मनहरि–मलेखु सडक स्तरोन्नतिमा एक अर्ब खर्चिने

हेटौंडा-बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरि मलेखु सडक खण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरिबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् ।
शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिृकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नति गर्नुपर्ने भागको पहिचान गरेका हुन् । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केही दिनअघि मात्रै पूरा भएको हो । करिब ३ वर्ष अघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समय अघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो ।
दुई गाउँपालिकाको अगुवाइमा प्रदेश र प्रतिनिधिसभाका सांसदहरूको समेत जोडबलमा उक्त सडकको ट्रयाक पूरा भएपछि निकट भविष्यमै हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने पक्का भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मनहरिदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनका लागि राक्सिराङ गाउँपालिकाले सो सडकअन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतिको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
दुई गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दिगो बनाउनका लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सो सडक स्तरोन्नतिका लागि करिब एक अर्ब लगानी गर्ने योजना बनाएको छ । करिब एक अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले जानकारी दिए । “आगामी वर्ष प्रदेश सरकार र सघीय सरकारले गरेर यो सडकमा करिब एक अर्ब रुपैयाँ लगानी गर्दैछ । यसै वर्ष पनि लोजा–जिनाई खण्डमा काम गर्नका लागि हामीले आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं,” भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले भने ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।