एमसीसी कार्यान्वयनमा तलमाथि भए आन्दोलन : प्रचण्ड

विराटनगर-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनमा तल–माथि भए पुनः आन्दोलन हुने चेतावनी दिएका छन् ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनका क्रममा तल–माथि गर्न खोजिए पुनः आन्दोलन हुनसक्ने चेतावनी दिएका हुन् । अध्यक्ष दाहालले तत्कालका लागि एमसीसीको विषय टुंगो लागिसकेको स्पष्ट पारे । “तत्कालका लागि एमसीसीको विवाद टुंगो लागिसके पनि व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनमा तल–माथि गर्न खोजिए पुनः आन्दोलन हुनसक्छ,” उनले थपे, “व्याख्यात्मक घोषणासहितको एमसीसी अक्षरशः कार्यान्वयन हुनुपर्छ ।” दाहालले एमसीसी सम्झौताबारे स्थानीय तहको निर्वाचनपछि पार्टीमा बहस हुने बताए । उनले सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्वनिर्णय फेल भएमा राजीनामा दिने घोषणासमेत गरे ।
दाहालले एमसीसीबारे पार्टीमा फरक बुझाई रहेको स्वीकार गर्दै एउटा अपिलमार्फत् साझा भाषा बनाएर निर्वाचनमा जाने निर्णय पार्टी केन्द्रीय समितिले गरेको बताए । व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिँदै उनले सार्वभौम संसदको निर्णय कार्यान्वयनको विकल्प नभएको बताए ।
स्थानीय तहको निर्वाचनमा आफ्नै संगठन बलियो बनाएर होमिने जानकारी दिँदै अध्यक्ष दाहालले मुद्दा र आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए । गठबन्धनका दलहरूबीच नै स्थानीय तहको चुनावमा तालमेल गर्न पहल गर्ने उनको भनाइ छ ।