दुई दिने भ्रमण सकेर फर्किए साउदी राजकुमार «

दुई दिने भ्रमण सकेर फर्किए साउदी राजकुमार

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । सोमबार साँझ काठमाडौं उत्रिएका साउद उच्चस्तीय भेटघाट सकेर मंगलबार अपराह्न स्वदेश फर्किएका हुन् ।
निजी विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । उच्चस्तरीय भेटघाटपछि मंगलबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवा भोजमा सरिक भई उनी विमानस्थल प्रस्थान गरेका थिए ।
सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार साउदको टोलीसँग भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ । मंगलबार नै परराष्ट्रमन्त्री खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ ।
उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश पनि हो । करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन् ।
नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध बनेको ४५ वर्ष पूरा भएको अवसरमा त्यहाँका विदेशमन्त्री काठमाडौं आएका हुन् । सन् १९७८ मार्च १५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्