Logo

क्लबहरूको गुनासो सम्बोधनका लागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ

इन्द्रमान तुलाधर, महासचिव, अखिल नेपाल फुटबल संघ

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदै छ । विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन् । दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ । सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानान्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन् । अक्सन हुने-नहुने दुविधाका बीच सम्पन्न भएसँगै विशेष गरी ए डिभिजन खेलको क्लब मनाङ–मस्र्याङ्दी, थ्री स्टार, संकटा तथा न्युरोड टिम (एनआरटी) ले असन्तुष्टि जनाइरहेका छन् । यही विषयको सेरोफेरोमा रहेर अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरसँग गरिएको कुराकानीको सार :

एन्फाले नेपाल सुपर लिग (एनएसएल) एन्फाको कार्यक्रमका रूपमा अगाडि सारेको थियो । ए डिभिजनलगत्तै आयोजना हुन लागेको एनएसएलको अक्सन पनि सम्पन्न भइसकेको छ । यद्यपि शीर्ष डिभिजनका क्लबले खेलाडी स्थानान्तरणको विषयमा असन्तुष्टि जनाइरहेका छन् । खासमा क्लबको असन्तुष्टि के विषयमा हो ?
एन्फाले फ्रेन्चाइज टोलीहरूलाई विभिन्न व्यापारिक घरानारूलाई फुटबलमा लगानी गर्नका लागि फ्रेन्चाइज लिगको परिकल्पना गरिएको हो । नेपाल सुपर लिग विशुद्ध एउटा फ्रेन्चाइज लिग हो र सोहीअनुसार हामीले परिकल्पना गरेर एन्फाको कार्यक्रममा समावेश गरेका हौं । फुटबल विकासमा टेवा पुगोस् भनेर फुटबल प्रतियोगितासँगै विभिन्न व्यापारिक घरानालाई फुटबलमा ल्याउने प्रयास गरेका हौं । फुटबलमा व्यापारिक घरानाहरूको पनि लगानी भित्रियोस् भन्ने उद्देश्य हो । एनएसएललाई सहयोग पुगोस् भनेर खेलाडी तथा नामावली पनि बनाएका छौं । एनएसएलको समयमा खेलाडीलाई क्लबले रिलिज गर्नुपर्छ भन्ने नियमावली राखेका छौं । लिगलगत्तै मोफसलका प्रतियोगिताहरू खेल्नुपर्ने समयमा खेलाडीलाई अक्सनमा समेट्न कतिपय क्लबको असहमति रहेको छ । एनएसएलको आयोजकको सल्लाहबिना नै एनएसएलको मिति आउनुमा क्लबहरूको गुनासो आएको छ । क्लबहरूको गुनासो सम्बोधनका लागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ । आजभोलि नै यस विषयले टुङ्गो लाग्ने विश्वास छ ।

क्लबहरूले गुनासो गरिरहेका छन् । विशेष गरी खेलाडी स्थानान्तरणको विषयमा क्लबहरूले असन्तुष्टि जनाइरहेका छन् । यसबाहेक क्लबको अन्य असन्तुष्टिहरू के हुन् ?
यो विषय क्लबहरूको माध्यमबाट एन्फामा आएको छ । वैधानिक रूपमा करारमा रहेका खेलाडीलाई अक्सनमा राख्नुअगाडि क्लबसँग छलफल गरियोस् भन्ने थियो । यस्तै क्लबका केही कठिनाइलाई एनएसएलले टुङ्ग्याइदियोस् भन्ने चाहना थियो । मोफसलका प्रतियोगितामा सहभागिता जनाइरहेको अवस्थामा अवरोध गरियोस् भन्ने पनि थियो । खेलाडीहरूको हकमा क्लबसँग छलफल नभएकोमा असन्तुष्टिको रूपमा लिएका छन् ।

फिफा र एएफसीबाट कुनै पनि देशमा समानान्तर लिग सम्भव हुँदैन भन्ने गाइडलाइन छ । अस्तित्वमा रहेको ए डिभिजन लिग वा नेपाल सुपर लिगमध्येमा कुन हुने हो भन्ने गाइँगुइँ पनि चल्न थालेको छ । आधिकारिक लिग कुन हो ?
हामी यस विषयमा एकदमै क्लियर छौं । आयोजक एनएसएल, खेल्ने टिम होस्, एन्फा होस् या क्लब सबै यस विषयमा स्पष्ट छन् । नेपालको एउटै मात्र आधिकारिक लिग भनेको सहिद स्मारक लिग हो । ए डिभिजन लिग नै हो । यसैको च्याम्पियनले एएफसीका प्रतियोगिताहरू खेल्ने गर्छ । नेपाल सुपर लिगलाई देशको एउटा फ्रेन्चाइज लिगको रूपमा लिएका छौं । यो प्रतियोगिता करिब साढे दुई महिनाजति चल्छ । यो प्रतियोगिताबाट कुनै पनि क्लबले अन्य प्रतियोगितामा सहभागिता जनाउँदैन । यो प्रतियोगिता विशुद्ध फ्रेन्चाइज प्रतियोगिता हो । व्यापारिक घरानाहरूको लगानीमा क्लबले खेल्ने घरेलु प्रतियोगिता हो । यो लिग सहिद स्मारक लिगको प्रतिस्थापन वा विकल्पका रूपमा ल्याइएको प्रतियोगिता होइन । सहिद स्मारक नै नेपालको आधिकारिक लिग हो ।

क्लबहरूले असन्तुष्टि जनाइरहेको अवस्थामा र एन्फाले आफ्नो कार्यक्रम भनिरहँदा उत्पन्न विवाद समाधानका लागि फुटबलको अभिभावक संस्था एन्फाले कस्तो गृहकार्य गरिरहेको छ त ? प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ ।
क्लबहरूले विज्ञप्ति जारी गरिसकेसँगै हामीले असन्तुष्ट क्लबहरूसँग बसेर छलफल गरिसकेका छौं । सुरुवातमा असन्तुष्टि जनाएका आठ क्लबसँग एन्फामा बसेर छलफल गरिसकेका छौं । एन्फाको बैठक पनि केही विषयमा सहमति भइसकेको छ । अक्सनअगाडि छलफल भएसँगै अक्सन रोक्नका लागि एनएसएललाई पत्र काटे पनि ढिला भएको हो । पत्र एकदमै ढिला भएकाले रोक्ने सम्भव भएन । आयोजकले अक्सन गरेपछि सबै विषयमा खुला छौं भन्ने कुरा आएपछि अहिले असन्तुष्ट विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ । दुवै पक्षसँग हामीले वार्ता गरिरहेका छौं । छलफल करिब–करिब अन्तिम चरणमा पुगेको मैले बुझेको छु । क्लबले आधिकारिक धारणा पनि राख्दैछन् । त्यस विषयमा एन्फा अध्यक्षसँग क्लबहरूको भेटपछि एनएसएल क्लबहरूलाई औपचारिक रूपमा छलफलका लागि आह्वान गर्छौं । त्यसपछि एनएसएल क्लब र एन्फा बसेर आगामी दिनमा यस्तै विवाद नदोहोरियोस् भन्ने लक्ष्यका साथ टुङ्ग्याउँछौं ।

एनएसएल एन्फाको कार्यक्रम भनिरहँदा दोस्रो संस्करण हुन लागेको छ । अहिलेसम्म क्यालेन्डरमा समावेश छैन । आउँदो सिजनमा समावेश होला । सँगै उत्तिकै मोफसलका प्रतियोगिता पनि रहेका छन् । कसरी व्यवस्थापन गर्नुहुँदै छ त एनएसएललाई ?
मोफसलका विभिन्न गोल्डकप रहेका छन् । ती गोल्डकप भएकाले समावेश गर्न केही कठिन त पक्कै छ । सामान्य अवस्थामा भदौै–असोजदेखि कात्तिक २० सम्मलाई एनएसएलका लागि समय दिने योजना बनाएका छौं । त्यसलगत्तै एउटा नकआउट प्रतियोगिता गर्ने वा सहिद स्मारक लिगलाई आयोजना गर्ने योजनामा छौं । फागुनसम्म लिग चलिरहेपछि त्यसपछिको समय चैत, वैशाख, जेठ गोल्डकपका लागि छुट्ट्याउने सोचमा छौं, जसका कारण मोफसलका प्रतियोगिता आयोजना गर्नका लागि सजिलो हुन्छ । अहिलेको अवस्थामा लिगलगत्तै एनएसएल आयोजना हुँदा केही कठिनाइ आइरहेको अवस्था छ । अर्को वर्ष आयोजना हुने एनएसएलका लागि अक्सनअगाडि खेलाडी रिलिजको बाटो खुला गर्नेछौं । त्यसपश्चात् रिलिज भएका खेलाडीमात्र अक्सनमा समावेश हुन पाउने प्रावधान तोक्नेछौं । समग्र रूपमा सबैलाई समेट्नका लागि राष्ट्रिय लिग पनि आयोजना गर्नु छ । मोफसलका प्रतियोगिता पनि उत्तिकै छन् । सहिद स्मारक ए, बी, सी डिभिजनका लिग आयोजना गर्नुपर्ने हुन्छ । महिलाका उत्तिकै प्रतियोगिता रहेका छन् । हामी यी सबैलाई नजुध्ने गरीकन भदौबाट सिजन सुरु गर्ने तयारी गरिरहेका छौं ।

तोकिएको मितिमा नै एनएसएल आयोजना हुन्छ नि ?
तोकिएको मितिमा नै एनएसएल हामीले आयोजना गर्नुपर्छ । तोकिएको मितिभन्दा पछि धकेलिएको अवस्थामा राष्ट्रिय टोलीको तयारीलाई असर गर्छ । हामीले एसियन कप क्वालिफायर खेल्दै छौं । हामी अत्यन्तै कठिन समूहमा रहेका छौं । जोर्डन, कुवेत र इन्डोनेसियाजस्तो समूहमा रहेका छौं । तयारी राम्रो गर्नुपर्छ । त्यसका लागि मिति तलमाथि भए असर पर्छ । तसर्थ एनएसएल छिटो सकेर राष्ट्रिय तयारीमा लाग्नुपर्नेछ । समयमा नै सम्पन्न गर्नका लागि क्लबहरूसँग छलफल गरिरहेका छौं । कति जटिल विषय त छलफलपछि किनारा लागेका छन् । टेबलबाट नै समाधान हुनेमा हामी विश्वस्त छौं ।

एनएसएल आयोजक र अभिभावक संस्थाबीच एनएसएल आयोजना सम्बन्धमा के–के विषयमा साझेदारी भएको छ ?
एनएसएलमा हामीले आर्थिक पाटोमा खासै केही कुरा भएको छैन । व्यापारिक घरानाहरूलाई फुटबलमा आकर्षण गर्न कोसिस गरेका हौं । आयोजकले प्रतियोगिता मनदेखि नै आयोजना गरेको पाएका छौं । अघिल्लो संस्करण कोरोना महामारीको बीचमा पनि बन्द रंगशालामा खेलाएर सफल तरिकाले आयोजना गर्न सफल हुनुभयो । सोही प्रतियोगिताबाट खेलाडीको आर्थिक हिसाबमा राम्रो भएको पाएका छौं । अहिलेको अवस्थामा हामीले आयोजकले प्राविधिक पाटोमा सहयोग गरेका छौं । रेफ्री खटाउने, मैदान व्यवस्थापन, परिषद्बाट स्वीकृति लिने काम, प्रतियोगिताका नियमावली हेरिदिने काम, खेलाडी दर्ता, खेलाडी स्थानान्तरण, अनुशासन गरी विभिन्न पाटामा हामीले हेरेका छौं । बाँकी आयोजनाको जिम्मा उहाँहरूले गर्नुभएको छ । परम्परागत तरिकाले चलिरहेको फुटबलभन्दा भिन्न फुटबल एनएसएलमा पाएका छौं । जुन हामीले लिगमा पनि अनुसरण गर्ने प्रयास गरेका छौं । आयोजक एनएसएल र एन्फाबीच फुटबलको जितका लागि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्