१९ करोड खर्चेर २३३ योजना निर्माण

जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २ सय ३३ वटा योजना निर्माण गरेको छ । आव २०७७÷०७८ मा पुँजीगततर्फ विनियोजित २३ करोड ५८ लाखमध्ये १९ करोड १८ लाख खर्चेर पालिकाका ७ वटा वडामा २ सय ३३ वटा योजना निर्माण भएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
उनका अनुसार गत आवमा छनोट भएका २ सय ३७ योजनामध्ये २ सय ३३ सम्पन्न भएको र बाँकी चारवटा योजनामध्ये एक योजनाको बजेट नै फ्रिज भएको छ भने तीन योजना निमार्णाधीन रहेका छन् । भौगोलिक रूपमा विकट पातारासीका बस्तीमा सडक, भवन, खानेपानी, सिँचाइ, बाटो, विद्युतगृह मर्मत, खेलकुललगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता साथ अघि बढाइएको थियो । पालिकाको पूर्वाधार विकासलाई गति दिन पुँजीगत बजेटको खर्चलाई प्रभावकारी बनाइएको उनको भनाइ छ ।
निर्माण सम्पन्न भएका २३३ वटा योजनामध्ये वित्तीय समानीकरणतर्फका १२८ वटा योजना रहेका छन् भने, प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फका १४, मुख्यमन्त्री रोजगार कार्यक्रमतर्फका १९, नेपाल जलवायु परिवर्तनतर्फका नौवटा योजना सम्पन्न भएका हुन् । पातारासीको भौतिक प्रगति विवरणअनुसार वित्तीय समानीकरणतर्फ जनतासंँग अध्यक्ष÷उपाध्यक्ष कार्यक्रमअन्तर्गत ४९ वटा योजना निर्माण भएका छन् । त्यस्तै, संघ, प्रदेशको समपूरक विशेष अनुदानबाट आठवटा योजना, समानीकरण पूर्वाधार विकास साँझेदारी कार्यक्रमबाट एक, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत तीन, शिक्षातर्फ तीन, खेलमैदान एक र कृषि पकेट क्षेत्रका एक गरी जम्मा २ सय ३३ योजना सम्पन्न भएको पातारासी गाउँपालिकाले जनाएको छ ।
साथै पातारासी गाउँपालिकाले चालू आवका लागि १ सय ९० वटा योजना छनोट गरेको छ । कार्यकालको अन्तिम वर्षमा जनप्रतिनिधिले जनताका मागमा आधारित योजनालाई प्राथमिकता दिइएको छ ।
भौतिक पूर्वाधार निर्माणसँंगै पातारासी गाउँपालिका जिल्लाकै पहिलो उज्यालो पालिका घोषणाको तरखरमा रहेको पालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । उनले भने, “पालिकाभरि करिब १६ वटा जलविद्युत आयोजना छन् । बजारको भन्दा राम्रो बत्ती पातारासीका गाउँमा छ । पुराना जीर्ण विद्युतगृह मर्मतसंँगै विद्युतीकरणलाई जोड दिएका छौ । कार्यावधि दुई महिना जत्ति बाँकी रहेकाले पछि आउने जनप्रतिनिधिलाई उज्यालो पालिका घोषणा गर्ने आधार तय गरिदिएका छौं ।”
पहिलो कार्यकाल शिक्षा, स्वास्थ्य, कृषिका नीति निर्माण गर्दै, जनताका आधारभूत आवश्यकता पूरा गर्दै बितेको आफ्नो लक्ष्यअनुसार खास्सै ठूला योजना निर्माण नभए पनि आउने प्रतिनिधिले ढुक्क भएर काम गर्ने वातावरण सृजना भएको अध्यक्ष बोहोराको भनाइ छ । विश्वकै अग्लो स्थानमा मार्सीधान फल्ने छुमचौर ज्युलोलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन डीपीआर बनाएर पूर्वाधार निर्माणअघि बढेको छ ।