ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ ।
ग्यास बिक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा बिक्री गर्दा क्युआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना भुक्तानी साझेदारहरु ‘स्मार्ट च्वाइस टेक्नोलोजी’ र ‘फोनपे’ सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास बिक्रेतासँग समन्वय गरेको हो । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ ।
महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेता लाभान्वित हुने बताए । बैंकले देशभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।