गजुरी बजारमा फोहोर व्यवस्थापन

काठमाडौंबाट करिब ६२ किलोमिटरको दूरीमा रहेको धादिङको गजुरीस्थित गजुरी नमुना बजार आफैंमा चिरपरिचित अनि लोकप्रिय ठाउँ हो । काठमाडौंबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यही बाटो हुँदै दैनिक रूपमा हजारौं सवारी साधन ओहोरदोहोर पनि गर्छन् । धादिङ जिल्ला निकै ठूलो पनि छ । यहाँ साना–ठूला गरी धेरै बजार देख्न सकिन्छ । खानीखोला, नौबीसे, महादेवबेसी, धार्के, आदमघाट, गजुरी, मलेखु, धादिङबेसीलगायत धेरै बजार यस जिल्लामा देख्न सकिन्छ । विगत लामो समयदेखि गजुरी बजार भौतिक पूर्वाधारहरूले सम्पन्न छ । बैंक–वित्तीय संस्था, धार्मिक स्थल, मनोरम अनि अटुट रूपले बग्ने त्रिशूली नदीको तीरमा अवस्थित स्वच्छ हावापानी र यहाँको सफा दैनिकी, रहनसहनका कारण यो गजुरी बजार नमुना बजारको रूपमा परिचित भएको छ ।
पाँचवटा वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक अनि नबिल बैंक यहाँ रहेका छन् भने वित्तीय संस्थाहरू पनि १०÷१२ वटाको हरारारीमा छन् । सुरक्षाको दृष्टिकोणले पनि चौबीसै घण्टा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत प्रहरी पोस्टहरू रहेका छन् । तर, पछिल्लो समयअनुसार यस नमुना गजुरी बजारमा फोहोरको डङ्गुर थुप्रिनाले यहाँको वातावरणमा भने प्रतिकूल असर गरिरहेकै छ । सम्बन्धित निकायको लापरवाहीका कारण लामो समयदेखि यस गजुरी नमुना बजारमा नै फोहोर उठ्न नसकेको स्थानीय समाजसेवी राजकुमार गिरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पटक–पटक गाउँपालिकालाई निवेदन गर्दा पनि फोहोर उठाउने विषयमा कुनै चासो नदिइएकाले यहाँका स्थानीयवासीको मन खिन्न भएको अवस्था छ । फोहोर व्यवस्थापनका लागि मैले आफ्नै खर्चमा भए पनि केही डस्बिनहरू ल्याएर फोहोर व्यवस्थापन गरेँ, तर यत्रतत्र रूपमा फोहोर धेरै भएर छरिँदै गएपछि कसैले आ–आफ्नो घरअगाडि, कसैले बारीमा फोहोर जलाउन थाले ।” यसरी जलाएको फोहोरले गजुरी बजारमा नै वातावरणीय असर गर्ने भएकाले हामीले गाउँपालिकालाई पटक–पटक निवेदन गर्दा पनि फोहोर व्यवस्थापनमा कुनै चासो नदिएको समाजसेवी गिरी बताउनुहुन्छ । यथाशीघ्र चाँडो यस गजुरी नमुना बजारबाट फोहोरको व्यवस्थापन होस् भन्ने स्थानीयको समेत आग्रह छ ।
केही दिनअघि म आफैं गजुरी बजार जाँदा पनि गजुरी बजार क्षेत्रमा फोहोर देखिएको थियो । कसैले आफ्नो घरअगाडि झोलाभरि फोहोर थुपारेर राखेका थिए भने कसैले सडकछेउमा फोहोर जलाएका थिए । केही फोहोर सडकछेउको पानी बग्ने नालीमा समेत फालिएको देखिन्थ्यो । यसरी गजुरीको नमुना बजार नै फोहोर देखिनुले अलिकति फोहोर व्यवस्थापनमा कन्जुस्याइँ भएको हो कि भन्ने महसुस हुन्छ । त्यसैले फोहोर व्यवस्थापनको समस्या तत्काल समाधान होस् भन्न चाहन्छु ।
गजुरी नमुना बजारमा पक्की सडकको छेउमा मात्र होइन, भित्री भागमा पनि आधुनिक तरिकाले राम्रा घरहरू धमाधम निर्माण भइरहेको देख्न सकिन्छ । खेतीयोग्य जमिन पनि प्रशस्तै रहेको गजुरीमा बर्सेनि समयअनुसारका फलफूल तथा तरकारीहरू पनि उत्पदन हुन्छन् । त्रिशूली नदीको किनार भएकाले यहाँ माछामासु पनि उत्तिकै पाइन्छन् भने आन्तरिक तथा बाह्य पर्यटकीय दृष्टिकोणले पनि यहाँ -याफ्टिङ गर्नका लागि उचित व्यवस्था समेत रहेको छ । त्यसैले गजुरी बजार एकपटक अवश्य घुम्न जाऊँ ।