Logo

नवजीवन सहकारीको चुनावमा दुई प्यानल

धनगढी – सुदूरपश्चिम प्रदेशकै ठूलो सहकारी नवजीवन सहकारी संस्थाको निर्वाचनले गर्दा कैलाली जिल्ला तरंगित भएको छ ।
शनिबार धनगढीमा हुने नवजीवनको निर्वाचनका लागि दुईवटा प्यानल तयार भएर मैदानमा आएपछि जिल्लाको निजी तथा वित्तीय क्षेत्रमा तरंग पैदा गरेको छ । संस्थाको २८ वर्षको इतिहासमा पहिलो पटक सञ्चालकहरूले प्यानलै बनाएर मैदानमा उत्रिएको यो नै पहिलो हो ।
निर्वाचन नजिकिएपछि दुबै प्यानल निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् । रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा ति प्यानलहरू प्रचार गरिरहेका छन् । अध्यक्ष पदका उम्मेदवार कठायतको प्यानलले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाउने, पुराना र अधुरा कामलाई पूर्णता दिनुका साथै सामुदायिक अस्पताल र सहकारी विद्यालय सञ्चालन गर्ने एजेण्डासहित चुनावी मैदानमा छ । अध्यक्ष पदका अर्का उम्मेदवार बमको प्यानलले नवजीवन सहकारीको विकास, सेयर सदस्यका लागि हकहित, सामाजिक क्षेत्रमा लगानी, र कर्मचारीको हकहित सहितका एजेण्डा लिएर चुनावी मैदानमा छ ।
नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन्् । संस्थाले मतदान गर्नका लागि सबै शेयर सदस्यहरूलाई सेयर सदस्य परिचयपत्र वा सरकारद्वारा जारी नागरिकता लगायतका प्रमाणपत्र लिएर मतदान गर्न आउन अनुरोध गरेको छ ।
कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन् । उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन् ।
बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्् । उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्् ।
२०५० मा स्थापना भएको नवजीवन सहकारीको शेयर पुँजि २३ करोड ८९ लाख लाख छ भने ५० करोड रुपैयाँ अधिकृत पुँजी छ । सहकारीमा निक्षेप रकम चार अर्ब २० करोड रुपैयाँ पुगेको छ भने विभिन्न क्षेत्रमा तीन अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले ९ वटा शाखा तथा सेवा केन्द्रबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्