Logo

दोहोरो मारमा स्वदेशी उद्योग

– आयात निरुत्साहनको नीति र रुस–युक्रेन युद्धको असर मुख्य कारण
सरकारको आयात नियन्त्रणसम्बन्धी नीति तथा रुस र युक्रेनबीच जारी युद्धका कारण स्वदेशी उद्योग दोहोरो मारमा परेका छन् । व्यवसायीहरूका अनुसार रुस–युक्रेन युद्धका कारण स्वदेशी उद्योगहरूमा एकातर्फ औद्योगिक कच्चा पदार्थको अभाव हुन थालेको छ भने अर्कोतर्फ युद्धकै कारण संसारभर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि हुँदा ढुवानी लागतसमेत बढेको छ । व्यवसायीहरूका अनुसार सरकारले आयातमा नगद मार्जिन अनिवार्य गरेका कारण व्यवसायी थप मारमा परेका हुन् ।
“हाम्रा अधिकांश उद्योग–व्यवसायमा कुनै न कुनै रुपमा रुस–युक्रेन युद्धको असर परेको छ,” उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल भन्छन्, “देशका अधिकांश स्वदेशी उद्योगहरू विदेशी कच्चा पदार्थमै निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतारचढाव आउँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको छ ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रुस–युक्रेन युद्धको असर नेपालमा आधारभूत उद्योगमा परिसकेको र अर्कोतर्फ आयात निरुत्साहित गर्ने सरकारको नीतिले अर्थतन्त्रमा समस्या थपिएको बताउँछन् । उनका अनुसार अहिले केही वस्तुको माग बढे पनि कच्चा पदार्थ आयातमै शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण अर्थतन्त्र सहज अवस्थामा छैन । यसै कारण व्यवसायीहरूको मनोविज्ञान बिग्रँदै गएको अध्यक्ष अग्रवाल बताउँछन् । पछिल्लो समय ब्याजदर उच्च हुँदा उद्योग व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण बनेको उनको अनुभव छ ।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको र त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । युद्धकै कारण अमेरिकी डलरको भाउ समेत बढिरहँदा त्यसले पनि चुनौती थपेको व्यवसायीहरू बताउँछन् । भान्सामा प्रयोग हुने तेल, उपभोग्य वस्तु, खाद्य सामग्री, निर्माण सामग्री लगायतका वस्तुको कच्चा पदार्थ आयातमा लागत बढेको उनीहरूको भनाइ छ ।
नेपाली उद्योगले क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरीको दाना ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरूबाट ल्याउने गरेका थिए । यी वस्तुको आयात लागत समेत बढेको छ । दुई महिनाअघि प्रतिटन १ हजार ५ सय २५ डलरमा आयात भइरहेको यी कच्चा पदार्थको भाउ हाल २ हजार १ सय २५ डलरसम्म पुगेको छ । यसरी एकातर्फ कच्चा पदार्थमा भएको मूल्यवृद्धि र अर्कोतर्फ इन्धनमा भएको मूल्यवृद्धिले उद्योगहरू धान्नै नसक्ने अवस्थामा रहेको व्यवसायीहरूको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल रुस–युक्रेन युद्धको असर संसारभरको अर्थतन्त्रमा परिरहे पनि नेपालजस्तो कमजोर आधार भएको मुलुकका लागि झनै चुनौती रहेको बताउँछन् । बाह्य कारणले व्यवसायीको क्षमता कमजोर भइरहेका बेला नगद मार्जिन सम्बन्धी सरकारको व्यवस्थाले झन् खराब अवस्था सामना गर्नु परिरहेको अध्यक्ष मल्लको भनाइ छ । उद्योगीहरूका अनुसार सरकारको आयात नियन्त्रणसम्बन्धी नीति तथा रुस र युक्रेनबीच जारी युद्धका कारण उद्योगीमात्र नभई उपभोक्ता झन् बढी पीडित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्