‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु «

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।
आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान सुरु गर्ने बताए । उनले जनताले सिधै नेपाली कांग्रेसलाई सत्ता निर्वाचनमा जिताएर सत्ता सुम्पिन आग्रह गर्नुभयो । महामन्त्री शर्माले जनताले कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरूले कांग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधै जनताले नेपाली कांग्रेसलाई निर्वाचनबाट जिताउन आग्रह गर्नुभयो । उहाँले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली कांग्रेसको कांग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताए ।
महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानमार्फत कांग्रेसल मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताउनु भयो । उहाँले यो अभियानअन्तर्गत पार्टीले नव मतदाताहरूलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरूले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए । महामन्त्री शर्माले नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाबिरुद्धको खोप लगाएको र जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको तथा आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प लिएको पनि बताए ।
महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज फागुनको २९ गते प्रारम्भ भएर चैत्र २९ सम्म एक महिनाको लागि घर–घर जाऔँ, कांग्रेस जिताऔँ भन्ने अभियान प्रारम्भ हुँदैछ । यो चैत १९ सम्मको कार्यक्रम पहिलो चरण हो । त्यसपछि उम्मेदवारी दर्तासँगै फेरि घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको अर्को चरण पनि प्रारम्भ हुन्छ । पहिलो चरणमा जाँदै गर्दा नेपाली कांग्रेस पार्टीले ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको छ । सामान्यतया राजनीतिक दल निर्वाचनको अभियानमा जाँदै गर्दा सबैको बुझाइ आफ्नो चुनाव चिन्ह अघि सारेर भोट माग्ने पहिलो कुरा होला भन्ने बुझाइ हुन्छ । तर नेपाली कांग्रेस पार्टीको फरक छ । हामीले भोट माग्ने कुरा त छ नै तर सबैभन्दा पहिलो कुरामा हामीले के लेखेका छौं भने मतदानमा सहभागी हुने र आफ्नो स्वविवेक प्रयोग गरेर आफ्नो स्थानीय तहमा कस्तो नेतृत्व, कस्तो दललाई लिएर आउने भन्ने विषय जनताको अधिकारको विषय हो ।’
महामन्त्री शर्माले नेपाली कांग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनले कम्युनिष्टहरूले एमसीसीको बेला सडकमा कराएको युवकलाई भोटको माध्यमबाट मात्र हेरेको आरोप लगाउँदै नेपाली कांग्रेसले युवकको भविष्यलाई पनि हरेको बताए । महामन्त्री शर्माले नेपाली कांग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरूका बारेमा पनि जनभावना सुन्ने बताए । उनले यो अभियानबाट आम जनतालाई विभिन्न भोटर ट्रेनिङ प्रोग्राम पनि सञ्चालन गरिने बताए । उहाँले यो अभियानबाट जनताका कुराहरू समेटेर स्थानीय विकाससँग सम्बन्धित कुराहरूसहितको घोषणापत्र बनाइने पनि बताए ।
महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गरिदिनुहोस् । बानेश्वरको चोकमा नारा लगाइरहेको युवकको भोट मात्रै हे¥यो होला कुनै कम्युनिष्ट पार्टीले तर कांग्रेस पार्टीले उसको भोट मात्रै होइन, उसको भविष्यलाई हे¥यो । त्यसैले उसलाई लोकप्रिय लाग्ने कुरा बोलेन । बरु उसको लोक हित केमा छ भन्ने कुरा बोल्यो । त्यसैले कांग्रेस जिम्मेवार दल छ । समृद्धिको सम्बन्धमा राम्रो र दीर्घकालीन भिजन बोक्छ भन्ने कुरालाई विश्लेषण गर्नुहोस् र कांग्रेसलाई मत दिनुहोस् । निर्वाचनमा जाने भन्दै गर्दा आजबाट हाम्रो कुरा सुनाउन मात्रै गइरहेका छौँ, त्यो होइन । केन्द्रीय प्रतिनिधिहरू ७७ जिल्लामा खटिनुभएको छ । आज ७७ जिल्लामा केन्द्रिकृत रुपमा उद्घाटन समोरोह केन्द्रीकृत हुँदैछ । भोलिदेखि त्यो स्थानीय पालिका हुँदै वडा केन्द्रसम्म विकेन्द्रित भएर कार्यक्रमहरू हुन्छन् । कार्यक्रम हुँदै गर्दा घर घर जाऔँ, कांग्रेस जिताऔं भन्दै गर्दा हाम्रा साथीहरूले महत्वपूर्णरुपमा ध्यान दिने विषयका रुपमा हामीले अभियानमा के लेखेका छौँ भने जनता कांग्रेसलाई के सुनाउन चाहन्छन्, त्यो सुन्नुहोला । हामीमा कस्तो रुपान्तरण चाहन्छन्, परिवर्तन चाहन्छन्, कांग्रेसले के गर्दियोस् भन्ने चाहन्छन् ? त्यो पनि सुन्ने । जाँदै गर्दा एक्टिभिटी प्रोग्राम भन्ने भोटर ट्रेनिङ प्रोग्राम । त्यो अन्तर्गतबाट हामी १८ देखि २३ वर्ष पुग्दै गरेको पहिलो पटक मत दिने साथीहरूलाई हाम्रा कुरा पनि राख्छौँ, प्रशिक्षित पनि गर्दछौँ । उनको भविष्यको बारेमा उनीसँगै सल्लाह गरेर, बिपी कोईरालाले देख्नुभएको सपनासँग त्यो युवाको सपनालाई एकाकार गरेर कसरी लैजान सकिन्छ भन्ने संवाद पनि गर्दछौँ । साथै त्यो पुस्ताको अपेक्षामा स्थानीय तह कस्तो हुनुपर्छ ? हामी त्यो पनि छलफल गर्दछौँ ।’
महामन्त्री शर्माले यो अभियानमा कांग्रेसलाई मात्र नभई अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताउनु भयो । उनले आगमी निर्वाचनहरूमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिष्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अमियानपछि आएको केन्द्रीय समितिको निर्णयपछि भन्न सकिने बताए । महामन्त्री शर्माले यो अभियानमा जाँदा कांग्रेसले कुने पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाइ जनताका कुरामा विशेष चासो राख्ने बताए । उनले आजबाट सुरु भएको यो अभियान क्रमशः वडा तहमा विकेन्द्रीकृत हुने बताउनु भयो । यस अभियानमा ७७ जिल्लाकै केन्द्रीय प्रतिनिधिहरूले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरू सुन्ने र उनीहरूको अपेक्षाहरू सुन्ने कुरामा केन्द्रित हुने बताए । उनले सरकार संघीय प्रणालीमा गइसकेपछि सात प्रदेशमा सात प्रदेश कार्यसमितिले यो अभियानको काम गर्ने बताए ।
महामन्त्री शर्माले भने, ‘आफू पनि मर्यादित ढंगले चुनाव लड्न पार्टी पंक्तिलाई भन्छ, अन्य दललाई पनि भनेको छ । सँगै के पनि छ भने चुनावमा गइसकेपछि एक्लै लड्छ कि गठबन्धन गर्छ ? यो विषयमा हाम्रा साथीहरूले के भन्नुहुन्छ भन्ने पनि हुन्छ । हाम्रा ७७ जना नै केन्द्रीय प्रतिनिधिले वा तलसम्मको साथीहरूले यो अभियानको अवधिभरमा हामी एक्लै लड्छौँ, हामी गठबन्धन गरेर लड्छौँ, वा हामी कसरी लड्छौँ भन्ने कुरा भन्नुहुन्न । यस बारेमा विभिन्न मोडलहरू छन् । अहिले साथीहरूले गठबन्धनका कुनै पनि दललाई एकआपसमा आरोपित गर्ने ढंगले जानुहुन्न । स्थानीय तह, जसले टिकट वितरण गर्दछ, टिकट वितरण गर्ने अधिकार राख्ने तहले नै यस बारेमा अन्तिम निर्णय गर्ने कुरा बढी व्यावहारिक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्