यातायात क्षेत्रलाई व्यवसायमैत्री र यात्रुमैत्री बनाउनेछु

यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५औं राष्ट्रिय महाधिवेशन यही माघ १७, १८ र १९ गते चितवनमा हुँदैछ । व्यवसायीहरूको महाधिवेशन नजिकिँदै गर्दा आफ्नो पोल्टामा नेतृत्व ल्याउन देशभरका व्यवसायी चुनावी अभियानमा होमिएका छन् । व्यवसायीहरू चुनाव जित्न प्यानल नै बनाएर लागि परेका छन् । लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्षमा महासंघका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र वाम प्यानलबाट कार्यवाहक अध्यक्ष डोलनाथ खनालले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक प्यानलले व्यवसाय केन्द्रीत हुनुपर्छ भन्दै अहिलेका लागि अध्यक्ष र उपाध्यक्षमा मात्र उम्मेदवारी घोषणा गरेको छ । तर, वाम प्यानलले खनालको अध्यक्षमा सम्पूर्ण पदाधिकारी घोषणा गरेको छ । राष्ट्रिय महाधिवेशनबाट आउने नेतृत्वले ३ वर्षसम्म महासंघको नेतृत्व गर्ने छ । महासंघको विधान संशोधनसँगै संरचना पनि संघीयता अनुरूपनै हुनेछ । महाधवेशनबाट एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, तीन सचिव, ७ प्रदेश र उपत्यकाको छुट्टै प्रदेश गरी आठ प्रदेश संयोजक, १० वर्गिय संगठनको संयोजकलगायत निर्वाचित हुने छन् । ३ सय ६ वटा संघ-समिति र प्रालि आबद्ध भएको महासंघमा १० वर्गमा रहेका विभिन्न संघ÷समितिमध्ये प्रत्येकबाट ६ जना र प्रालिबाट १ जना मतदाता हुने छन् । दुवै उम्मेदवारले नेपालको यातायात क्षेत्रलाई सुधार गर्न आफूले पहल गर्ने दाबी गरेका छन् । यसै सेरोफेरोमा महासंघका अध्यक्षका प्रत्यासीहरूसँग कारोबारका लागि शिव बोहराले गरेको कुराकानीको सार :
यातायात क्षेत्रलाई व्यवसायमैत्री र यात्रुमैत्री बनाउनेछु
डोलनाथ खनाल
कार्यवाहक अध्यक्ष तथा अध्यक्षका उम्मेदवार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
महासंघको अध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको छ, तपाईंका एजेन्डा के–के छन् ?
सबैभन्दा पहिले नेपालको यातायात क्षेत्रको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पूर्ण व्यावसायिक संस्था बनाउनु हामी सबैको दायित्व हुन आउँछ । संस्थाको गरिमा जोगाउन र संस्थामा आबद्ध व्यवसायीहरूको व्यावसायिक हित संरक्षण गर्ने नै मेरो पहिलो एजेन्डा हो । नेपालमा सवारीको आयात अत्यधिक भएको छ । गाडी आयातका लागि निश्चित नीति–नियम बनाउनुपर्ने टड्कारो आवश्यकता छ । यसका लागि पहल गर्नेछु ।
हाम्रो देशमा सार्वजनिक सवारी कति चाहिने, कुन स्थानमा जान कति रुट चाहिने, त्यस्ता रुटमा कुन वर्गका सवारी आवश्यक पर्ने हो जस्ता विषयमा कुनै अध्ययन नै भएको छैन । यसरी बिनाअध्ययन सवारी सञ्चालन गरिँदा समस्या आएकाले अब महासंघले यस्ता अध्ययनका लागि पहल गर्नेछ । सरकारले २० वर्ष पुराना सवारी विस्थापनको कुरा गरिरहेको छ । त्यसरी सवारी विस्थापन गरिँदा व्यवसायीहरूलाई सवारी सट्टाभर्ना दिँदा सहुलियत हुनुपर्छ । विद्यमान ऐन, नियमावली, कार्यविधिजस्ता दस्तावेजहरू समयानुकूल परिमार्जन गराउन सरकारी निकायलाई घचघच्याउनेछु । त्यसका लागि मैले सम्बद्ध निकायसँग पहल गर्नेछु । मैले महासंघको नेतृत्व लिएपछि यी यस्ता धेरै एजेन्डा पूरा गराउन प्रतिबद्ध छु ।
अर्को साता हुने अधिवेशनका लागि तपाईंहरूले प्यानल नै बनाउनुभएको छ । व्यावसायिक संस्थामा यसरी सबै पदमा प्यानल नै बनाएर जानुपर्ने अवस्था कसरी आयो ?
अध्यक्षमा दाबेदारी भएपछि उसले आफूमातहत रहने पदाधिकारीहरू पनि आफ्नै फेबरको होस् भन्ने चाहन्छ नै । अहिले हामीकहाँ देखिएको पनि त्यस्तै हो । यो नितान्त यातायात व्यवसायीहरूको व्यावसायिक प्यानल हो । लामो समयदेखि यातायात व्यवसायमा समर्पित व्यवसायी साथीहरूलाई गोलबद्ध गरेर म चुनावमा होमिएको छु । चुनाव भनेपछि दुई वा दुईभन्दा बढीबीच मतदानबाट निर्वाचित हुनुपर्ने हुन्छ । चुनाव हुने भएपछि त्यहाँ प्रतिस्पर्धा हुनु र प्रतिस्पर्धामा प्यानल बन्नु स्वाभाविक नै हो जस्तो लाग्छ । त्यसैले यो यातायात व्यवसायीहरूको चुनावी प्यानल हो, जुन चुनावपश्चात् स्वतः रद्द हुन्छ । यसलाई अन्यथा लिइनु हुँदैन ।
सरसर्ती हेर्दा दुईवटा राजनीतिक प्यानल बनेको देखिन्छ । व्यावसायिक एजेन्डाले चुनाव नजितिने भएपछि वाम र लोकतान्त्रिक प्यानल बनाउनुपर्ने अवस्था आएको हो ?
मैले माथि पनि भनें, यो राजनीतिक नभई व्यावसायिक प्यानल हो । व्यवसायमा संलग्न भएकाहरू जो–जोसँग विचार मिल्छ, उनीहरू एकै ठाउँमा आउनु अस्वाभाविक होइन । अहिले त्यस्तै भएको मात्र हो । यातायात व्यवसायीहरूको चुनावमा तपाईंले इंगित गर्नुभएजस्तो राजनीतिक प्यानल भने पटक्कै बनेको छैन । मेरो दृष्टिकोण सकेसम्म सबै व्यवसायीलाई एकताबद्ध गरेर लैजाने भन्ने हो । भोलिका दिनमा नीतिगत निर्णय गर्न र नीति निर्माणमा राज्यसँग मागहरू राख्नुपर्ने र यो पूरा गर्नुपर्ने हुन्छ । राज्य सञ्चालनमा जाने भनेको राजनीतिक दलहरू नै हुन् । त्यसैले उनीहरूलाई कन्भिन्स गराउन खोज्नु÷सक्नुलाई व्यावसायिक एजेन्डाले चुनाव नजितिने भएपछि राजनीतिक एजेन्डा ल्याइयो भन्नु गलत हो । हामी व्यवसाय गर्ने हौं र व्यवसाय नै गर्न चाहन्छौं ।
निजी क्षेत्रले नै सञ्चालन गरेको नेपालको यातायात क्षेत्र सेवामूलक क्षेत्र पनि हो । यातायात क्षेत्रको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ किन यस्तो विकृत संस्था भयो ? यस्तो छवि सुधार्न के गर्नुहुन्छ ?
पक्कै पनि तपाईंले भन्नुभएको कुरा ठीक हो । नेपालको यातायात क्षेत्रको सम्पूर्ण जिम्मा यातायात व्यवसायीहरूकै काँधमा छ । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने काम सक्दो प्रयासका साथ गरिरहेका छौं । तर, यसका लागि सरकारी नीति–नियमहरू बाधक हुने गरेका छन् । यातायात क्षेत्रमा धेरै पक्षको प्रभाव रहने गरेको छ । सरकारी नीतिदेखि आमनागरिकका गुनासाहरूसम्मको सामना हामीले सामना गर्नुगरेको छ । यसो भन्दैमा हामीले सुधार गर्नुपर्ने केही छैन भन्ने होइन । सबै पक्षलाई सहज हुने गरी समाधन गर्न मेरो पूर्ण पहल रहनेछ । अर्को कुरा, तपाईंले भन्नुभएजस्तो विकृत पनि छैन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ । हामीमाथि केही प्रश्न उठ्ने गरेका छन्, म महासंघको अध्यक्ष निर्वाचित भएँ भने आफ्नो कार्यकालमा र त्यसपछि संस्था र व्यवसायीमाथि लाग्ने गरेका केही आरोप नलाग्ने अवस्था सिर्जना गराउन प्रतिबद्ध रहनेछु ।
आफ्नो जिम्मेवारी पूरा गर्नभन्दा यातायात व्यवसायी महासंघ सामूहिक सौदाबाजी गर्नमै बढी केन्द्रित देखिन्छ भन्ने आरोप लाग्ने गरेको छ । यो आरोप चिर्न तपाईंले के गर्नु हुन्छ ?
हामी सामूहिक सौदाबाजीभन्दा सामूहिक हितमा बढी केन्द्रित छौं, त्यो व्यवसायीको पक्षमा हो या यात्रुको पक्षमा । यातायात व्यवसायीहरू सामूहिक सौदाबाजीमै केन्द्रित हुन्छन् भन्ने कुरामा त्यति सत्यता छैन । यातायात व्यवसायीहरूले यातायात क्षेत्रमा अबौंको लगानी गरेका छन् । सरकारले त्यसको सुनिश्चितताका लागि हालसम्म के काम ग¥यो भनेर खोज्ने हो भने खासै केही भेटिँदैन । सरकारले गर्नुपर्ने काम गरेन भनेर कोही बोल्दैन, तर व्यवसायीले सौदाबाजी ग¥यो भन्ने कुरा सबैलाई थाहा छ । व्यवसायीहरूलाई व्यवसायिक बनाउन सरकारले गर्ने व्यवहारबाट पनि फरक पर्छ त्यसैले हामी व्यवसायीहरू आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । अब सरकारले हामीलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोण परिवर्तन गराउन मैले सक्दो पहल गर्नेछु ।
सार्वजनिक सवारीको रुट कायम गर्न र भाडा निर्धारण गर्ने विषयमा सधै लफडा हुने गरेको छ । ऐन, नियमावली र मापदण्डलगायतले तोकेको कुरा पूरा गर्न किन आनाकानी गर्नुभएको ? वैज्ञानिक भाडादर निर्धारण मापदण्ड बन्दा तपाईंहरू पनि सहमत नै हुनुहुन्थ्यो नि ?
रुट कायम गर्ने कुरामा फेरि पनि सरकारी बेवास्ताको कुरा आउँछ । कुन रुटमा कति सवारी चाहिन्छ, रुटअनुसार कस्ता सवारी चाहिने वा आवश्यक पर्ने हो भन्ने विषयमा कुनै पनि अध्ययन वा छलफलसम्म हुन सकेको छैन । यसको दोषी सरकार कि हामी व्यवसायी ? हामीलाई यसबारे अध्ययन गर्ने अधिकार त छैन । सरकारले अनुमानका भर रुट थोपर्छ अनि व्यवसायीले सिन्डिकेट गरे भनेर बाहिर आउँछ । त्यसैले रुट दिँदा हामीलाई कुनै आपत्ति छैन, तर रुट दिनुपूर्व अध्ययन गरेर के आवश्यक हो भन्ने निक्र्योल गरेर मात्र दिइयोस् भन्ने हाम्रो माग हो । अर्को, वैज्ञानिक भाडादरका विषयमा घटाउने बेलामा सरकार सकारात्मक हुने तर बढाउने बेलामा मौनजस्तै बस्ने गरेको छ । २०६५ मा यो मापदण्ड बन्दा हामी पनि सहमत भएका थियौं । २०६९ सम्म यो कार्यान्वयनमा थियो, तर त्यसपछि कार्यान्वयन हुन सकेको छैन । भाडा घटाउने अवस्थामा पेट्रोलियम पदार्थ र अन्य सबै पक्षको भार हेरिन्छ । जब बढाउने अवस्था आउँछ अनि पेट्रोलियम पदार्थको मूल्य मात्र हेरिन्छ । हाम्रो भनाइ बढाउँदा होस् या घटाउँदा सबै समयमा पेट्रोलियम पदार्थसहित ज्याला, मूल्य वृद्धिदरलगात पनि हेर्नुपर्यो भन्ने हो । मापदण्ड पूर्ण पालना हुनुप¥यो भन्ने हाम्रो माग हो र यो कार्यान्वयन भए कुनै समस्या नै आउँदैन ।
नेपालको सार्वजनिक यातायात यात्रुमैत्री हुन सकेको छैन, जुन तपाईंहरूले नै सञ्चालन गर्नुभएको छ । यस्ता गुनासा समाधान गर्न तपाईंले के पहल गर्नुहुनेछ ?
सरकारी नीति व्यवसायीमैत्री भयो भने हामी यात्रुमैत्री कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने थियौं । तर, सरकारले व्यवसायीलाई व्यवसायमैत्री नबनाएकाले हामी त्यसकै लागि धेरै समय खर्चन बाध्य छौं । म अध्यक्षमा निर्वाचित भएँ भने मेरो पहल सरकारलाई व्यवसायमैत्री नीति निर्माण गराउन प्रेरित गर्ने र हामी व्यवसायी आफंैमा अझ राम्रो यात्रुमैत्री यातायात सञ्चालनमा लाग्नेछु ।
व्यावसायीक प्यानलका साथ अघि बढेको छु
योगेन्द्रनाथ कर्माचार्य
पूर्वअध्यक्ष तथा अध्यक्षका उम्मेदवार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
महासंघको अध्यक्षमा दोहोराएर उम्मेदवारी दिन लाग्नुभएको छ, तपाईंका एजेन्डा के छन् ?
पहिलो कुरा म यातायात व्यवसायी राष्ट्रिय महासंघको निवर्तमान अध्यक्ष पनि हो र अहिलेको महासंघको प्रमुख सल्लाहकार पनि हो । यातायात क्षेत्रमा रहेका अप्ठ्याराको समाधान गर्न मैले उम्मेदवारी दिएको हुँ । नेपालको यातायात क्षेत्रको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पूर्ण व्यावसायीक संस्था बनाउन देशभर रहेका व्यवसायी साथीहरूले तपाईं पुनः नेतृत्वमा आउनुपर्यो भनेर आवाज उठाएपछि मैले अध्यक्षमा उठ्ने निर्णय गरेको हो । संस्थामा आवद्ध व्यवसायीहरूको व्यावसायीक हकहित संरक्षण गर्दै यात्रुलाई समयानुकूल सुविधा दिने र मजदुरको रोजीरोटी सुरक्षित गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुने छ । नेपालमा सार्वजनिक सवारी कति चाहिने, कुन स्थानमा जान कति रुट चाहिने, त्यस्ता रुटमा कुन वर्गका सवारी आवश्यक पर्ने जस्ता कुरामा अध्ययन हुनु आवश्यक छ । यसका लागि मैल विगतमा केही गर्ने प्रयास गरेको थिएँ र अब अध्यक्ष भएमा यसलाई पूर्णतामा पु¥याउन भरपुर कोशिस गर्नेछु । यातायात क्षेत्रको नियमनका लागि बनेका विद्यमान ऐन, नियमावली, कार्यविधिजस्ता दस्तावेज समयानुकूल परिमार्जन गराउन गर्नुपर्ने आवश्यता छ । यसका लागि सरकारी निकायसँग समन्वय गरी छलफलका आधारमा ऐन नियमहरू परिमार्जन गर्न सरकारसँग सहकार्य गर्नेलगायत एजेण्डा सहित म महासंघको अध्यक्षमा उम्मेदवार भएको छु ।
अर्को साता हुने अधिवेशनका लागि तपाईंहरूले प्यानल नै बनाउनुभएको छ । व्यावसायीक संस्थामा प्यानल नै बनाएर जानुपर्ने अवस्था कसरी आयो ? तपाईं त पूर्वअध्यक्षसमेत हुनुुहुन्छ, सहमतिको प्रयासका लागि पहल गर्नुहुन्न ?
मेरो पहिलो प्रयास यातायात व्यवसायी राष्ट्रिय महासंघलाई व्यावसायीक संस्थामा मात्र सिमित गराउनेमा रहने छ । हाम्रो संस्थामा राजनीतिक गन्ध आउनु हुँदैन भन्ने मेरो मान्यता छ । जो कोही पनि राजनीतिक आस्था बोकेको हुन सक्छ तर व्यवसायमा त्यो देखिनु हुँदैन । हामी पार्टीगतरूपमा पटक्कै लागेका छैनौं । यातायात व्यवसायीहरूले हाम्रो व्यावसायीक नेतृत्व पुनः तपाईंले लिनुपर्यो भनेर नै मैले अध्यक्षमा दावेदारी प्रस्तुत गरेको हुँ । मेरो प्यानल भन्नेभन्दा पनि समावेशी व्यावसायीक प्यानल बनाउनेतर्फ म अझ एक–दुई दिन प्रयास गर्ने छु । त्यही भएर मैले उपाध्यक्षको मात्र उम्मेदवारतय गरेको छु । त्यसपछि पनि सहमति भएन भने प्यानल बनाउने योजना छ । व्यवसायमैत्री वातावरण बनाउने हो, झन्डा राजनीतिक नगरौं भन्ने मेरो आग्रह हो ।
व्यावसायीक संस्थामा स्पष्ट राजनीतिक रंग देखिएको छ । व्यावसायीक एजेन्डाले चुनाव नजितिने भएपछि वाम र लोकतान्त्रिक प्यानल बनाउनुपर्ने अवस्था आएको हो ?
त्यस्तो होइन । म लामो समयदेखि यातायात क्षेत्रमा आबद्ध छु । मैले नेतृत्व गर्दा र त्योभन्दा अघि यस्तो राजनीतिक रंग देखिएको थिएन । अब पनि देखिनु हुँदैन भन्नेमा म प्रतिबद्ध छु । अघि पनि भने राजनीतिक नभई व्यावसायीक प्यानल बनाउने हाम्रो चाहना हो । यातायात व्यवसायीहरूको चुनावमा तपाईंले इंगित गर्नु भएको जस्तो राजनीतिक प्यानल भने पटक्कै बन्नु हुँदैन । मेरो दृष्टिकोण सकेसम्म सबै व्यवसायीलाई एकताबद्ध गरेर लैजानेतर्फ केन्द्रीत हुनेछ ।
नेपालको यातायात क्षेत्र सेवामूलक हो, जुन व्यवसायीहरूले सञ्चालन गर्दै आएका छन् । यातायात क्षेत्रको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ किन यस्तो विकृत संस्था हुन पुग्यो ? सुधारका लागि के गर्नु हुन्छ ?
तपाईंले भन्नुभएको जस्तो नेपालको यातायात क्षेत्रमा त्यस्तो विकृति छैन । यातायात क्षेत्रको सम्पूर्ण जिम्मा यातायात व्यवसायीहरूले नै पाएका छन् भन्दा फरक पर्दैन । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने काम सक्दो कोशिसका साथ गरीरहेका छौं । तर यसका लागि सरकारी नीति नियमहरू बाधक हुने गरेका छन् । यातायात क्षेत्रमा धेरै पक्षको प्रभाव रहने गरेको छ । हामीले राज्यको नियमभित्र रहेर आफूलाई अगाडि बढाएका छौं । यसमा सरकारले गर्नुपर्ने र व्यवसायीले गर्नुपर्ने जिम्मेवारीहरू पुरा हुने हो भने धेरै सुधार हुन्छ । यसमा केही भएको छैन भन्ने होइन, थप गर्नुपर्छ भन्ने चाहिँ पक्कै हो । सबै पक्षलाई कन्भिन्स गरेर नेपालको यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ । कसैले बिगार्यो भन्ने पक्षमा म छैन बरु अझ व्यवस्थित गर्नुपर्छ भन्ने पक्षमा छु ।
आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा यातायात व्यवसायी महासंघ सामूहिक सौदाबाजी गर्नमै बढी केन्द्रीत देखिन्छ भन्ने आरोप लाग्ने गरेको छ । यो आरोप चिर्न तपाईंले के गर्नुहुन्छ ?
महासंघ सामूहिक सौदावाजीमा लाग्यो भन्ने मलाई लाग्दैन । त्यसको उद्देश्य त्यो पनि होइन । विगतमा मैले नेतृत्व गर्दा कहिल्यै यस्तो सुनिएको थिएन । अहिले म नेतृत्वमा त छैन, तर म महासंघको प्रमुख सल्लाहकार हुँ । मैले सल्लाहकारको रूपमा त्यस्तो सल्लाह दिएको पनि छैन । कसले सौदाबाजी गर्यो त्यो जिम्मा त म लिन सक्दिन । हरेक कुरा छलफलकै आधारमा गर्न सकिन्छ भन्ने मान्यता भएकाले सौदाबाजीको कुरै आउँदैन । यातायात व्यवसायीले यातायात क्षेत्रमा अर्बौंको लगानी गरेका छन् । सरकारले त्यसको सुनिश्चितताका लागि भने हामीले व्यावसायीक रूपमा पहल गर्ने हो । मेरो उम्मेदवारी व्यावसायीक वातावरण बनाउन र व्यवसाय सुनिश्चित गरि यात्रुलाई सेवा दिनकै लागि हो ।
सार्वजनिक सवारीको रुट कायम गर्न र भाडा निर्धारण गर्ने विषयमा सँधै झमेला देखिन्छ । ऐन, नियमावली र मापदण्ड लगायतले तोकेको कुरा पुरा गर्न किन अप्ठेरो ?
सरकारले ल्याएका ऐन नीति नियमहरू हामीलाई मान्य हुन्छ नै । तर त्यस्ता ऐन नियमहरू समयानुकूल परिमार्जन हुनु आवश्यक छ । यसका लागि हामी सरकारसँग छलफल गर्न तयार छौं र सरकारले पनि समयानुकूल परिमार्जन हुनुहुँदैन भन्दैन होला । रुट कायम गर्दा हामीलाई कुनै आपत्ति छैन, तर रुट निर्धारण गर्दा आवश्यकताको अध्ययन गरेर के आवश्यक हो त्यही आधारमा दिँदा समस्या सिर्जना हुँदैन । सरकारले २०६५ सालमा वैज्ञानिक भाडा निर्धारण मापदण्ड बनायो । त्यही अनुसार कार्यान्यवन भयो भने कुनै समस्या आउँदैन ।
नेपालको सार्वजनिक यातायात यात्रुमैत्री छैन भन्ने जनगुनासो रहेको छ । यस्ता गुनासा समाधान गर्न तपाईले के पहल गर्नु हुन्छ ?
यसका लागि सरकार र व्यवसायी मिलेर विभिन्न काम गर्न सकिन्छ । विगतमा जस्तो अवस्था पनि अहिले छैन । नेपालको यातायात क्षेत्र निक्कै सुधार भइसकेको छ । शतप्रतिशत नै राम्रो छ त म भन्दिनँ, तर तपाईले भने जस्तो पनि छैन । सय जनामा १० जनाले केही बदमासी गरेको हुनसक्छ । आरोप सय जनाले नै खेप्नुपर्छ । ९० जनाको राम्रो पक्षमा हामीले त्यति ध्यान दिँदैनौं । यातायात मजदुर तथा चालकलाई तालिम दिन पहल गरिने छ । सरकारी नीति व्यवसायीमैत्री भयो भने हामी यात्रुमैत्री कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रीत हुने थियौं । सरकारलाई त्यसतर्फ लाग्न छलफलबाट आग्रह गर्ने छौं ।