ब्याडमिन्टनमा अब्बल प्रिन्स दाहाल

सानो उमेरमै लोकप्रिय हुने अवसर कमैलाई हुन्छ । प्रिन्सले घरेलु स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै मारेको छलाङ अविश्वसनीय छ । ब्याडमिन्टनका प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक खेलाडी हुन् । यसअघि नेपालका कुनै पनि खेलाडीले कुनै पनि खेलमा यो सफलता कहिल्यै पाएका थिएनन् ।
नेपाली ब्याडमिन्टन विरासतलाई उँचो पार्ने प्रिन्सको यो सफलता नेपाली खेलकुदले कसरी ग्रहण गछर्, त्यो फरक पाटो हो। तर अहिलेका लागि १७ वर्षीय प्रिन्स सम्पूर्ण उदियमान खेलाडीको प्रेरणा हुन् ।
सन् २०१८ मा दुवई इन्टरनेसन सिरिजमा यू–१५ मा स्वर्ण जित्नुअघि प्रिन्सले ब्याडमिन्टन खेल्न थालेको आधा दशक भइसकेको थियो । अर्थात उनी सानै उमेरदेखि व्यावसायिक खेलाडीका लागि विकास गरिएका बालक हुन् ।
९ वर्षको उमेरमै प्रिन्सले राष्ट्रिय ¥याङकिङ प्रतियोगितामा सहभागिताको साहस गरेका थिए । उनको निरन्तरको अभ्यासले नै हो, २०१९ मा दुवईमा यू–१९ विधाको स्वर्ण जितेर इतिहास रचे । सोही वर्ष उनी नेपाल खेलकुद पत्रकार मन्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका थिए ।
र जुनियर नम्बर वान यी खेलाडी फेरि चर्चित खेलाडीको विधामा दोहोरिएका छन् । सो विधामा उनीसँगै छन् फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एन्जिला महर्जन, क्रिकेटका कुशल भुर्तेल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन् ।
जुनियरको आधिकारिक प्रतियोगितामा स्वर्ण जितेपछि विश्व वरीयतामा आएका प्रिन्स तीन वर्षपछि शीर्ष स्थानमा पुगेका छन् । विश्व वरीयताको शीर्ष स्थानमा नेपालको झण्डा देखाउन पाउनुलाई प्रिन्स स्वयम्ले गर्वको क्षण मानेका छन् ।
सन् २०१९ को अप्रिलदेखि सन् २०२० को मार्चसम्म उनले ११ वटा आधिकारिक सिरिज खेलेका छन् । विश्व व्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनको मान्यता प्राप्त प्रतियोगिताको प्रदर्शनका आधारमा वरीयता अंक निर्धारण हुन्छ ।
१० हजार ४ सय अंकसहित प्रिन्स शीर्ष वरीयतामा पुगेका हुन् । प्रिन्सले यससलाई सपना पूरा भएको क्षण भनेका छन् । यसले नेपाल ब्याडमिन्टनलाई हेर्ने विश्वव्यापी नजर परिवर्तन हुने प्रिन्सको आशा छ ।
सुदूरपश्चिम प्रदेशको दार्चुलामा जन्मिएर विश्वस्तरमा नम्बर एक बन्नु चानेचुने सफलता होइन । पारिवारिक सहयोग र निरन्तरताको मिहिनेतले नै उनलाई यो अवस्थामा पु-याएको हो । मिहिनेतले सफलता दिन्छ, सफलताले अझै राम्रो गर्न प्रेरित गर्नेछ ।
प्रिन्सले अब सिनियरतर्फ पाइला बढाउँदैछन् । राष्ट्रियस्तरमा त उनले ¥याङकिङ प्रतियोगिता जित्न थालिसकेका छन् । अन्तर्राष्ट्रिय वरीयतामा जुनियरको सफलताले सिनियरमा सहयोग गर्दैन भन्ने उनले बुझेका छन् । उनको लक्ष्य छ, सिनियरमा पनि उस्तै सफलतालाई निरन्तरता दिने ।
कोरोना महामारीको असरले पछिल्ला दुई वर्ष सीमित प्रतियोगिता भए । २०७७ सालमा भएका दुई प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीलाई हराउन थालेका छन् । सिन्धुपाल्चोकमा भएको तोप–२१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जितेका प्रिन्सले सोही वर्ष सिरहाको गोलबजारमा भएको पुष्पलाल स्मृति ¥याङकिङ प्रतियोगिता जितेका थिए ।
उमेरसँगै प्रिन्सले आफ्नो परिपक्वता बढाउँदै लगेका छन् । प्राविधिक रुपमा बायाँ हाते स्म्यास (सशक्त प्रहार) मा माहिर प्रिन्स शारीरिक र मानसिक रुपमा चुस्त नभई विपक्षीमाथि धावा बोल्न सकिँदैन भन्नेमा प्रष्ट छन् । पिनाकल कलेजमा ११ कक्षामा अध्ययनरत प्रिन्सले फोरह्याण्ड, नेट र डिफेन्समा सुधार गर्नुपर्ने बुझेका छन् ।
सबैभन्दा ठूलो कुरा त म्याच एक्स्पोजर नै हो । दुईयता उनले अन्तर्राष्ट्रिय सिरिज खेल्न पाएका छैनन् । कोरोनाले असर गरेको छ । अप्रिलमा युरोपमा हुने सिरिजको तयारी गरिरहेका उनी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना छ । जति धेरै एक्स्पोजर भयो त्यति नै धेरै सुधार हुने उनको भनाइ छ ।
नेपालकै पुरानो खेल ब्याडमिन्टनको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रिन्सले सुरु गरेको प्रभावलाई कायम राख्न नेपाल व्याडमिन्टन संघ पनि प्रतिवद्ध छ । प्रिन्सले हालै ओलम्पिक विशेष छात्रवृत्ति पाएका छन् । सन् २०२४ मा फ्रान्समा हुने ग्रिष्मकालीन ओलम्पिक लक्ष्यसहित प्रिन्सले विश्वस्तरीय र एसियालीस्तरीय प्रतियोगितामा नियमित सहभागिता जनाउनुपर्नेछ । सफलतालाई कायम राख्न निरन्तरता दिनुपर्छ । ओलम्पिक छात्रवृत्तिले आर्थिक रुपमा पनि केही सहज हुने आशा प्रिन्सको छ ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा दोस्रोपल्ट पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुलाई प्रिन्सले गर्वको अवसर मानेका छन् ।
जुनियरको शीर्ष स्थानमा पुग्नु प्रिन्सको सपना पूरा भएको क्षण हो । तर उनी यसमै सन्तुष्ट छैनन् । अर्को सपना निर्धारण भइसकेको छ । अबको नजर सिनियरतर्फ छ । लोकप्रियताको शिखरमा पुग्नका लागि उनले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।