Logo

भारतीय सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवन उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत एक हो । यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
१५ शैययाको क्षमता भएको यस अस्पतालमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न हेतु प्रसूति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।
कार्यक्रममा बोल्दै खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवं बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् । मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्