नेविसंघ नेताहरूको मागः स्थानीय चुनावमा महत्वपूर्ण भूमिका दिइयोस्

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरूले युवा विद्यार्थीहरूलाई आगामी स्थानीय तहको चुनावमा महत्वपुर्ण भुमिका दिनुपर्ने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी चुनावमा कांग्रेसलाई जिताउन नेविसंघले महत्वपुर्ण भुमिका खेल्ने नेताहरूले दाबी गरेका हुन् ।
नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेले नेविसंघको नेतृत्व कस्तो हुनुपर्ने त्यसको बारेमा छलफल पहिला हुनुपर्ने बताए । उमेरको मात्र आधारलाई नहेरेर सबै समस्यालाई उठान गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनले औंल्याए । उमेर हदबारे प्रसंगमा कुरा गर्दै उनले नेविसंघको १२औं महाधिवेशनबाट ३२ वर्षे उमेरहद लागु हुने विधान बनाएको बताए ।
आफू उमेरहदबाट नभई बाहिरबाट महामन्त्री भएको सुनाउँदै नियमित रुपले महाधिवेशन भएमा उमेरहद आफैं हट्ने जिकिर गरे । उमेरहद सधंैभरि लगाउन जरुरी नभएको भन्दै यसबारेमा पार्टी नेतृत्वले ध्यान दिन पर्ने बताए ।
पार्टीको उमेरहद लगाउने निर्णयलाई आश्चर्य मान्न नहुने उनको भनाई थियो ।
पूर्वसहमहामन्त्री तथा प्रवक्ता प्रेमराज जोशीले नेविसंघ के हो र यसको आवश्यकता रहेको सबैलाई बुझाउनुपर्ने आवश्यकता रहेको बताए । नेविसंघको १२औं महाधिवेशन नभएकोले अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई थियो । उनले भने,‘समयमै महाधिवेशन गर्न सकेनौ, त्यसकारण आजको अवस्था सिर्जना भएको हो ।’ आगामी चुनावमा जान त सबैभन्दा पहिले अहिले नेविसंघ आफै पुर्णरुपमा तन्दुरुस्त हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भोटरलाई मतदान स्थलसम्म पु¥याउने र कांग्रेसको पक्षमा भोट हाल्ने बनाउने त्यो जिम्मेवारी नेविसंघको काधमा रहेको छ ।’
प्रेमिका राना मगरले नेपाली कांगे्रसलाई आगामी स्थानीय तहको निर्वाचन जित्न नेविसंघको भुमिका महत्वपूर्ण रहेको बताइन् । अहिले नेविसंघ पार्टी संगठनहरूको बारेमा मौन रहेको पनि बताइन् । भ्रातृसंगठनहरू नेतृत्व विहिन भएको भन्दै उनले स्थानीय तहको निर्वाचनमा नेविसंघले मुलपार्टीलाई जिताउन सक्ने जिकिर गरिन् ।
उनले भनिन्, ‘कांग्रेस फेरि पनि चुनाब हार्न नपरोस् । तरुणदल, नेविसंघलाई सिमित राख्न हुँदैन् ।’ सबै विद्यार्थीहरू नेताको मात्र भर पर्न नहुने पनि उनले बताइन् । नेविसंघको भूमिका स्थानीय तहको निर्वाचनमा अन्य भातृ संगठनको भन्दा धेरै महत्वपुर्ण हुने उनको भनाइ थियो ।
मगरले नेविसंघको केन्द्रीय (सभापति) अध्यक्ष पदको दाबेदार आफु भएको बताइन् । र आफुलाई सभापति बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै नेविसंघको समस्या उठाउन आफु सक्षम भएको जिकिर गरिन् ।
नेविसंघका सभापति टंक सुवेदीले नेपाल विद्यार्थी संघ खोइ ? भन्दै प्रश्न गरे । । नेविसंघको नेतृत्व नहुँदा सबै लथालिंग भएको उनको भनाइ थियो । नेविसंघलाई योग्य नेतृन्व दिन पनि उनले पार्टी नेतृत्वलाई आग्रह गरे ।
नेविसंघको कारण हरेक जिल्लाका समस्या समाधान र आन्दोलन सफल भएका पनि उनले जिकिर गरे । नेविसंघको लागि लामो समय बिताउनेहरूको उमेरलाई ख्याल गरी सम्मान गर्दै जिम्मेवारी दिन पर्ने सुझाव दिए । उनले भने, ‘३२ वर्ष काटेका व्यक्तिहरूलाई उहाँहरूको राजनीतिको हत्या नगरी उहाँहरूलाई उचित व्यवस्थापन गर्न माग गर्छु ।’ आगमी स्थानीय तहको निर्वाचनमा योग्य विद्यार्थीहरूलाई पनि जिम्मेवारी दिन पर्नेमा जोड दिए । पार्टीलाई जिताउन नेविसंघको भूमिका महत्वपूर्ण हुने उनले बताए । ्
तारक केसीले केन्द्रीय नेतृत्व भताभुंग भएपनि नेविसंघका क्याम्पस र जिल्ला स्तरका कमिटीहरू क्रियाशील रहेको बताए । वर्तमानसँग जुध्न सक्ने, विगतलाई ध्यान दिने र नेविसंघका सम्पूर्ण समस्या समाधान गर्न सक्ने नेतृत्व अबको आवश्यकता रहेको उनले औंल्याए । विद्यार्थी संगठनको भुमिकालाई कमजोर बनाउन नहुने उनले तर्क राखे । उनले भने,‘जो जहाँ छ, सबैले त्यहीबाट आगामी चुनावमा आफ्नो भूमिका निभाउन पर्छ ।’ स्थानीय चुनावमा नेविसंघको भूमिका सार्थक हुने उनले स्पष्ट पारे । नेविसंघको नेताहरू राम्रो र प्रभावकारी ढंगले जनतामाझ गएर कांग्रेसलाई जिताउन ठूलो भूमिका खेल्न पर्ने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य लाओस राईले नेविसंघको मुख्य भूमिका नै कांग्रेसलाई चुनावमा जिताउने भएको बताए । संघीयतामा नेविसंघको भूमिका महत्वपूर्ण छ भन्दै उनले अहिलेको स्थितिमा स्थानीय चुनावमा धेरै खटेर पार्टीका उम्मेदवारहरूलाई जिताउन पर्ने धारणा राखे । नेविसंघमा उमेरको हदबन्दी लागुन हुन नहुने बताए ।
पूर्वकेन्द्रीय सदस्य भोला नेपालले स्थानीय तहको तयारी मा नेपाली कांग्रेस जुटेको बताए । उनले भने,‘चुनावको लागि कांग्रेस जुटेको मात्र छैन् दौडिरेहको छ ।’ नेविसंघलगायत भ्रातृ संगठनका नेतृत्व माउ पार्टी कांग्रेसको नेता भएपछि नेविसंघको नेतृत्व अलपत्र परेको उनले सुनाए ।
नेविसंघमा बेला बेला मा उमेर हदको कुरा उठाउँदै आएको भन्दै उनले उमेर हद लाग्न नहुने तर्क राखे । उमेरमा राजनीति गर्न नहुने उनको भनाइ थियो ।
स्थानीय तहको निर्वाचनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा उत्साह भर्न नसकेको पनि उनले स्वीकार गरे ।
पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र शर्माले नेविसंघले आगामी स्थानीय चुनावमा कांग्रेसलाई जिताउन पर्ने धारणा राखे । अहिलेको अवस्थामा पुराना र अनुभवी नेताहरूको आशिर्वाद र सल्लाहबाट अगाडि बढ्नु्पर्ने ट्टकारो आवश्यकता रहेको जिकिर गरे । वैचारिक धरातल र सिद्धान्तलाई लिएर नेविसंघ अघि बढ्न पर्ने उनले बताए । शर्माले नेतृत्वले जिम्मेवार ढंगले युवाहरूलाई जिम्मेवारी दिएर अग्रजहरूलाई सम्मान गर्दै उनीहरूको पनि सम्बोधन गर्नपर्नेमा जोड दिए ।
सुचना प्रवाहको माध्यमबाट वैचारिक सिद्धान्तको बारेमा जनतालाई सुसूचित गराउन पर्ने बताए । आफ्नो स्वार्थलाई छाडी, गुट र उपगुटबाट माथि उठेर सबैजना अगाडी बढ्न पर्ने अहिलेको आवश्यकता रहेको औंल्याए ।
कोषाध्यक्ष शिव रिमालले नेविसंघ कहाँ छ ? भन्दै टर्च लाइट बालेर खोज्न पर्ने दिन आएको सुनाए । उनले कुनै पनि स्थानीय तहमा नेविसंघको उपस्थिति नरहेको पनि स्पष्ट पारे । नेविसंघमा उमेर हद लागु गर्न नहुने उनले तर्क गर्दै आफु उमेरहदको विपक्षमा रहेको समेत स्पष्ट पारे । उनले भने,‘नेविसंघमा उमेरहद लागु गर्न हुँदैन् लागू गर्दा अन्याय हुन्छ ।’
केन्द्रीय सदस्य लीला वल्लभ दाहालले नेविसंघको आफ्नो पालामा २ वटा महाधिवेशन भएको सुनाए । समयमै महाधिवेशन नहुनुनै सम्पूर्ण समस्याको जड भएको उनको भनाई थियो । नेविसंघको एजेण्डाको बारेमा माउ पार्टी कांग्रेसका नेताहरूले नै नबुझेको उनले बताए ।
वर्षको छ अर्ब रुपैयाँ एमबीबीएस पढ्नका लागि बाहिरिने भन्दै उनले त्यसबारे नेपाली कांग्रेसले ध्यान नदिएका बताए । अब त्यसबारेमा नेविसंघले ध्यान दिनपर्नेमा उनले जोड दिए । उनले भने,‘अब आर्थिक मुद्दामा पनि नेविसंघ बोल्नपर्छ ।’
रुकुम नेविसंघका अध्यक्ष सुमन बुढामगरले नेविसंघको केन्द्रीय समिति नहुनुको सबैभन्दा लज्जास्पद कुुरा भएको बताए । आज आफु बाध्य भएर काठमाडौं आएर कार्यक्रमको आयोजना गर्न परेको उनले स्पष्ट पारे । उनले नेविसंघका सबै नेताहरूलाई कार्यक्रममा बोल्न आमन्त्रण गरेको बताए । उनले रुकुम निकै विकट भएको भन्दै तराईजस्तो राजनीति गर्न सजिलो नभएको प्रस्टाए । नेविसंघका नेताहरूलाई ३२ वा ३२ भन्दा कम उमेर हदको बारेमा धेरै नसोची आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउन केन्द्रीत हुन आग्रह गरे ।
कार्यक्रमको सञ्चालन चन्द्रकान्त पौडेलले गरेका थिए ।