सुध्रेको छैन अर्थतन्त्र

आर्थिक वर्षको सातौं महिनामा विदेशी मुद्रा सञ्चितीमा दबाब घट्ने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले लगातार आयातमा कडाइ गरेको तथा अन्य उपायहरु अपनाएका कारण पुस मसान्तसम्ममा विदेशी मुद्राको सञ्चितिले ६ महिना १८ दिनको लागिमात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेकोमा माघ महिनामा ६ महिना २१ दिन आयात धान्न पुग्ने देखिएको छ ।
नेपाली मुद्रा कमजोर भएको तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि गैरबजेटरी सहायता गरेका कारण विदेशी मुद्रा सञ्चितीमा दबाब कम भएको देखिएको अर्थविद्हरुको भनाइ छ । किनकि राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको सातौं महिनामा विदेशी मुद्रा सञ्चिती १७.७ प्रतिशतले घटेको छ । अमेरिकी डलर भने २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम रहेको छ ।
केन्द्रीय बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई १०२४ अर्ब ६० करोड कायम भएको छ ।
यसरी २०७८ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आवको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ५५.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।
यसैगरी नेपाल भित्रिने भन्दा बाहिरिने रकम बढी भएका कारण शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ । आयातमा कडाइ गर्दागर्दै पनि आयातीत अर्थतन्त्र भएका कारण आयात बढेको तर रेमिट्यान्स आम्दानी नबढेका कारण शोधनान्तर घाटा बढेको हो ।
विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्सको आय पनि घटेको घट्यै छ । गत माघ महिनासम्मको तुलनामा ४.९ प्रतिशतले घटेर चालू आवको माघसम्ममा ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिटयान्स आएको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको ७ महिनामा चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा छ । पुस मसान्तसम्म यस्तो घाटा २ खर्ब ४३ अर्ब रुपैयाँ घाटामा थियो । तर, अघिल्लो आवको सात महिनामा चालू खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा थियो । यसैगरी, माघ मसान्तसम्ममा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड रहेको छ ।
साथै, राष्ट्र बैंकका अनुसार चालू आवको माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत छ । अघिल्लो आवर्षको सोही महिनामा मुद्रास्फीति २.७० प्रतिशत थियो । माघ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत छ । २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत थियो ।
माघ मसान्तमा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ । तर, २०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति थियो । यसका साथै, चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ भने ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।