Logo

चार वर्षमा बन्नुपर्ने फोक्सिङटार पुल नौ वर्षसम्म अधुरै

खोटाङ-नेपाली समाजमा एउटा प्रचलित उखान छ– ‘जब राति तब बूढी ताती ।’ सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन पक्की पुलको कामले यो उखानलाई सार्थक तुल्याउँदै आएको छ ।
उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । वि.सं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार २०७३ चैत २२ गते पुल निर्माणको काम सम्पन्न भई सक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको नौ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ । सम्झौता मितिमा निर्माण कार्यले गति नलिएपछि यसबीच तीनपटक म्याद थप गरियो । तेस्रो पटक थप भएको म्याद आउँदो चैत मसान्तमा सकिँदैछ । तर, उक्त समय सीमाभित्र पनि पुल निर्माणको काम सम्पन्न हुने छाँट नदेखिएपछि ठेकेदार कम्पनी हतारिएको छ ।
खोटाङलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक खण्डमा पर्ने फोक्सिङटारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा ६ वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्ने कार्यमा राज्यको करोडौँ रकम खर्च भइसकेको छ । यहाँसम्म कि बेलिब्रिज जडान तथा झिक्ने कार्यमा खर्च भएको रकम पुल बन्न पर्याप्त थियो ।
अस्थायी रूपमा जडान गरिने फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रार दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडक खण्डअन्तर्गत जयराम घाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षात्को समयमा यातायात ठप्प हुने गरेको छ । पक्की पुल निर्माणको काम नसकिँदा वर्षको करिब ६ महिना यातायात ठप्प हुने गरेको भने दैनिक उपभोग्य वस्तुको मूल्यसमेत वृद्धि हुने गरेको छ ।
फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटकपटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ । गत माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र सडक विभाग पुल योजनापूर्वी क्षेत्र सेक्टर नं. १ का प्रमुख इन्जिनियर कैलाश शाहको अगाडि निर्माण कम्पनीका ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समय सीमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्ने गरी कामलाई अघि बढाउन वि.सं २०७४ माघ २ गते ठेकेदार कम्पनीलाई लिखित रूपमै पत्राचार गरेको थियो ।
फोक्सिङटारमा सुरुमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो । तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने जनाउँदै वि.सं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङटारको भौगोलिक अफ्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको हो ।
दोस्रो पटक डिजाइन स्वीकृत नहुन्जेल निर्माण कम्पनीले पुल निर्माणको काम सुरु गरेको थिएन । ठेकेदार कम्पनीले हाल पुल निर्माणमा ढिलासुस्तीका कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरेको छ । निर्माणाधीन पुलको नयाँ डिजाइन स्वीकृत भएदेखि यता लामो समयसम्म पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको जिल्लाबासी बताउँछन् ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । फोक्सिङटारमा निर्माणाधीन पक्की पुल भ्याटसहित २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको हो ।
निर्माणाधीन पक्की पुलको अहिले ‘आर्क’ को ट्रस राखेर आरसीसी ढलान सुरु गरिएको ठेकेदार कम्पनीका प्रमुख मदन मगरले बताए । “खोटाङ र उदयपुरतर्फ दुई–दुई कोलम आरसीसी ढलान गरिसकिएको छ,” उनले भने, “आगामी चैत मसान्तभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुन्छ । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माणको काम रोकिँदैन । यस वर्ष कुनै पनि हालतमा सम्पन्न हुन्छ ।”
फोक्सिङटारमा निर्माणाधीन पक्की पुल १२० मिटर लम्बाइको हुने डिजाइनमा उल्लेख छ । निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

पवन खड्का

प्रतिक्रिया दिनुहोस्