Logo

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने

काठमाडौं – सरकारले रोजगारी यूएई लैजान गैरकानुनी बाटो प्रयोग गरी युवालाई झुटो आश्वासन दिनेलाई विदेशमा भए पनि पक्राउ गर्ने जनाएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठल आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै सो जानकारी दिएका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको बताउँदै गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भूमिमा पनि नजोगिने बताए ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका छन् । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपीलाई पनि सहभागि गराएको उनले जानकारी दिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरिएको भएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थियो । कार्यक्रमका सहभागिहरुले नेपाली श्रमिकहरुले यूएईमा भोगेको समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्