सूचना महामार्गको प्रगति निराशाजनक «

सूचना महामार्गको प्रगति निराशाजनक

नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग सम्बन्धी परियोजनाको प्रगति निराशाजनक रहेको छ । प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी यी परियोजना सञ्चालन गरिरहे पनि जिम्मेवारी पाएका कम्पनीहरूले समयमै काम नगर्दा अवस्था निराशाजनक बनेको हो ।
प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजमार्फत अगाडि बढाइएको छ । जसमा प्याकेज एक अन्तर्गत प्रदेश एक सहित मधेश प्रदेश र बागमती प्रदेश रहेका छन् । यो प्रदेशमा सूचना महामार्गको काम केही अघि बढे पनि अन्य प्रदेशमा भने काम अघि बढ्न सकेको छैन । प्राधिकरणले प्याकेज दुई अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा तथा प्याकेज तीन अन्तर्गत कर्णाली र सुदूरपश्चिममा सूचना महामार्गको काम अघि बढाएको छ ।
प्राधिकरणकै प्रगति प्रतिवेदन अनुसार मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग अन्तर्गत अप्टिकल फाइबर बिच्छ्याउने काम प्रदेश एकसहित मधेश प्रदेश र बागमती प्रदेशमा ५३.२३ प्रतिशत पूरा भए पनि अन्य प्रदेशमा भने सुरु नै हुन सकेको छैन । प्राधिकरणले यसै महिना प्रकाशित गरेको उक्त प्रतिवेदनमा प्याकेज दुई र तीनको अप्टिकल फाइबर बिच्छ्याउने कार्यको प्रगति शून्य रहेको छ । प्याकेज एकमा अप्टिकल फाइबर बिच्छ्याउनु पर्ने दूरी २ हजार १ सय ७९ किलोमिटर रहेकोमा हालसम्म १ हजार १ सय ६० किमी पूरा भइसकेको छ । प्याकेज दुई अर्थात् गण्डकी र लुम्बिनीमा अप्टिकल फाइबरको दूरी २ हजार १ सय ६० किमी र प्याकेज तीन अर्थात कर्णाली र सुदूरपश्चिममा १ हजार ९ सय ९२ किमी दूरी अप्टिलक फाइबरका लागि सम्झौता भएको थियो ।
सम्झौता अनुसार अप्टिकल फाइबर बिच्छ्याउने र केही उपकरणहरू जडानको कार्यसमेत रहेका छन् । जसमा डीडब्लूडीएम सिस्टम र कोर राउटर उपकरणजस्ता उपकरण जडान गर्नुपर्ने भए पनि यसको समेत प्रगति सन्तोषजनक हुन नसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । उनका अनुसार प्याकेज एक अन्तर्गत २८ वटा ‘डीडब्लूडीएम सिस्टम’ जडान हुनुपर्नेमा हालसम्म २७ वटा भइसके पनि प्याकेज दुईमा २१ वटाका लागि सम्झौता भए पनि हालसम्म एउटै पनि जडान भएको छैन । यस्तै, डीडब्लूडीएम सिस्टमकै लागि प्याकेज तीनमा २८ वटाका लागि सम्झौता भएकोमा २२ वटा जडान भइसकेको छ । कोर राउटर उपकरणतर्फ प्याकेज एकमा ४८ वटाका लागि सम्झौता भएकोमा ४७ वटा जडान भइसकेको तर प्याकेज दुईमा ७३ वटा र प्याकेज तीनमा ५६ वटाका लागि सम्झौता भए पनि हालसम्म एउटै पनि जडान नभएको प्रवक्ता पौडेलले जानकारी दिए ।

किन भयो ढिलाइ ?
प्राधिकरणका अनुसार सूचना महामार्गसम्बन्धी कार्यमा ढिलाइ हुनुमा सम्झौता गर्ने तर फिल्डमा गएर काम नगर्ने कम्पनीहरूको व्यवहार नै मुख्य जिम्मेवार रहेको छ । प्याकेज एक अर्थात प्रदेश १ सहित मधेश र बागमती प्रदेशमा प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सँग दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । जसको काम केही सन्तोषजनक देखिए पनि प्याकेज दुई अर्थात गण्डकी र लुम्बिनी प्रदेशका लागि ठेक्का पाएको युनाइटेड टेलिकमको गैरजिम्मेवार व्यवहारका कारण प्रगति शून्य हुन पुगेको प्राधिकरण बताउँछ । यूटीएलले दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा निजको सम्झौता बमोजिम कार्यको प्रगति शून्य रहेको हुँदा आयोजना सम्पन्न हुनेमा प्राधिकरण विश्वस्त नभएपछि सम्झौताको म्याद थप नगर्ने निर्णय भएको थियो । तर यो निर्णय बदर गर्नको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र सो विषयमा सर्वोच्च अदालतबाट उक्त रिट निवेदनको टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भएको हुँदा ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्