Logo

पोखरामा नवौं राष्ट्रिय खेलकुद यही आर्थिक बर्षमा हुन्छः मन्त्री गहतराज

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही आर्थिक बर्षमा हुने भएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज(अथक)ले विहिबार पोखरा रंगशालाको निरिक्षण गर्दै यही आर्थिक बर्ष भित्र नवौं खेलकुद गर्नुपर्ने बाध्यता रहेकोले यही आर्थिक बर्ष भित्र नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानि पोखरामा हुने बताए ।
कर्मचारीलाई निर्देशन समेत दिँदै मन्त्री गहतराजले छिटोमा जेठ दोस्रो हप्तामा नवौं खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यता रहेको उल्लेख समेत गरे । उनले भने “स्वभाविक रुपमा हामीले नवौं खेलकुद प्रतियोगिता गर्नुपर्छ, एसियन गेमको आगामी सेप्टेम्बर अगाडी टिम तयारी गर्नुपर्ने हाम्रो अगाडि अर्को चुनौती रहेको छ ।” एसियन गेममा नेपालले प्रतिफल राम्रो ल्याउने गरी छिट्टै तयारी पार्नुपर्ने चुनौती रहेको मन्त्री गहतराजले जनाए । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट खेलाडीहरू नै छनौट गर्नुपर्ने प्राबधान भएकोले नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न सवै ध्यान केन्द्रित हुनु पर्ने उनले जनाए ।
गेमको अबस्था हेरीकन र आवश्यकताको आधारमा आफुहरूले नै कुन जिल्लामा कुन खेल त्यसको बारेमा टुंगाउने मन्त्री गहतराजले बताउनु भयो । व्यावहारिक र प्रभावकारी ढंगले के कस्तो उपाय अपनाउन सकिन्छ त्यसलाई मध्यनजर गरी सवै खेलकुदमा जुट्नुपर्ने अबस्था आएको उनले जनाए । अब खेलकुदका नियमित बैठक तथा प्रशिक्षणहरू समेत निर्वात रुपमा अघि बढाउन मन्त्री गहतराजले निर्देशन दिए । अब छिट्टै कर्मचारी समायोजन हुने उनले बताए ।
मन्त्रीको साथमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका निमिक्त सदस्य सचिव कुल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी लगायतले पोखरा रंगशालाको बारेमा मन्त्री समक्ष जानकारी गराउदै राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भए कुनै पनि समयमा सम्पन्न गर्न आफुहरू तयारी अबस्थामा रहेको दाबी गरे । रंगशालाका केही भौतिक पूर्वाधार निर्माण गर्न मन्त्री समक्ष मागसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्