खानेपानी परियोजना उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले सोमबार संयुक्त रूपमा उद्घाटन गरेका छन् । सो उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारीलगायत स्थानीय सरकारका प्रतिनिधिको उपस्थिति थियो ।
योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।
‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको चार करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो । यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६ सय घरपरिवार तथा विद्यालयलगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेषगरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । जसमध्ये ४ सय ६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये सोलुखुम्बुका दुई गरी प्रदेश १ मा ७८ वटा रहेका छन् ।