Logo

वीरगन्जमा बर्ड फ्लू भेटिएको कुखुरा नष्ट

वीरगन्ज-वीरगन्ज महानगरमा वडा नम्बर १५ मा रहेको कुखुरा फार्ममा बिहीबार बर्ड फ्लु भेटिएको कुखुरा नष्ट गरिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही स्थित सागिर अन्सारीको पर्सा कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्ड फ्लु देखिएपछि नष्ट गरिएको हो । फर्ममा रहेका कुखुरा अचानक धेरै संख्यामा मर्न थालेको जानकारी पाएपछि परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेशषण प्रयोगशालामा नमूना पठाएर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु क्वोरेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादवले बताए । बर्ड फ्लु पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण जिल्ला समितिले संक्रमित कुखुरा नष्ट गरिएको हो ।
जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डा. हरेराम यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार वटा, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
बर्डफलु संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल गरिएको र फर्म वरपर निसंक्रमण पनि गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्