Logo

प्रो–क्लब च्याम्पियनसीप क्रिकेट भैरहवामा हुने

भैरहवा- विदेशी क्रिकेट क्लब सम्मिलित प्रो–क्लब च्याम्पियनसीप क्रिकेट नेपालमै पहिलो पटक हुने भएको छ । काठमाडौंको जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चैत २५ देखि वैशाख ३ गतेसम्म टी–२० क्लब क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी विश्व क्रिकेटका महारथि अष्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नलाई स्मरण गर्दै प्रतियोगिता गर्न लागिएको जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र मलेशियाका क्रिकेट क्लबको सहभागिता हुने आयोजक संस्था जोरा इन्टरनेशनलका प्रबन्ध निर्देशक अमिर अख्तरले बताए ।

८ क्लबको सहभागिता रहने लिग र नकआउट चरणमा गरी प्रतियोगितामा कुल १७ खेल हुने आयोजकले जनाएका छन् । काठमाडौं केन्द्रित ठूला प्रतियोगितालाई विकेन्द्रित गर्ने लक्ष्यसहित भैरहवामा यो प्रतियोगिता गर्न लागिएको अख्तरले पत्रकार सम्मेलनमा बताए । प्रतियोगिताको विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ । यद्यपि टिमको नाम र पुरस्कारको राशी भने केही समय पछि घोषणा गरिने प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्