Logo

लेखनाथ महोत्सवमा एकै दिन ५० लाखको कारोबार

पोखरा-कास्कीको लेखनाथमा जारी १७औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार एकै दिनमा ५० लाखबराबरको कारोबार भएको छ ।
शनिवार मात्रै करिब २५ हजार दर्शकले महोत्सव अवलोकन गर्दा ५० लाखभन्दा बढीको कारोबार भएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले बताए ।
सार्वजनिक विदाको दिन शनिबार दर्शकहरुको रोजाई नै महोत्सव हुँदा आफुहरुले अपेक्षा गरे भन्दा धेरै दर्शक एकै दिनमा सहभागी भएको उनले जनाए । उनले भने, “शनिबार दर्शकहरुको चाप अधिक रह्यो, सवै स्टलहरुमा कारोबार राम्रो भएको पायौ, कारोबारले स्टलवाला व्यवसायी र मनोरञ्जनले दर्शक सन्तुष्ट भएका छन् ।”
गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालको संयोजनमा लेखनाथस्थित विभिन्न स्वास्थ्य संस्थाहरुले कोरोना विरुद्धको भ्याक्सिनसमेत व्यवस्था गरेका छन् । महोत्सव स्थलबाटै ८० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । महोत्सवमा कृषिजन्य स्थानीय उत्पादनदेखि अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सूचनालगायतका तीन सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव स्थलबाटै नेपाल टेलिकमले निःशुल्क सिमकार्डको व्यवस्था गरेको छ भने लेखनाथ खानेपानी उपभोक्ता संस्था, कामना सेवा विकास बैंक र हिमालयन प्यूरीफाइले पानी तथा जुसको व्यवस्था गरेका छन् ।
शनिबार चर्चित लोकदोहोरी गायक राजु परियार र नौ वर्षिया बालगायिका आयषा गौतम लगायतले दर्शकहरुलाई छमछमी नचाएका थिए । साँझ चर्चित कार्यक्रम प्रस्तोता, हास्य कलाकार एवं गायक सन्दिप क्षेत्रीले युवा पुस्तालाई मनोरञ्जन दिलाए । यसैगरी हास्यकलाकार राजा राजेन्द्रले विभिन्न प्रस्तुती दिएका थिए । महोत्सवमा विद्यालयस्तरिय नृत्य प्रतियोगिता, विभिन्न जनजातिको झाँकी र रत्यौली गीत प्रतियोगितासमेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्