Logo

बढ्दो बिमा पहुँच, सम्भावना र चुनौती

खासगरी विश्वव्यापीकरणको प्रभाव, सामाजिक जागरण र चेतनामा पनि भएको वृद्धि, सरकारको पनि पहलकदमी आदिले बिमा गर्नेहरू बढेका हुन् ।

पछिल्ला वर्षहरूमा नेपालमा बिमा गर्नेहरू बढ्दो छन् । कुनै समय बिमा गर्ने कुरा बडो जटिल थियो । मानिसहरूलाई बिमाबारे जति बुझाउँदा पनि बुझ्दैनथे । धेरैले बिमालाई शंकाकै नजरले हेर्थे । बिमा अभिकर्ताहरू जनमानसमा गएर बिमा गराउन नसक्दा आजित हुन्थे । हार खाएर कतिले त पेसा नै बदल्थे । तर, समयको वेगले अहिले त्यो अवस्थालाई बदल्दै छ । मानिसहरूमा बिमा चेतना बढेर गएको छ । बिमा अभिकर्ता पेसा नै आकर्षणको केन्द्र बन्न थालेको छ ।
खासगरी विश्वव्यापीकरणको प्रभाव, सामाजिक जागरण र चेतनामा पनि भएको वृद्धि, सरकारको पनि पहलकदमी आदिले बिमा गर्नेहरू बढेका हुन् । विकसित देशहरूको तुलनामा नेपालमा बिमा गर्ने धेरै कम भए पनि पछिल्ला वर्षहरूमा बिमा क्षेत्र भने विस्तार र विकसित हुँदै गएको छ । बिमा समितिको २०७८ पुस मसान्तसम्मको तथ्यांकअनुसार ३५ प्रतिशत जनसंख्यामा बिमा पहुँच पुगेको छ । २०७५ साल चैत मसान्तसम्म भने जम्मा १७ प्रतिशत जनसंख्या बिमाको पहुँच थियो । खासगरी विगत दुई वर्षयताको कोरोनाकालमा बिमा पहुँच विस्तार भएको छ । कुल गार्हस्थ्य उत्पादनमा पनि बिमा क्षेत्रको योगदान बढेर ३ प्रतिशत पुगेको छ ।
यसले रोगव्याधि र महामारीले पनि जनतामा बिमाको महत्व जगाएको आभास हुन्छ । यद्यपि बिमासम्बन्धी चेतना विस्तारित हुन नसक्नु, बिमा कम्पनीहरू सहर तथा सहरउन्मुख सुविधासम्पन्न क्षेत्रमा केन्द्रित हुनुले अझै ठूलो जनसंख्या बिमा पहुँचको बाहिर छ ।
अहिले नेपालमा बिमा समितिबाट इजाजतपत्र लिई ४१ वटा बिमा कम्पनी सञ्चालनमा छन् । करिब एक दर्जन बिमा कम्पनी इजाजतको अन्तिम पर्खाइमा छन् ।
अहिले भएका बिमा कम्पनीहरूमध्ये १९ वटा जीवन बिमा कम्पनी रहेका छन् भने २० वटा निर्जीवन बिमा कम्पनीहरू छन् । २ वटा पुनर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । यसरी पछिल्लो दशक बैंकहरूजस्तै बिमा क्षेत्रले पनि छलाङ मारेको छ । सञ्चालनमा आएका धेरै कम्पनीहरूको प्रोफाइलसमेत मजबुत देखिन्छ । दर्जनभन्दा बढी जीवन बिमा कम्पनीहरू त बैंकहरूकै प्रत्यक्ष संग्लनतामा सञ्चालित छन् ।
वास्तवमै बिमा अपरिहार्य हो । हरेक चिजको बिमा गरिनु आवश्यक देखिन्छ । अझ जीवन बिमा त अपरिहार्य नै छ । बिमा गर्दा हरेक खालका जोखिमका भारहरू बिमा कम्पनीहरूले नै बहन गर्ने कारण मान्छेका तनावहरू कम हुन्छन् । जिन्दगी नै सहज हुन्छ ।
नेपालको सन्दर्भमा वि.सं. २००४ मा निर्जीवन बिमा कम्पनीको रूपमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भयो । सोपश्चात् बिमा व्यवसायको सुरुवात भएको हो । विश्वको इतिहास हेर्ने हो भने ५ सय वर्षपहिले बेलायतबाट बिमा व्यवसायको सुरुवात भएको पढ्न पाइन्छ । नेपालमा दोस्रो बिमा कम्पनीको रूपमा भने २०२४ सालमा आएर राष्ट्रिय बिमा संस्थानको स्थापना भयो । यी दुई सरकारी तवरबाट सञ्चालित संस्थानहरूले आफ्ना गतिविधिहरू अगाडि बढाएको निकै लामो समयपछि मात्रै नेपालमा निजी क्षेत्रबाट बिमा कम्पनीहरू उदाएका हुन् । नेपालमा निजी क्षेत्रबाट पहिलो पटक २०४४ सालमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको हो ।
नेपालमा बिमा व्यवसायको सुरुवात भएको ७१ वर्ष पूरा भए पनि लामो समयसम्म उपयुक्त कानुन तथा नीति–नियम नबनेका कारण यो व्यवसाय पछाडि प¥यो । २०४६ सालको नयाँ बहुदलीय उदार व्यवस्थापछि मात्रै यस व्यवसायमा निजी क्षेत्रबाट लगानी बढ्न थाल्यो ।
यसरी नेपालमा बिमाको इतिहास भने लामो नै देखिन्छ । तर, विदेशीहरूको दाँजोमा यो व्यवसाय नेपालमा निकै नै पछाडि परेको छ । अन्यन्त्र कतिपय देशमा बिमा गर्नैपर्ने चलनहरू छन् । अझ स्वास्थ्य बिमा त अनिवार्य गराइन्छ । तर, नेपालमा त्यस्तो व्यवस्था नभएकाले पनि यो व्यवसाय पछाडि परेको देखिन्छ । यो व्यवसाय अघि बढ्न नसक्नुको अर्को मूल कारण आर्थिक हो । मानिसहरूले बिमा गर्ने भनेको बचतको अवस्थामा नै हो । बचतको लागि आम्दानीका स्रोतहरू बलियो हुनैपर्छ । देशकै अर्थतन्त्र, रोजगारीको अवस्था सबै अवयवहरू राम्रो हुँदामात्रै बिमा व्यवसाय मौलाउने हो ।
पछिल्लो दशक नेपालमा शान्ति सु–व्यवस्था कायम हुँदै गएको छ । रोजगारीका लागि बिदेसिने नेपालीहरू बढेका छन् । फलस्वरूप रेमिट्यान्स पनि बढेको छ । रेमिट्यान्सकै वृद्धि र प्रभावस्वरूप बंैक–वित्तीय क्षेत्रदेखि बिमा कम्पनीहरूसमेत मौलाएका हुन् । बैंकहरूको निक्षेप बढाउने कुरामा रेमिट्यान्सले नै अग्रणी भूमिका खेल्यो । जसका कारण उनीहरूले बढेको निक्षेप लगानी गर्न पाए । बैंकहरूकै अगुवाइमा अहिले बिमा क्षेत्रसमेत फस्टाउँदै गएको छ । बिमा क्षेत्र फस्टाउँदै जानुमा डिजिटल मिडियाको हात पनि उत्तिकै छ । मानिसहरूमा सचेतनाको वृद्धि नगरुन्जेल बिमा क्षेत्र निश्चय नै अगाडि बढ्न सक्दैन । बिमा भनेको के हो र यो किन आवश्यक छ ? भन्ने कुराको जानकारी हरेक नेपालीमा गराउन जरुरी छ ।
उनीहरूलाई उचित ढंगले जानकारी गराइने हो भने यो व्यवसायको भविष्य नेपालमा निकै उज्ज्वल देखिन्छ । बिमा गर्दा सबैले आफ्ना जोखिमका भारहरू घटाएर सन्तुष्ट जीवन बाँच्न पाउँछन् । तर, नेपालमा ग्रामीण भेगहरूको त कुरै छाडौं, सहरी क्षेत्रमै बिमाबारे यथोचित बुझाइ जनमानसमा छैन । धेरै धनाढ्य र पढेलेखेकाहरूसमेत बिमा गर्ने कार्यहरूबाट चुकेका छन् । त्यसकारण बिमा व्यवसाय बढाउन र मानिसका जोखिमका भारहरू कम गर्न बिमासम्बन्धी तालिम, प्रचारप्रसारजस्ता जनचेतनामूलक अभियान जरुरी छ ।
यद्यपि पछिल्ला केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरूबाट नै बिमाको पनि सेवा सुरु भएको हो । त्यसले अलिकति बिमाको पहुँच बढाएको हो । बंैकहरूले बिमा कम्पनीहरूसँग बैंकास्योरेन्स अर्थात् बिमा सेवा प्रदान गर्ने अधिकारसहितको सम्झौता गरेका हुन् । तर, अहिले त्यो सेवा बैंकहरूले बन्द गरेको देखिन्छ । किन बन्द भयो, त्यो एउटा अध्ययनको विषय होला । तर, बैंकहरूले प्रतिस्पर्धी रूपमा सेवाग्राहीहरूलाई प्रदान गर्ने सेवा–सुविधाहरूमा बिमालाई समेट्नुले बिमा फस्टाउन पाएको थियो ।
बिमा क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्न, यसलाई अघि बढाउन हालसम्म बिमा समितिले काम गरिरहेको छ । पछिल्लो समय कानुनमा पनि सुधार गरेर बिमा क्षेत्रलाई व्यवसायीकरण, व्यवस्थितीकरण र जनताको पहुँचमा पु¥याउन सरकार पनि लागेकै देखिन्छ ।
मूलत बिमा कम्पनीहरूको चुक्ता पुँजी कम हुनु र उनीहरूले विगतमा आफ्नो स्तर पनि बढाउन नसक्दा जनमानसमा विश्वासको वातावरण बढ्न नसकेको हो । गएकै वर्ष पनि कोरोना बिमा गरेका आधा बिमितहरू अर्थात् करिब १ लाख ५ हजार बिमितले अझै भुक्तानी पाएका छैनन् । त्यसमा बिमा कम्पनीभन्दा पनि सरकारले सम्झौता पालना नगर्दा कोरोना बिमाअन्तर्गतको १० अर्ब ५० करोड दाबी भुक्तानी बिमितले पाएका छैनन् । बिमा व्यवसायमा यस्ता घटनाले साँच्चै नै चुनौती सिर्जना गरेको छ । बिमाको साख नै गिराएको छ । यस्ता विषयउपर सरोकारवाला निकाय निकै नै संवेदनशील हुन जरुरी छ ।
पछिल्लो वर्षहरूमा सरकारी स्तरबाटै लघु बिमा, कृषि बिमा, स्वास्थ्य बिमा लगायतमा भएका पहलकदमी सार्थक देखिन्छन् । त्यसलाई अझै घनिभूत बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।
अहिले वास्तवमा नेपालीलाई पुग्ने र थेग्ने संख्यामा बिमा कम्पनीहरू खुलिसकेका छन् । सरकारले यस्ता कम्पनीहरूलाई इजाजतपत्र दिएर मात्रै हुँदैन, यस क्षेत्रलाई अझ व्यवस्थित गर्न ऐनहरू संशोधन गर्नुपर्छ । बंैकहरूलाई जस्तै बिमा व्यवसायका क्षेत्रलाई अझ व्यवस्थित गरेर विश्वासिलो र भरपर्दो बनाउन जरुरी देखिन्छ । बिमा कम्पनीहरू पुँजीगत रूपमा दरिलो हुनुपर्छ, जनशक्तिको हिसाबले पनि मजबुत हुनुपर्छ ।
बिमा गर्ने परिपाटीको विकास गर्न सकियो भने त्यसले जनताको बचतमा पनि वृद्धि हुन्छ । जनताले बिमा गर्दा उठाइएका रकमहरू विकास निर्माणका ठूला आयोजनाहरूमा लगानी हुन सक्छन् । खासगरी जीवन बिमा गर्नेहरू बढ्दा लामो अवधिको ठूला कोषहरू खडा हुन्छन् । त्यस्तो कोषको निर्धक्क लगानी बिमा कम्पनीहरूले गर्न सक्छन्, जसले बिमा कम्पनीलाई पनि र बिमा गर्ने व्यक्तिलाई पनि उत्तिकै फाइदा हुन्छ । दुवैतर्फी फाइदा हुने यस व्यवसायकै कारण राज्यको आर्थिक गतिविधि बढाउन, कर आय बढाउन, दीर्घकालीन आयोजनाहरूमा लागानीका लागि स्रोत र समग्र आर्थिक विकासमा बिमाले धेरै ठूलो भूमिका खेल्छ ।

प्रतिक्रिया दिनुहोस्