पर्यटकलाई नेपाल आगमन सहज

कोभिड–१९ पछिका सबै प्रावधान हटाउँदै सरकारले विदेशस्थित नेपाली नियोगहरूबाट जारी हुँदै आएको पर्यटक प्रवेश भिसा सुचारु गरेको छ । पछिल्लो समय कोभिड–१९को संक्रमणमा कमी आएसँगै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई सहजीकण गर्दै प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको हो ।
यसले गर्दा अबका दिनमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकले प्रवेश विन्दुमा नै अनअराइभल भिसा प्राप्त गर्ने छन् । कोभिड–१९ महामारी कम हुँदै गएपछि सरकारले विदेशी नागरिकहरूका लागि अनअराइभल भिसा दिन प्रक्रिया सुरु गरेको अध्यागमन विभागले जनाएको छ । सरकारले यसअघि नेपाल प्रवेशमा लगाएका विभिन्न प्रावधान हटाएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । कोभिड–१९ महामारीका कारण सरकारले विदेशी नागरिकलाई अनअराइभल भिसा बन्द गरेको थियो । अब भने विदेशी नागरिकले अनअराइभल भिसा प्राप्त गर्नेछन् ।
अध्यागमन विभागले बुधबार जारी गरेको सूचनामा भनेको छ, “प्रचलित कानुनको अधीनमा रही खोप लगाएको प्रमाणपत्र भएका वा कोभिड–१९का परीक्षण नेगेटिभ प्रमाणपत्र भएका सबै विदेशी नागरिकहरूले नेपाल प्रवेशको अध्यागमन कार्यालयबाट नै अनअराइभल भिसा प्राप्त गर्न सक्ने छन् ।”
हवाई मार्ग वा स्थल मार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले कोभिङ–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नु ७२ घण्टाभित्रको कोभिड– १९ परीक्षण (आरटी पिसिआरको नेगेटिभ रिपोर्ट) पेस गर्नुपर्नेछ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप कार्ड÷कोभिड परीक्षण प्रमाणपत्र अनिवार्य हुने छैन । विदेशबाट नेपाल प्रवेश गर्ने विदेशी-नेपाली नागरिकहरूले स्वास्थ्य परीक्षण गर्दा आवश्यक देखिएको अवस्थामा बाहेक क्वारेन्टाइन बस्नु पर्नेछैन ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको अवस्थाका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी विभागलाई लेखी आएमा तथा नेपाल सरकारको निर्णय भएमा आवश्यकतानुसार पुनः यात्रा सहजीकरण (ट्राभल एडभाइजरी) जारी हुन सक्ने विभागले जनाएको छ । विभागले कोभिड–१९का सम्बन्धमा यसअधि जारी भएका यात्रा सहजीकरण सम्बन्धी सबै सूचनाहरू खारेज गरेको छ । सरकारले कोभिड–१९ अगाडि १ दर्जन मुलुकका नागरिकलाई अनअराइभल भिसा दिन लगाएको शर्त भने कायमै राखेको छ नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्यान्ड, क्याक्रोन, सोमालिया, लिविया, लिविया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्थान र सिरियाका नागरिकले भने विदेशस्थित नेपाली दूतावासमा यात्रा अनुमति लिएर आउनु पर्नेछ ।