वीरगन्जमा पहिलो चारतारे होटल ‘दियालो लर्ड्स’ «

वीरगन्जमा पहिलो चारतारे होटल ‘दियालो लर्ड्स’

वीरगन्ज– औद्योगिक तथा आर्थिक नगरी वीरगन्जमा पछिल्लो समयमा सुविधासम्पन्न स्तरीय होटलहरू खुल्न थालेका छन् । ८० करोड लगानीमा सुविधासम्पन्न चारतारे स्तरीय होटल दियालो लर्ड्स सञ्चालनमा आएको छ । औद्योगिक क्षेत्रले मात्रै धानेको वीरगन्जको पर्यटनलाई पछिल्लो समयमा खुलेको स्तरीय होटलहरूले पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । वीरगन्जका युवा उद्यमी एवं नेपाली कांग्रेसका नेतासमेत रहेका संविधानसभा सदस्य अनिल रुंगटा सञ्चालक रहेको होटल दियालो लर्डसमा विशाल पटवारी, निर्मल गुप्ताको पनि लगानी रहेको छ ।
प्रदेश नम्बर २ को एकमात्रै महानगरपालिका वीरगन्ज महानगरपालिकामा एक मात्रै चारतारे स्तरीय होटल सञ्चालनमा आएपछि यो नाका हुँदै भित्रिने र बाहिरिने पर्यटकहरूको लागि स्तरीय बासस्थानको व्यवस्था भएको छ । वीरगन्ज नेपालको प्रमुख प्रवेशद्वार र औद्योगिक तथा आर्थिक नगरी पनि भएकोले उद्योगी व्यवसायी र पर्यटकहरूलाई लक्षित गरेर नै होटल निर्माण गरिएको सञ्चालक अनिल रुंगटाले बताए । वीरगन्जको मुख्य मुटु मानिने आदर्शनग स्थित पुरानो बसपार्क छेउमा निर्माण गरिएको १० तले भवनको होटलमा ६० वटा कोठा छन् ।
त्यसमध्य चारवटा स्वीट र ५६ वटा डिलक्स कोठा छन् । दुइटा रेस्टुराँ दुइटा वंक्वेट हल, शारीरिक सुगठनका लागि जिम क्लब, स्वीमिङ पुलको पनि सुविधा छ । औद्योगिक नगरी वीरगन्जमा होटलहरू थुप्रै रहे पनि स्तरीय होटलहरू नहुँदा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै नेपाल भित्रिने पर्यटकहरू वीरगन्जभन्दा बाहिर बस्नुपर्ने बाध्यता थियो । होटल दियालो लडर््स सञ्चालनमा आएपछि स्तरीय होटलहरूमा बस्ने पर्यटकहरूको लागि अब सहज भएको छ । भारतको ख्याति प्राप्त होटल लर्डसको फ्रेन्चाइजमा होटल सञ्चालन गरिएकाले अन्य स्थानका चारतारे होटलमा पाइने सबै सुविधाहरू होटल दियालो लर्डसमा पनि पाइने सञ्चालक रुंगटाले बताए ।
प्रदेश नम्बर २ मा कृषि पर्यटन तथा पर्यापर्यटनमा प्रचुर सम्भावनाहरू रहेको र वीरगन्ज पथलैया औद्योगिक करिडोरमा ठूला लगानीका उद्योगहरू पनि सञ्चालनमा रहेकोले त्यस्ता उद्योगहरूमा आउने उद्योगी व्यापारीहरूको रोजाइमा स्तरीय सुविधासम्पन्न चारतारे होटलहरू पर्ने भएकाले पनि वीरगन्जमा चारतारे होटल सञ्चालनमा ल्याइएको रुंगटाको भनाइ छ । सानाठूला होटलहरू वीरगन्जमा सञ्चालनमा रहे पनि सुविधासम्पन्न चारतारे होटल भने यो पहिलो हो ।
वीरगन्ज महानगरमा हाउजिङ व्यवसाय र होटल व्यवसायले विस्तारै गति लिँदै गएको छ । पर्यटनको मुख्य पूर्वाधार नै स्तरीय होटलहरू भएकोले होटल दियालो लर्ड्सको सञ्चालनले प्रदेश २ कै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्