क्रिकेटमा अब्बल कुशल

नेपालको विश्वकप क्रिकेट लिग २ यात्रामा व्यस्त छन् कुशल भुर्तेल । श्रीलंकामा नेपालको तयारी पश्चात उनी लिग २ को खेलका लागि यूएई पुग्ने क्रममा छन् । कुशलका समर्थकहरु भने उनलाई १८ औं पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको पिपल्स च्वाइस विधामा भोट हाल्न लागिपरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डका लागि पिपल्स च्वाइस अवार्डमा कुशल पाँच मध्येका एक मनोनयनमा परेका खेलाडी हुन् । उनीसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनकी प्रिन्स दाहाल र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा रहेका छन् ।
राष्ट्रिय टोलीबाट खेल्न लागेको एक वर्षभन्दा कम समयमै कुशलले लोकप्रिय खेलाडीको स्थान बनाएका हुन् । सन् २०१९ को नोभेम्बरमा भारत इमर्जिङटिम विरूद्ध खेल्दै लिष्ट ‘ए’ मा डेब्यु गरेका कुशल काठमाडौं भएको १३ औं दक्षिण एसियाली खेलकुदमै नेपाली राष्ट्रिय टोलीमा थिए ।
तर उनले खेल्ने मौकै पाएनन् । यसै वर्षको वैशाखमा काठमाडौंमा भएको त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाले कुशलको भाग्यमात्र खोलिदिएन, नेपाललाई एउटा मजबुत ओपनिङ ब्याटर उपलब्ध गराइदियो ।
नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाबाट ‘डेब्यु’ गरेका कुशल ११ महिनापछि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विश्वकै शीर्ष ३० ब्याटर भित्र अटाइसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ट्वान्टी–२० अन्तर्राष्ट्रिय ब्याटर वरीयतामा कुशल २९ औं स्थानमा छन् । नेपाली खेलाडीले वरीयतामा पाएको यो सबैभन्दा माथिल्लो स्थान हो ।
नेदरल्यान्ड्सविरूद्ध उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियको आफ्नो ‘डेब्यु’ खेलमा ६३ रन बनाएका थिए । त्यसैलाई निरन्तरता दिँदै उनले मलेसियाविरूद्ध अविजित ६२ र नेदरल्यान्ड्सविरूद्ध ६२ रन बनाएका थिए । आफ्नो पहिलो तीन ट्वान्टी–२० अन्तर्राष्ट्रियमै अर्धशतक बनाउने कुशल पहिलो र एकमात्र ब्याटर हुन् । त्रिकोणात्मक शृंखलाको पाँच खेलमा चारमा अर्धशतक बनाउँदै उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
नेदरल्यान्ड्ससँगको फाइनलमा उनकै ७७ रनमा नेपालले उपाधि जितेको थियो । कुशलले त्रिकोणात्मक ट्वान्टी–२० शृंखलापछि भनेका थिए, “अहिले त सपनाजस्तो लागिरहेको छ । एक साता अगाडि केही थिइन । अहिले मेरो नाममा केही कीर्तिमान जोडिएका छन् ।” हुन पनि हो, कुशललाई अहिले क्रिकेटका धेरै कीर्तिमानले पछ्याइरहेको छ ।
त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको प्रदर्शनका आधारमा उनलाई आईसीसीले महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको थियो । अर्को बेजोड तथ्य के हो भने आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने कुशल पहिलो नेपाली खेलाडी हुन् । यो सुचिमा अहिले सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी थपिसकेका छन् ।
कुशलले ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दा त्यसमा पाँच अर्धशतक र एकमा शतक बनाइसकेका छन् । त्यसयता कुशलको प्रदर्शनले उकालो लागिरहेको छ । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने केवल तेस्रो नेपाली खेलाडी हुन् । अघिल्लो महिना ट्वान्टी–२० विश्वकप छनौटमा कुशलले फिलिपिन्सविरूद्ध अविजित १ सय ४ रन बनाएका थिए । यही क्रममा कुशलले दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटमा १ सय ७७ रनको साझेदारी गरेका थिए, जुन नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी हो ।
ओमानमा भएको प्रतियोगितामा कुशलले नेपालबाट सर्वाधिक २ सय ५ रन बनाएका थिए । उनको प्रदर्शनका बावजुद दुर्भाग्य नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट हुन सकेन । कुशलले ११ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ४ सय ९८ रन बनाइसकेका छन् र नेपालबाट सर्वाधिक रन बनाउनेमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीभन्दा मात्र पछाडि छन् ।
नेपालको उमेर समूहदेखि खेल्दै आएका २५ वर्षे कुशलले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेटमा वर्चस्व जमाउँदै आएका छन् । मिडियम पेस बलिङका साथ घरेलु क्रिकेटमा उनी अलराउन्डर भएर आएका थिए ।
एकपछि अर्को शृंखलामा रन वर्षाउन लागेपछि कुशल मुख्यतःब्याटिङमा केन्द्रित छन् । उनको उपस्थितिमा नेपालले पहिलो पावर प्ले मजाले सदुपयोग गर्न लागेको छ । एकदिवसीय क्रिकेटमा पनि उनी स्थापित हुने क्रममा छन् ।
उनले सेप्टेम्बरमा अमेरिकाविरूद्ध विश्वकप लिग २ को खेलमा ८४ रनको इनिङस खेलेका थिए । जुन क्षमताका साथ उनी खेल्दै आएका छन्, त्यसअनुरुप यूएई भ्रमणले कुशलको एकदिवसीय यात्रालाई पनि उचाईमा पु¥याउन सक्छ ।
नेपालको तुलनात्मक रुपमा कमजोर मानिएको ब्याटिङमा उनको ‘फियरलेस’ शैली ठूलो आशा बनेको छ । आक्रामक शैलीले कुशललाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो रुपमा उभ्याएको छ । नेपालको ब्याटिङ कुशलमा केन्द्रित हुन थालेको छ ।
उनको यो सफलताकै कारण उनी निसन्देह चर्चित खेलाडीको मनोनयमा परेका हुन् । र धेरैलाई विश्वास छ, पिपल्स च्वाइस अवार्डमा उनलाई क्रिकेट समर्थकहरुले जिताउने छन् ।