खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

सुदूरपश्चिमको धनगढीमा सञ्चालित खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको हो ।
उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता फ्रेन्डसले १० लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ । खेलको २२औं मिनेटमा मनाङले दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा दिनेशले सुन्दर गोल गरेका थिए ।
५१ औं मिनेटमा फ्रान्स्वाँले गोल गर्दै फ्रेन्ड्सलाई १–१ को स्थितिमा ल्याए । तर ७१ औं मिनेटमा ओलावाले आफिज र इन्जुरी समयमा मौसा अवागानाले गोल गर्दै मनाङको जित निश्चित गरिहाले । फ्रेन्ड्सले खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्स्वाँले गरेको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले रोकेका थिए ।
खेलको ८६ औं मिनेटमा मैदानमा उत्पन्न भएको तनावका कारण मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएका थिए ।