Logo

एमसीसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए । उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानुनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरू खुशी हुने उनले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुसी हुनेछौँ । अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानुनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होऊन् । नेपालकै हुन सक्छन् ।’
प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानुनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए । निर्माण व्यवसायलाई अझै व्यवसायिक र प्रतिस्पर्धि बनाउनु आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री देउवाले भने, ‘निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध छ । मुलुकमा कृषि पछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धि बिकासबाट मुलुकको दु्रत आर्थिक विकास सम्भव हुने कुरालाई मध्यनजर गरी यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक छ । भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन । भौतिक पूर्वाधार विकास निर्माण व्यवसाय बाट मात्र सम्भव छ । नेपालको निर्माण उद्योगलाई अझ बढी व्यवसायिक र प्रतिस्पर्धि बनाइ अन्तर्राष्ट्रिय स्तरको बनाउन निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको व्यहोरा अवगत गराउन चाहान्छु । अहिलेको अवस्थामा निर्माण व्यवसायको पेशागत विशिष्टीकरण गर्दै नेपाली निर्माण व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामी सबै मिलेर कार्य गर्नु जरुरी छ ।’
उनले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पूर्वाधार लगायतका निर्माण क्षेत्रमा गरिने खर्चलाई दीर्घकालीन रुपमा अनुमोदन गराउनका लागि, अनुमानयोग्य बनाउनका लागि साथै बजेटलाई पनि समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता छ । निर्माण व्यवसायीहरूको मौद्रिक क्षमताले मुलुकको विकास योजना मात्रै सबै सपना पूरा गर्न सम्भव नदेखिएकोले बदलिदो समय अनुसार निर्माण व्यवसायीको क्षमता अभिवृद्धि, आधुनिकीकरण, यान्त्रिकीकरणका लागि जोड दिनुपर्छ । यो व्यवसायमा पूर्ण प्रतिस्पर्धाको स्थिति सिर्जना गर्नु आवश्यक छ ।’
उनले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११ औं संशोधन गरिएको स्पष्ट पारे । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायी माथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्