कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा दिएको बताए
। उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए । पार्टीभित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए । उनले भने, ‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यताभन्दा धेरै पर पुगेर जसरी एमसीसीको राष्ट्रघात छल्कियो त्यो गम्भिर आपत्तिजनक कुरा छ । मेरो बुझाइ के हो भने यस्तो खालको राष्ट्रघाति अभियानमा पार्टी सहभागि भएको हुनाले बिरोध त मैले निरन्तर गरिराखेको छु डे वान देखि नै । हामीले विरोध पनि गरिराख्ने, भत्तापनि खाइराख्ने, गाडी पनि चढिराख्ने यस्तो गरिराख्नु हुँदैन । त्यसैले यो सबै कुराहरुबाट मैले राजीनामा दिनुपर्छ । त्यसकारण देश, जनताभन्दा मेरो पद कुनै ठुलो कुरा होइन, त्यो शोभनिय हुँदैन । कालान्तरमा जनताले कुनै बेला विश्वास गरेछन् भने आउँला । त्यसैले राजीनामाको निर्णय भयो ।’
उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए ।