताए ।
लघु, घरेलु तथा साना उद्यमीहरुलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा उद्योग प्रवद्र्घन र विकासका कार्यक्रमहरु उपलव्ध गराउन नसकेको अवस्थालाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापनलाई मजबुत बनाउँदै लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्घनका लागि पर्याप्त कार्यक्रमहरु उपलब्ध गराउन पहल गर्ने महासंघको योजना रहेको छ । सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजीकरण गर्ने पनि महासंघको योजना रहेको छ ।
औद्योगिकरण मार्फत मूलुकलाई आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बनाउन उद्यमी व्यवसायीहरु क्रियाशिल रहेको उनको भनाइ छ । “नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्यमीहरु नै मुलुकको आर्थिक समृद्धिका लागि परिवर्तनका सम्वाहक हुन भन्नेमा कसैको दुईमत छैन । उद्यमीहरु प्रगतिशील अर्थतन्त्रका परिवर्तनकारी संवाहक हुन्” उनले भने, “उत्पादन र सेवाको सम्भाव्य माग पत्ता लगाई बजारयोग्य वस्तु वा सेवाको आपूर्ति सुनिश्चित गर्नु उद्यमी व्यवसायीको दायित्व हो ।”
उद्योग विभागको पछिल्लो आँकडा अनुसार आर्थिक वर्ष २०७७-०७८ सम्ममा मुलुकभर कुल छ लाख दुई हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन । यस मध्ये चार लाख ५७ हजार ६४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा रहेका छन् ।