बढ्दो ब्याजदरविरुद्ध मोरङका उद्योगी आन्दोलित

विराटनगर-वाणिज्य बैंकहरूले अस्वभाविक रुपमा बैंकको ब्याज बढाएको भन्दै मोरङका उद्योगीहरू आन्दोलित भएका छन् ।
सोमबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार विराटनगरस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर कायम गर्न माग गर्दै प्रदर्शनसहित धर्ना दिएका हुन् ।
संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने, स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब्याजदर घटाउनुपर्नेलगायतका माग राख्दै उद्योगी व्यवसायीहरूले प्रदर्शन गरे । बैंकहरूले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका हुन् । नागरिक लगानी कोष, सञ्चयकोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पत्ति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै संघले चरणवद्ध आन्दोलन सुरु गरेको छ ।
ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका उद्योगी व्यवसायीलाई राष्ट्र बैंकका कर्मचारीले कार्यालय प्रवेशमै रोक लगाएका थिए । ज्ञापनपत्र दिन पुगेका उद्योगीलाई कार्यालय प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै प्रदर्शनसहित धर्ना दिएका थिए । “उद्योगी व्यवसायीले तिरेको ट्याक्सबाट तलब खाएका कर्मचारीहरूले हामीलाई कार्यालय प्रवेश गर्नमै रोक हेपाहा व्यवहार देखाएका छन्,” रिजालले भने, “अब हामी चुप लागेर बस्दैनौं, अति भयो । हामीमाथि दुव्र्यवहार भयो । हामीले राज्यलाई पु¥याएको योगदानको अवमूल्यन भयो ।”
संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले राष्ट्रबैंक शाखा कार्यालय विराटनगरका कर्मचारीले ज्ञापनपत्रसमेत बुझ्न नमान्नु विडम्बना भएको बताए । ज्ञापनपत्र बुझ्न नमानेपछि आफूहरूले गेटमै धर्ना दिन बाध्य भएको उनको भनाइ थियो । मुन्दडाले उद्योगी व्यवसायीले रोजगारी दिने, कर तिर्ने तर, पाउने बेलामा भत्केको बिग्रेको पुल मात्रै पाउने गरेको गुनासो गरे । उद्योगी महेश जाजुले ज्ञापनपत्र बुझाउन गएको मोरङ व्यापार संघको टोलीलाई अवरोध गरेपछि उद्योगी व्यवसायीले गेटमा नाराबाजी गर्दै धर्ना दिनुपरेको बताए । उनले कर्मचारीहरूले उद्योगी व्यवसायीलाई हेप्ने प्रवृत्ति ज्ञापनपत्र बुझाउन जाँदासमेत देखाएको गुनासो पोखे ।
पछिल्लो समय विप्रेषणमा ह्रास आएको, स्वदेशी उत्पादकत्व घटेको, उद्योगहरू जीर्ण हुँदै गएको तथा आयातका लागि प्रतितपत्र खोल्न राष्ट्र बैंकले कडाई गर्दा पर्याप्त मात्रामा कच्चापदार्थ ल्याउनसमेत नसक्ने अवस्था आएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले बताए । उद्योगीहरूले समस्याको समाधान तत्काल नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन् ।