सेनाको प्रवक्तामा सहायकरथी पाण्डे

सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन् । दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
उनले केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्ने सेनाले जनाएको छ । हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वी पृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । नेपाली सेनाको प्रवक्ताका रुपमा उनले करीब तीन महिना काम गरे । सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन् । नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ ।