मिर्गाैला दानसम्बन्धी कानुन संशोधन हुने

मिर्गाैला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानुनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ । नेपालको कानुनमा रहेको आफन्तबाहेकले मिर्गाैला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गाैला रोगीको उपचार सहज हुनेछ ।
नेपालमा बढ्दो मिर्गाैला रोगीको उपचार स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपणको अभावमा ज्यान गुमाउने गरेका छन् । विश्व मिर्गाैला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मिर्गाैला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गाैला रोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।
मिर्गाैला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा. डा. बालमानसिंह कार्कीले बताए । मिर्गाैला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा.दिव्या सिंह शाहले बताइन् ।
मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा.रोशन पोखरेलले जानकारी दिए । उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ७ हजार जना प्रत्यारोपणको पर्खाइमा छन् ।