युनिलिभर नेपालको महिला दिवस विशेष कार्यक्रम

युनिलिभर नेपालले (यूएनएल)ले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
‘ब्रेक द बायस’ को मुख्य विषय वस्तुमा आधारित कार्यक्रम लैंगिक पूर्वाग्रह, रूढीवादी धारणा र विभेदमुक्त विविध, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।
आ–आफ्नो क्षेत्रमा अग्रणी मार्गदर्शक रहेका तीन जना उल्लेखनीय महिला वर्षा श्रेष्ठ– बिजनेस हेड, इक्रा नेपाल तथा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो महिला महाप्रबन्धक, उपासन पौडेल– सीईओ, युनाइटेड इन्स्योरेन्स कं (नेपाल) लि. र भावना घिमिरे– निर्देशक, ब्याट एन्ड बल फाउन्डेसन तथा क्रिकेट एसोसिएसन अफ नेपालका पूर्व तथा प्रथम सीईओको उपस्थितिमा युनिलिभर नेपालको कर्पोरेट कार्यालयमा कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा भर्चुअल रूपमा उपस्थित हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथन राजले लैंगिक सन्तुलित कार्यबल सृर्जना गर्न कम्पनीको प्राथमिकता रहेको बताए । त्यसपछि युएनएलका उत्पादन साथै बिक्री कार्यहरू सञ्चालन गर्ने महत्वपूर्ण महिला कर्मचारीहरूको भिडियो संग्रह (मोन्टाज) प्रस्तुत गर्दै उत्सव मनाएको कम्पनीले जनाएको छ ।
युनिलिभर नेपाल लिमिटेडका कुल कर्मचारीहरूमध्ये, श्रम क्षेत्रमा १८ प्रतिशत र प्रशासनिक तहमा २० प्रतिशत महिला कर्मचारीहरू रहेका जनाएको छ । सन् २०२५ सम्म यो अनुपात क्रमशः बढाएर २१ र २५ प्रतिशतमा पु-याउने परिकल्पना गरेको कम्पनीले उल्लेख गरेको छ ।