आवेदन दिएको महिनामै लाइसेन्स पाइने दाबी

यातायात विभागले अनलाइन आवेदन दिएको एक महिनाभित्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन पाउने प्रणालीको विकास गर्ने भएको छ ।
पछिल्लो समय आवेदन दिँदा करिब दुई वर्षभन्दा बढी समय प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्था भएपछि विभागले आगामी दिनमा एक महिनामै सवारी चालक अनुमति लिन पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।
आगामी दिनमा सेवाग्राहीले प्रणालीबाट नै मुलुकभरको सेवा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यलयमा एक महिनाभन्दा बढी समय लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । यसले गर्दा हाल देखिएको लामो समय प्रतीक्षा सूचीमा बस्नु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । अब हामीले विकास गर्ने सिस्टममा आवेदकले मुलुकभरका सबै सेवा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिएको एक महिनामा कुन कार्यालय भिजिट गर्नुपर्ने हो त्यसको मितिसमेत सो आवेदनको समयमा नै सुनिश्चित हुनेछ । वास्तविक आवेदकलाई मात्र सेवा दिने गरी विभागले यो तयारी गरेको हो उनले भने, “अबको दिनमा आवेदन दिँदा सरकारलाई तिर्नुपर्ने राजस्व पनि अग्रिम भुक्तानी गर्नुपर्ने छ । बायो मेट्रिकसबाटको तिर्नुपर्ने पाँच सय राजस्व अग्रिम भुक्तानी गर्नुपर्ने छ । विभागले पछिल्लो समय हेर्दा सिस्टममा आवेदकको संख्या धेरै तर (फिल्ड) आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीका लागि मात्र यस्तो सिस्टम विकास गर्न लागेको महानिर्देशक घिमिरेले बताए । यदि आवेदकले आवेदन दिएको समयमा एक महिनामा परीक्षा गर्न नसक्ने अवस्थामा वा अग्रिम प्याक छ, भने सो आवेदकको आवेदन अस्वीकृत हुनेछ । यसका लागि आवेदकले अर्काे सेवा कार्यालयमा आवेदन दिनसक्ने छन् वा अर्को दिन कुर्नु पर्नेछ ।
विभागले हाल मुलक भरको २४ सेवा कार्यालयबाट दैनिक ६ हजार सात सयले ट्रयाल दिन सक्नेछन् । यसको क्षमतालाई १५ हजार पु-याउने गरी विभागले सिस्टम विकास गर्न लागेको हो । आवेदन दिने तर ट्रयाल परीक्षामा सहभागी हुन आउनेको संख्या एकदमै कम भएपछि विभागले १–देखि १४ दिनका आवेदकलाई १ कै दिनमा ट्रायल दिने व्यवस्था गर्नेछ । पछिल्लो समय कुल आवेदन दिएकामध्ये ३० देखि ४० प्रतिशतसम्मले मात्र ट्रायल दिन आएको अवस्था छ ।
यसले गर्दा आगामी वैशाखको १६ गतेसम्म अहिलेसम्म आवेदन दिएका सबैको ट्रायल परीक्षा सक्ने जनाएको छ । विभागका अनुसार परीक्षाको समयमा आवेदन पूर्णरूपमा बन्द गरेर परीक्षा गर्न लागिएको महानिर्देशक घिमिरेको भनाइ छ । परीक्षाका लागि आवेदन दिने, होल्ड गर्ने तर परीक्षामा भने नआउने गरेको छ । “आवश्यक भएकाले लाइसेन्सका लागि पालो नपाउने तर आवश्यक नभएकाले भने होल्ड गर्ने परिपाटी हटेर जाने छ ।” उनले भने, “यसले गर्दा अति आवश्यक भएका रियल आवेदकले मात्र अवसर प्राप्त गर्नेछन् ।”
कोभिड–१९ का कारण लामो समय आवेदन बन्द हुदाँ धेरै आवेदन दिएकाले लाइसेन्स लिनेको संख्यामा अत्यधिक वृद्धिपछि लामो समय प्रतिक्षा सूचीमा बस्नु परेको सेवाग्राहीको गुनासो थियो । गुनासो सम्बोधन गर्न र चाँडै सेवा दिनका लागि विभागले यस्तो सिस्टम विकास गर्न लागेको जनाएको छ ।
हालसम्म आवेदन लाइसेन्सका लागि करिब पाँच लाख ७२ हजारले आवेदन दिएर प्रतीक्षा सूचीमा रहेको विभागले जनाएको छ । हाल आवेदन दिएका आवेदकको ट्रालयको समय आगामी सन् २०२४ को २४ नोबेम्बरसम्म मात्र पालो आउने छ । विभागले यस्को तयारीका लागि सबै मातहतका निकायसँग दुई चरणमा छलफल गरिसकेको छ भने सोहीअनुसार सिस्टम विकास गर्न लागेको छ । हाल विर्तामोड, इलाम, सुनसरी, विराटनगर, धनकुटा, लहान, गाईघाट, बर्दिबास, जनकपुर, विरगन्ज, हेटौडा, एकान्तकुना, ठूलो भ-याङ, चाबहील, जगाती, पोखरा, बागलुङ, बुटबल, दाङ, बाके, सुर्खेत, जुम्ला, धनगडी, महेन्द्रनगरबाट सवारी चालकका लागि आवेदन दिन सक्नेछन् । कोभिड–१९को पहिलो लकडाउनमा यातायात कार्यालयको सेवा बन्द हुँदा लाइसेन्स लिन चाहनेको संख्या थपिएको थियो । लाइसेन्स लिन चाहनेको चाप कम गर्नका लागि अग्रिम दैनिक एक हजारले आवेदन दिएर प्रतीक्षा सूचीमा बस्न मिल्ने प्रणालीको विकास यसअघि विभागले गरेको थियो ।