Logo

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका छन् । ‘जसपाबाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन,’ मेयर सरावगीले भने, ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन । राष्ट्रिय पार्टी भनेको एमाले नै हुन सक्छ ।’
कार्यक्रममा मेयर सरावगीले एमाले अध्यक्ष ओलीको प्रशंशासमेत गरेका थिए । ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्