खानेपानी महशुल ई–सेवाबाट भुक्तानी गर्न सकिने «

खानेपानी महशुल ई–सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।
खानेपानी सम्झौतामा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामुका उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै ई–सेवा मार्फत केयुकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगंज शाखाका ग्राहकले ई–सेवाबाटै महशुल भुक्तानी गर्न सक्ने भएका छन् । उक्त सम्झौताले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
हाल देशभर रहेका सयौँ खानेपानी समितिहरूको खानेपानी महशुल समेत ई–सेवाबाट भुक्तानी गर्न सकिन्छ । ई–सेवा प्रयोगकर्ताले अनलाइनबाट सिधैं शुल्क भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा अकाउन्ट नभएका ग्राहकहरूले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी, अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख ३० हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) छन् ।
ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्