Logo

महिला वैधानिकीकरण श्रमस्वीकृति सबैभन्दा बढी यूएईमा

अन्य श्रम गन्तव्यको तुलनामा विगत ३ वर्षमा यूएई जान नेपाली महिलाले सबैभन्दा बढी श्रमस्वीकृति लिएको पाइएको छ । खाडीका अन्य श्रम गन्तव्यको तुलनामा यूएईका रोजगारदाताले भिजिट भिसामा गएका विदेशीलाई श्रम अनुमति दिने गरेका कारण यूएईका लागि सबैभन्दा बढी वैधानिकीकरण श्रमस्वीकृति जारी भएको हो । यसमा पुरुष श्रमिकको संख्या समेत उल्लेख्य रहेको विभागको तथ्यांकमा छ । रोजगारबाहेक अन्य भिसामा गएर निश्चित समय काम गरेर रोजगारदाताबाट श्रम सम्झौतापत्र लिई नेपाल फर्किएर पुनः रोजगार जाने श्रमिकले वैधानिकीकरणका आवेदन दिएर श्रम स्वीकृति लिने प्रावधान रहेको छ । वैदेशिक रोजगार विभागले विगत ३ वर्षमा जारी गरेको वैधानिकीकरण श्रमस्वीकृतिमध्ये सबैभन्दा बढी यूएईमा १ हजार ८१७, अमेरिका १३६, जापान ७१, कतार ९६ र बेलायत ४० जाने महिलाले सो देशमा जान वैधानिकीकरण श्रम स्वीकृति लिएको पाइएको छ ।
यूएईको तुलनामा कतारको सेवासुविधा समान भए पनि यूएई जान वैधानिकीकरण श्रमस्वीकृति लिने श्रमिकको संख्या १८ गुणा बढी देखिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षय रोहन गुरुङ यूएईले भिजिट भिसामा जाने विदेशीलाई रोजगारीका लागि सहज अनुमति दिने गरेका कारण अन्य भिसामा यूएई गएर काम गर्ने नेपालीको संख्या बढी देखिएको बताए । “यूएईको जस्तो समान तलब सुविधा भएका खाडीका अन्य श्रम गन्तव्यले भिजिट भिसामा गएका श्रमिकलाई रोजगारीको अनुमति नदिएका कारण पनि यूएईमा भिजिट भिसामा जानेको संख्या बढी देखिएको हो,” गुरुङले कारोबारसँग भने । वैदेशिक रोजगार विभागले जारी गर्ने श्रम स्वीकृति अनुसार पनि गत वर्ष श्रम स्वीकृति जारी भएका १ सय १६ श्रम गन्तव्य मध्ये यूएईका लागिमात्र आधाभन्दा बढीले गैरश्रमिक भिसालाई श्रमिक भिसामा वैधानिकीकरण गरेको छ ।
विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको श्रम स्वीकृति संख्याअनुसार महिला–पुरुष सहित ५ हजार ३ सय ३६ भिसामध्ये यूएईका लागि २ हजार ८ सय ९१ गैरश्रमिक भिसालाई श्रमिक भिसाका रुपमा वैधानिकीकरण गरी श्रम स्वीकृति लिइएको पाइएको छ । भिजिट वा अन्य भिसामा विदेश गएर रोजगार अनुमति प्राप्त गरेपछि विभागबाट कानुनी रुपमा नै सो देशमा रोजगारीका लागि जान सकिने प्रावधान रहेको छ । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान १ सय १६ देशमा गैरश्रमिक भिसामा गएर वैधानिकीकरण श्रम स्वीकृति लिएका मध्ये ५५ प्रतिशत भन्दा बढी यूएई जानेले अनुमति लिएको विभागको ताहाचल कार्यालयका एक कर्मचारीले जानकारी दिए । गत वर्ष सबैभन्दा बढी अन्य भिसालाई वर्किङ भिसामा परिवर्तन गर्नेमा यूएर्ई २ हजार ८ सय ९१ हुँदा कतारका लागि ६ सय ८६ जनाले लिएका छन् ।
भिजिट भिसामा यूएई पु¥याएर रोजगारी दिलाउने आश्वासनमा अलपत्र पार्ने प्रवृत्ति बढ्न थालेपछि सरकारले यसको नियन्त्रणका लागि कार्यदल गठन गरेको थियो । कार्यदलको सुझाव अनुसार भिजिट भिसामा यूएई जाने नेपालीका लागि विभिन्न १८ वटा शर्तहरु राखिएका छन् ।
हालै गृह मन्त्रालयले यूएईको भिजिट भिसाका सम्बन्धमा कार्यविधि तयार भई कार्यान्वयनमा नआउन्जेल सम्म खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु भिजिट भिसामा जान सक्ने गरी सचिव स्तरीय आदेश जारी गरेको छ । यस्तै आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती) वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत जान पाउने छन् ।
पछिल्लो समय वैदेशिक रोजगाारीको सहज पहुँच भएका खाडी राष्ट्रमा जान समेत केही मेनपावरले चर्को सेवा शुल्क लिन थालेपछि नेपालीहरुले सहज प्रवेशका लागि यूएईको भिजिट भिसालाई माध्यम बनाएर रोजगारीका लागि जाने गरेको पाइन्छ । यूएईमा काम गरिरहेका आफन्तले नेपालमा रहेका नजिकका मान्छेलाई रोजगारीको भिसा पठाउन नसकेको अवस्थामा भिजिट भिसा आउने विकल्प दिएपछि सो देशमा जाने भिजिट भिसामा विवाद आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्