‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न लागिपरेका छौं ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् ।
सोमबार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हुन् । नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाको निर्माणको काम उत्साहित रूपमा अगाडि बढिरहेको बताइन् । सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनको दाबी छ । मन्त्री भुसालले जलविद्युत आयोजनाहरू गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् । उनले छिमेकी राष्ट्रहरूलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन् ।
मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताइन् । देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनको भनाइ थियो । सरकारले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ । उनले जल तथा मौसम विज्ञान विभागमार्फत् देशभर भएका जल तथा मौसम स्टेसन तथा नयाँ स्टेसन थप गरी अझ वैज्ञानिक र विश्वसनीय रूपमा अगाडि बढ्ने पनि बताइन् ।