अर्थमन्त्रीलाई पूर्वका उद्योगीले भने– उद्योग चलाउन गाह्रो भो

विराटनगर – बैंकको बढ्दो ब्याजदर, पुँजी अभावलगायतका समस्याका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको पूर्वका उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् ।
विराटनगर आएका अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले अहिलेको अवस्थामा सुधार नआए धेरै उद्योगी व्यवसायीहरू पलायन हुने बताए । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा अर्थमन्त्री शर्मालाई भेटेको उद्योगीको टोलीले बैंक ब्याज घटाउन आग्रह गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री शर्मालाई उद्योगीहरूले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाए ।
मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रका उद्योग-व्यवसायहरूले हाल बढ्दो ब्याजदरको मार खेप्नुका साथै हाल विभिन्न कारणले पूँजी अभावको अवस्था सिर्जना भएको मुन्दडाले बताए । मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्वसहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थितिको सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बैंकहरूले हाल संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर कायम गरेको र आगामी चैतमा बैंक ब्याजदर ११ प्रतिशतसम्म पुग्न सक्नेसमेत सम्भावना देखिएको बताए । हालका लागि संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत बैंक ब्याजदर कायम गराउन र तरलता अभावको समस्या न्यूनीकरण गराउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न पहल गरिदिन अर्थमन्त्री शर्मा र पूर्वप्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मून्दडासहित पूर्वअध्यक्ष महेश जाजू, पूर्वअध्यक्ष पवनकुमार सारडा, उपाध्यक्ष (उद्योग) विकासकुमार बेगवानी, कार्यकारी सदस्य दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, सुशील सुराना, गोपाल अग्रवाललगायतको उपस्थिति रहेको थियो ।