नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावी एजेन्डा

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार (आज) चुनाव हुँदै छ । नेपालका इन्जिनियरहरूको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको संगठनात्मक संरचनालाई परिमार्जन गरी नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी र प्रदेशहरूको प्रथम कार्यकारिणी समितिको केन्द्रमा १८ जना र प्रदेशमा १६ जनाका दरले (जसमा एक जना केन्द्रीय समितिका लागि सदस्यसमेत समावेश छन् ।) सातवटै प्रदेशका लागि १ सय १२ गरी कुल १३० पदाधिकारी एवं सदस्यका लागि (आज) शुक्रबार निर्वाचन हुन गइरहेको छ । देशमा अहिलेसम्म ५२ विधामा ६७ हजार इन्जिनियर उत्पादन भइसकेका छन् । देशभरका निर्वाचनका लागि देशका १४ ठाउँमा मतदान केन्द्र तोकिएको छ । ४० हजार इन्जिनियर नेपाल इन्जिनियरिङ काउन्सिलमा आबद्ध रहेका छन्, जसमा २२ हजार इन्जिनियरले नयाँ नेतृत्व चयनको निर्वाचनमा भाग लिने आकलन गरिएको छ । कार्यसमितिलगायत दोस्रो प्रदेश कार्यसमिति र नेपाल इन्जिनियरिङ परिषद् सदस्य प्रतिनिधिको आज (शुक्रबार) नै निर्वाचन हुँदैछ ।
पाँच प्यानलका अध्यक्षमा क्रमशः इन्जिनियर डा. सुरज लामिछाने, ई. दिलीपकुमार झा, ई. राजेन्द्रप्रसाद हाडा, ई. डा. हरिराम पराजुली, ई. डा. हरिबहादुर दर्लामी प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । लामिछानेको नेतृत्वमा बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन चुनावी प्रतिस्पर्धामा छ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीनिकट इन्जिनियरहरूको प्यानलले बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन बनाएको हो, जसमा उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा डा. भेषराज थापा, उपमहासचिवमा शिवराम केसी र कोषाध्यक्षमा डा. आनन्द सिंह, सहकोषाध्यक्षमा अर्जुन पौडेल उम्मेदवार रहेका छन् । कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट दर्लामीसहितकोमा उपाध्यक्ष ई. डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उपमहासचिवमा सरोज धिताल र कोषाध्यक्षमा ई. दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारी चुनावी मैदानमा रहेका छन् ।
कांग्रेस निकटबाट नै झाको नेतृत्वमा उपाध्यक्षमा ऋषि कोइराला र महासचिवमा कृष्णसिंह बस्नेत, उपमहासचिव सुधीर गुरागाईं, कोषाध्यक्ष रमिता श्रेष्ठ, सहकोषाध्यक्षमा सञ्जयकुमार महतो चुनावी मैदानमा रहेका छन् । नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालका तर्फबाट हाडाको नेतृत्वको प्यानल चुनावी हामिएको छ । उनको प्यानलमा उपाध्यक्षमा ई. सबिन महर्जन, महासचिवमा ई. रूपेस प्रजापति, उपमहासचिवमा ई. सुनिता दुवाल, कोषाध्यक्षमा ई. सुरेन्द्र राय यादव र सहकोषाध्यक्षमा ई. रविन कासुला छन् । जनता समाजवादी पार्टीनिकटको र माओवादी केन्द्र, नेकपा समाजवादी स्वतन्त्र प्रगतिशील प्रजातान्त्रिक समूहको नेतृत्वसहित एकीकृत प्रगतिशील इन्जिनियर समूहको नेतृत्व पराजुलीले गरेका छन् । उनको प्यानलमा उपाध्यक्ष आन्हसला तुलाधर, महासचिवमा ई. डा. शंकर ढकाल, उपमहासचिवमा ई. डा. समित थापा छन् । त्यस्तै कोषाध्यक्ष ई. श्यामनारायण चौधरी र सहकोषाध्यक्षमा ई. स्मिता भट्ट छन् । सबै प्यानलले सबै पदमा सदस्य तथा अन्य पदमा उम्मेदवारी दिएका छन् । शुक्रबार हुने निर्वाचनमा प्यानलका एजेन्डामा केन्द्रित भएर अध्यक्षका प्रत्याशीसँग कारोबारकर्मी दीपेन्द्र थापा गरेको कुराकानीको सार :
फरक शैलीमा काम गर्ने योजना छ
ई. डा. सुरज लामिछाने
अध्यक्षका प्रत्याशी
बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन
‘आम प्रगतिशील इन्जिनियरहरूको साझा प्रयास, नेईएको निर्वाचनमा रचौं नयाँ इतिहास’ भन्ने नारासहित हाम्रो प्रगतिशील समूह बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनको प्यानल चुनावी मैदानमा छौं । मूलतः हामी सबैको नारा एकै भए पनि हाम्रो प्यानलको काम गर्ने शैली र हाम्रो व्यावसायिक इमानदारिता फरक रहेकाले गर्दा पनि हाम्रो प्यानल अन्यभन्दा फरक छ । विगत १८ वर्षदेखि मैले इन्जिनियरिङ पेसामा अध्ययन–अध्यापन तथा परामर्शदाता भएर काम गर्दै आएको छु । मुलुकको विकास र जनताको समृद्धिका निम्ति तीव्र आर्थिक विकासको सपना साकार पार्ने राष्ट्रिय अभियानलाई सार्थक पार्न नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं कार्यकारिणीको निर्वाचनमा केन्द्रीय कार्यकारिणी समितिमा मैले प्यानलसहित अध्यक्षका लागि उम्मेदवारी दिएको छु । हाम्रो मुख्य एजेन्डा भनेको अनलाइन भोटिङ र अनलाइनमा जान चाहेका छौं । त्यो अबका दिनमा हुनलाई सोसल मिडियाबाट नै चुनावी प्रचारप्रसार गर्ने, भोट गर्न मिल्ने वातावरणको विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । प्रमुख कार्यकारी इन्जिनियर नाराका साथ अधिकतम इन्जिनियर कार्यरत रहने नेपाल सरकारका संस्था एवं संस्थानहरूमा प्रमुख कार्यकारी इन्जिनियर नै रहनेछन् । कार्यसम्पादनको पूर्ण जिम्मेवारी इन्जिनियरलाई नै दिनुपर्छ । यसका लागि नीतिगत व्यवस्थाका लागि जोडदार पहल गरिनेछ ।
श्रम ऐनको अनिवार्य कार्यान्वयन गर्दै सम्पूर्ण इन्जिनियरहरूको नयाँ श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक एवं सेवा सुविधासहित प्रत्याभूत गर्नका लागि विशेष पहल गरिनेछ । बढिरहेको इन्जिनियर बेरोजगारीको समस्यालाई सरकारसँगको समन्वयमा रोजगारीको वृद्धि गरिनेछ । करिब ६५ हजार इन्जिनियर रहेका छन् । अबको दिनमा पाँच स्थानभन्दा बढीको आयोजनामा इन्जिनियरले काम गर्न नपाउने निर्णय गर्ने गराउनका लागि लबिङ गर्नेछौं । सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई रोजगारी दिनुपर्ने व्यवस्था कायम गर्ने गरी व्यवस्थापन गर्ने योजना अगाडि सारेका छौं । हाल सञ्चालनमा रहेका इन्जिनियरिङ कलेजहरूमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न भोग्नुपरेका समस्या र मुद्दाहरूमा गम्भीर बहस चलाइनेछ । इन्जिनियरिङ क्याम्पसको बढ्दो संख्यात्मक वृद्धिलाई गुणात्मक परिणाममा परिणत गर्ने गरी पहल गर्नेछौं । इन्जिनियरिङ शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरिङ परिषद् एवं विश्वविद्यालयहरूसँग अधिकतम सहकार्य गरिनेछ । इन्जिनियरिङ स्टाप कलेज स्थापनाका लागि विगत १० वर्षदेखि लबिङ गरिरहेका छौं । यो अन्तिम चरणमा छ, यसको कार्यान्वयनका लागि काम गर्नेछौं । ‘ज्ञान नै शक्ति, श्रम नै भक्ति’, नेपाल इन्जिनियर्स एसोसिएसनको यो आदर्श वाक्यलाई स्मरण गर्दै तथा पेसागत आदर्शलाई सर्वोपरि राखेर लोकतान्त्रिक प्रक्रियाको उच्चतम अभ्यास, सर्वसम्मति र उच्चतम पेसागत आदर्शको मान्यताका साथ हामीले प्यानलसहित उम्मेदवारी प्रस्तुत गरेका हौं ।
‘नेईए सशक्त संरक्षक संस्था’ मूल नाराका साथ आम इन्जिनियरहरूको हकहितको संरक्षणका लागि नेइएलाई सशक्त संरक्षक संस्थाको रूपमा विकास गरिनेछ । ‘इन्जिनियर भवन निर्माण’ अभियान नाराका साथ नेपाल इन्जिनियर्स एसोसिएसनका हरेक प्रदेश र शाखाहरूमा आफ्नै भवन निर्माणका लागि कदम चालिनेछ । सामूहिक बिमा कार्यक्रमलाई निरन्तरता दिँदै अपरिष्कृत बनाइनेछ । नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यताप्राप्त सम्पूर्ण नयाँ इन्जिनियरिङ विधाहरू (बायोमेडिकल, एरोनटिकल आदि) ले न्यायमूलक ढंगबाट सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारका लागि विशेष पहल गरिनेछ । निजी इन्जिनियरिङ कलेजमा प्राध्यापन गरिरहेका प्राध्यापकहरूको अनुभवलाई सरकारी इन्जिनियरिङ कलेजहरूको जस्तै उचित मान्यता प्राप्त हुने व्यवस्था मिलाइनेछ । ठूला र बहुउद्देश्यीय आयोजना निर्माण गरी विभिन्न तहका इन्जिनियरहरूका लागि व्यापक रोजगारी सिर्जना गर्न र कामका लागि विदेश जानुपर्ने बाध्यतालाई निरुत्साहित गर्ने वातावरण मिलाउन सरकारसँग सुविचारित ढंगले हस्तक्षेपकारी पहल गरिनेछ । विज्ञहरूको नेतृत्वमा पूर्वाधार निर्माणका लागि विविध विषयहरूको डिजाइनलाई उच्च प्रविधिको उपयोग गरी डिजाइन अटोमेसनमा लगी सम्पूर्ण सेवाग्राहीहरूले छिटो–छरितो र सही रूपमा सेवा प्राप्त गर्ने व्यवस्थाको नेइएले नेतृत्वदायी पैरवी गर्नेछ । ‘कला–संस्कृति र सम्पदाको संरक्षण गरांै, पर्यटन पूर्वाधारहरूको विकास गरौं’ भन्ने मूल नाराका साथ नेपालमा रहेका विविध कला–संस्कृतिहरूको संरक्षण, प्रवद्र्धन गर्दै पर्यटन पूर्वाधारहरूको विकास एवं प्रचारप्रसारका लागि देशव्यापी रूपमा अभियान चलाइनेछ । इन्जिनियर कृषि अभियान सञ्चालन गरी आफ्नो जन्मगाउँ÷सहरमा अनिवार्य रूपमा प्रविधिमा आधारित कृषिमा हरेक इन्जिनियरलाई जोड्न देशव्यापी रूपमा अभियान चलाइनेछ ।
सरकारी निकायमा थप दरबन्दी कायम गर्नु पर्छ
ई. दिलीपकुमार झा
अध्यक्षका प्रत्याशी
लोकतान्त्रिक इन्जिनियर समूह
विगत २७ वर्षदेखि नेपाल इन्जिनियर्स एसोसिएसनमा लागिरहेको छु । यो लामो यात्रामा म पहिलो केन्द्रीय सदस्यमा सुरु भएर उपाध्यक्षसम्मको कार्यसमितमा रहेर काम गरिसकेको छु । यहाँको समस्या कस्तो छ, यहाँको समस्यालाई कसरी समाधान गरेर संस्थालाई अगाडि बढाउन सकिन्छ, त्यसबारेमा म जानकार भएकाले हाम्रो प्यानलले सबै लोकतान्त्रिक अग्रजहरूको साथ–सहयोग र समर्थन प्राप्त गरेको छ । पछिल्लो समय एसोसिएसनमा अन्य विद्यार्थी राजनीति बढी नै हाबी भएको छ । यसले गर्दा एसोसिएसनमा युवा इन्जिनियरहरूको आकर्षण कम भएर गएको छ ।
एसोसिएसन साझा संस्था हो । निर्वाचनमा केही राजनीतिक पक्षमा मोडिएको भए पनि व्यावसायिकतामा त्यस्तो हुनु हुँदैन, विजय भएको प्यानलले राजनीतिको अभ्यास गर्नु हुन्न भनेर नै हामीले लबिङ गरिरहेका छौं । नेपाल लोकतान्त्रिक प्यानल अन्य प्यानलभन्दा पृथक छ । हाम्रो समूहले इन्जिनिरिङ स्टाफ कलेजको स्थापनाका लागि पहल गर्नेछौं । त्यस्तै हामीले सरकारी निकायमा इन्जिनियरको दरबन्दी बढाउनका लागि सरकारसँग समन्वय गरेर काम गर्नेछौं । स्थानीय स्तरदेखि नै दरबन्दी बढाउनुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं । त्यस कारणले गर्दा यसको समाधानमा हाम्रो प्यानलले मात्र काम गर्न सक्ने अवस्था रहेको छ ।
इन्जिनियरहरूकोमा पनि सिभिल इन्जिनियरको मात्र सरकारले बढी दरबन्दी कायम गर्दै आएको छ । यसमा सुधार गरेर सबै प्रकार र विधाका इन्जिनियरहरूको दरबन्दी कायम गर्नुपर्छ भनेर हामीले आगामी दिनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छौं । बढिरहेको इन्जिनियरहरूको समस्या सम्बोधन गर्नका लागि साझा मञ्च बनाएर गुनासो सम्बोधन गर्ने, सरकारी तथा निजी क्षेत्रमा पर्याप्त रोजगारी विकास गर्ने, निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरूलाई उद्यमशील बनाएर सरकारको नीति निर्माण तथा निर्माण हुने आयोजनामा सहयोग पु¥याउने गरी काम गर्नेछौं । इन्जिनियरहरूले निजी क्षेत्रमा कम तलबमा काम गर्नुपर्ने बाध्यता रहेको छ । यसको सुधारका लागि हामीले कमसेकम सरकारी सुविधासरह तलब प्रदान गरिनुपर्छ भनेर माग अगाडि सार्नेछौं । इन्जिनियरहरूका समस्या धेरै छन् ।
एसोसिएसनका सबै काम अबका दिनमा अनलाइनबाट
ई. डा. हरिराम पराजुली
अध्यक्षका प्रत्याशी
एकीकृत प्रगतिशील इन्जिनियर संघ
नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियरिङ एसोसिएसन नेपाल, नेपाल इन्जिनियर समाज र स्वतन्त्र प्रगतिशील प्रजातान्त्रिक समूहसहितको बृहत् छलफलबाट हाम्रो प्यानल तयार भएको हो । हामीले सबै तहमा प्यानल बनाएर सबै पदमा उम्मेदवार उठाएका छौं ।
नेइएलाई जीवन्त राख्न इन्जिनियरिङ पेसालाई सक्षम, मर्यादित र सम्मानजनक बनाई अघि बढाउने प्रणका साथ यस एकीकृत प्रगतिशील इन्जिनियर समूहले सबै विधाका इन्जिनियरहरू समेटी समावेशी उम्मेदवारहरूको सशक्त समूह प्रस्तुत गरेको छ । हाम्रो प्यानल अन्यभन्दा किन बलियो छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेका हिसाबले विविध क्षेत्रका इन्जिनियरहरू हाम्रो प्यानलमा हुनुहुन्छ । ६ जना पीएचडी होल्डर, विगतमा लामो समय सरकारी तथा निजी क्षेत्रमा रहेर काम गर्नुभएका अनुभवप्राप्त इन्जिनियरहरू हाम्रो प्यानलमा रहनुभएको छ । हामी नेपाल सरकारको प्रविधिक क्षेत्रका कार्यालयहरूमा नेतृत्वदायी भूमिकामा इन्जिनियरहरू नै हुनुपर्ने पहल गर्नेछौं । योग्यताका आधारमा स्थानीय तहदेखि संघसम्म तहगत असमानता यसमा समानता हुनुपर्छ । पेसागत सुरक्षाको अनुभूति दिने गरी सरकारले नीतिगत तहमा नै परिवर्तन गर्ने गरी हामी पहल गर्नेछौं । उमेरका आधारमा प्रोफेसनल इन्जिनियरको प्रमाणपत्र वितरण गरिँदै आएको छ । तर, यसमा अनुभव र विधागत छुट्ट्याएर अनुभवका आधारमा प्रोफेसनल इन्जिनियरको सर्टिफिकेट प्रदान गर्नुपर्छ । नेपाल इन्जिनियरिङ काउन्सिलको सदस्यताका लागि परीक्षा लिने व्यवस्था तत्काल लागू गर्ने इन्जिनियरिङ शिक्षामा गुणस्तर तथा एकरूपता कायम गर्न सिंगल इन्ट्रान्स सिस्टमबाट कलेजहरूमा भर्ना गर्ने व्यवस्था मिलाउनेछौं । इन्जिनियरिङ शिक्षामा निजी कलेजहरूको शुल्क तथा गुणस्तर निर्धारण तथा अनुगमन गर्ने निकायलाई दबाब दिनुका साथै आवश्यक सहयोग पनि गर्नेछौं । नेईए उम्मेदवारीको सम्बन्धमा कायम गरिएको विभेदकारी उमेर हद खारेज गरी सम्पूर्ण नेइएका सदस्यहरूले उम्मेदवारी पाउने अधिकार पुनः स्थापित गरिनेछ । अबको दिनमा सबै निर्वाचनको काम र भोटिङ अनलाइन सिस्टमको माध्यमबाट घरबाट नै भोटिङ गर्नेसहितका कार्यक्रममा सहभागिता जनाउन सक्ने सिस्टम विकास गर्नेछौं । नेपाल सरकारका निकायहरूमा इन्जिनियरहरूको भूमिका बढाउनका लागि स्थानीय निकायहरूमा कम्तीमा तीन जना इन्जिनियरको दरबन्दी स्थापना गर्न पहल गर्ने । यसले गर्दा प्राविधिक रूपमा हुने त्रुटिका समस्या कम हुनेछ । राजनीतिक रूपमा भन्दा इन्जिनियरहरूको दक्ष व्यावसायिक संस्था बनाउनुपर्छ भनेर हामी चुनावमा आएका छौं । हाम्रो देशमा पनि राष्ट्रको समग्र विकासमा इन्जिनियरहरूको केन्द्रीय स्तरको भूमिका हुन जरुरी छ । नवोदित इन्जिनियरहरूका लागि रोजगार प्रवद्र्धन डेस्क स्थापना गर्ने । सबै इन्जिनियरहरूलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा अब प्लेसमेन्टका लागि पहल गर्ने । इन्जिनियरहरूको वृत्ति विकासका लागि इन्जिनियरिङ प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने । वार्षिक बजेटको पूर्वाधार विकासमा हुने खर्च समयमा नै खर्च हुने वातावरणका लागि इन्जिनियरहरूलाई तालिम दिई क्षमता अभिवृद्धिको व्यवस्था मिलाउन पहल गर्ने । नेइएअन्तर्गत एक बृहत् तथा एकीकृत इन्जिनियरिङ परिषद् स्थापना गरी आवधिक सभा आयोजना गर्नेछौं । स्वदेश तथा विदेशमा छरिएर रहनुहुने इन्जिनियर सदस्यहरूलाई नेइए र यसका गतिविधिसँग प्रत्यक्ष जोड्ने संयन्त्र विकास गर्नेछौं । साथै, नेईए निर्वाचनमा अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइनेछ । अन्तर्राष्ट्रिय स्तरका नेपाली परामर्शदाताहरूलाई नेपालमा काम गरी राष्ट्र निर्माणमा योगदान गर्न सकारात्मक वातावरणका लागि पहल गर्नेछौं । इन्जिनियरिङ अध्ययन समाप्त गरेपछि रोजगारी नपाउँदासम्मका पहिलो महिना बेरोजगार भत्ता÷ इन्टर्नसिप उपलब्ध गराउने व्यवस्था गराउनेछौं । इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी पारिश्रमिकमा एकरूपता कायम गर्ने साथै निजी, गैरसरकारी संस्थाहरू, परामर्शदाता कम्पनीहरू, निर्माण कम्पनीहरूमा समेत अनिवार्य सञ्चयकोष तथा बिमाको व्यवस्था गराउनेछौं ।
साझा र व्यावसायिक संस्थाको विकास गर्नेछौं
ई. राजेन्द्रप्रसाद हाडा
अध्यक्षका प्रत्याशी
इन्जिनियर समाज नेपाल
स्वदेशी इन्जिनियरहरूको नेतृत्वमा देशको पूर्वाधार निर्माणलाई अगाडि बढाउन पहल गर्नेछौं । ठूला परियोजनाहरूको व्यवस्थित अध्ययन गर्ने र ढिलासुस्ती एवं अनियमितता गर्नेहरूलाई समयमै जानकारी गराई दोषीमाथि कारबाही गराउन पहल गर्ने । मानव जातिको साझा हितसँग जोडिएको छिमेकी देश मित्रराष्ट्र चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसेभ अवधारणालाई नेपालको आर्थिक एवं प्राविधिक विकाससँग जोड्न पहल गर्ने । नेपाललाई अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको नवउपनिवेश बनाउने इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको एमसीसी सम्झौता खारेजीको संघर्षमा सम्पूर्ण देशभक्त इन्जिनियरहरूलाई संगठित गर्ने । स्वदेशी लगानीमै ठूला जलाशययुक्त जलविद्युत् तथा ट्रान्समिसन लाइनहरूको निर्माणलाई जोड दिने एवं उत्पादित बिजुली स्वदेशी उद्योग, यातायातका साधन र घरायसी उपयोगमा वितरण गरी इन्धन आयातमा भइरहेको व्यापारघाटा न्यून गर्न जोड दिने । बिजुलीबाट चल्ने सवारी साधनहरूको आयातमा करछुट एवं विशेष अनुदान दिन र सडक सञ्जालहरूलाई बिजुलीबाट चल्ने सवारी साधनमैत्री बनाउन जोड दिने । एकीकृत बस्तीहरूमार्फत देशको सन्तुलित विकास गर्ने तथा देशको भौगोलिक अवस्थाअनुसार सुरुङमार्ग तथा केबलकारहरूको निर्माणमा जोड दिने । सार्वजनिक संस्थानहरूलाई विज्ञान, सूचना प्रविधि तथा पूर्वाधारहरूको विकासमा खोज तथा अनुसन्धानमूलक कार्य गर्न जोड दिने । जलवायु परिवर्तनको असर, वातावरणीय प्रभावको मूल्याङ्कन तथा प्राकृतिक सम्पदा र पुरातात्विक महत्वका बस्ती र सम्पदाहरूको संरक्षणलाई ध्यानमा राखी दिगो विकासका लागि हरित विकाससम्बन्धी अभियानहरू सञ्चालन गर्ने । व्यवस्थित सहरीकरण र बस्ती विकासका लागि व्यवस्थित भू–उपयोग नीति बनाई प्रत्येक स्थानीय तहमा योजना कार्यान्वयन गराउन पहल गर्ने । ऐतिहासिक सम्पदाहरूको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणमा मौलिक प्रविधि कायम राख्न जोड दिने । डिजिटल नेपाल तथा ई–गभर्नेन्सको अवधारणालाई साकार पार्न निजामती सेवातर्फ सूचना प्रविधि क्षेत्रमा कार्यरत इन्जिनियर तथा प्राविधिकहरूको छुट्टै सेवा समूह गठन तथा नियमित वृत्ति विकासका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने । विभिन्न इन्जिनियरिङ क्षेत्र, सूचना प्रविधि तथा परामर्श क्षेत्रमा कार्य गर्दा स्ट्यान्डर्ड कोड अभाव भई काममा कठिनता हटाउनलाई सम्बन्धित मन्त्रालय, विभागहरूलाई ध्यानाकर्षण गराउने । उपभोक्ता समितिबाट हुने काममा उपभोक्ता समितिका प्राविधिकहरूलाई विज्ञका रूपमा निर्माणकार्य अवधिभर अनुगमन तथा अन्य जिम्मेवारी दिने व्यवस्था गर्न जोड दिने ।
नेपाल इन्जिनियर्स एसोसिएसनको वर्तमान संरचनाले आफ्नो विश्वसनीयता गुमाउँदै गएको हुँदा पुनर्संरचना र सुदृढीकरण गर्ने । कार्यक्षेत्रमा आउने विभिन्न समस्याहरूको सुनुवाइ एवं पेसागत मर्यादाप्रति अडिग रहन इन्जिनियरहरूलाई मनोबल बढ्ने गरी गुनासो सुनवाई तथा सहयोगका लागि इन्जिनियर्स हेल्पलाइन सञ्चालन गर्ने । निजी तथा सरकारी संस्थामा कार्यरत इन्जिनियरहरूलाई प्रत्येक वर्ष अनिवार्य रूपमा विषयगत तथा वृत्ति विकासका लागि विभिन्न तालिम, कार्यशालाहरूको व्यवस्था सम्बन्धित संस्थामार्फत गराउने व्यवस्थामा जोड दिने । विभिन्न नगरपालिकाहरूमा इन्जिनियर तथा आर्किटेक्टहरूलाई काम गर्न दोहोरो दर्ता गर्नुपर्ने बाध्यता हटाउन पहल गर्ने । इन्जिनियरहरूको पेसागत मर्यादालाई उच्च समान दिलाउन भ्रष्ट इन्जिनियरहरूका एसोसिएसनको सदस्यता खारेज गर्ने । इन्जिनियरहरूको व्यक्तित्व विकास तथा सीप अभिवृद्धिका लागि इन्जिनियर भवनलाई देशकै प्राज्ञिक जनशक्तिको केन्द्रका रूपमा विकास गर्ने । इन्जिनियरिङ शिक्षामा भइरहेको अराजकता र मनोमानी शुल्क निर्धारण रोक्ने तथा उत्पादन श्रमसित जोडिएको आधुनिक इन्जिनियरिङ शिक्षाका लागि विश्वविद्यालयलाई खोज तथा अनुसन्धानमूलक कार्यमा थप बजेट व्यवस्थापन गराउन पहल गर्ने । इन्जिनियरिङ परिषद्मा सबै विश्वविद्यालयहरूबाट प्रतिनिधित्व हुने व्यवस्था गर्न पहल गर्ने । इन्जिनियरिङ कलेजको गुणस्तरीयता, भौतिक पूर्वाधारलगायतको अनुगमनका लागि सम्बन्धित विश्वविद्यालय, परिषद् र विश्वविद्यालय अनुदान आयोग सम्मिलित संयुक्त अनुगमन गर्ने प्रक्रियालाई अगाडि बढाउन नीतिगत पहल गर्ने ।
इन्जिनियरको पेसागत सुरक्षामा जोड दिनेछौं
हरिबहादुर दर्लामी
अध्यक्षका प्रत्याशी
लोकतान्त्रिक समूह (सिडीइन)
इजिनियरको पेसा र हकहितका लागि हामी काम गर्नेछौं । इन्जिनियरहरूको अनुभवको फाइदा लिन नीति निर्माण तथा परियोजना तहमा सल्लाहकारको रूपमा सेवानिवृत्त तथा वरिष्ठ इन्जिनियरहरूलाई उपयोग गर्ने व्यवस्था गर्ने डिजिटल इकोनोमीका सन्दर्भमा यसका चुनौतीहरू पहिल्याउँदै कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग संवाद, छलफल गर्ने साथै यसका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि पहल गर्ने । सबै प्रदेशमा प्रादेशिक इन्जिनियरिङसम्बन्धी गोष्ठी, सेमिनार सम्मेलन आदिको आयोजन गर्ने, साथै स्थानीय तहमा कार्यरत इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि नेईएका प्रादेशिक समितिहरूसँगको समन्वयमा प्रादेशिक प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने । राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन तथा मूल्याइन कार्यमा नेइएको प्रतिनिधित्वका लागि पहल गर्ने । वातावरणीय संरक्षण, जनस्वास्थ्य तथा विपद् जोखिम व्यवस्थापनजस्ता आम सरोकारका विषयमा कार्यक्रम सञ्चालन गर्ने । सबै सरकारी तहमा इन्जिनियरिङसँग सम्बन्धित दरबन्दीलाई पुनरावलोकन गर्दै वस्तुपरक बनाउन व्यवस्था गर्ने । हरित प्रविधि, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताजस्ता विषयहरूलाई नीति निर्माणका तहमा उच्च प्राथमिकतामा राखी दिगो विकासमा लक्ष्यहरू प्राप्तिका लागि पहल गर्ने । नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई सार्वजनिक तथा निजी सेवाप्रदायक संस्थाबाट विशेष सहुलियत प्राप्त गर्ने व्यवस्था गर्ने । प्रदेश तथा स्थानीय तहमा समायोजन भएका इन्जिनियरहरूको वृत्तिविकासका लागि आवश्यक पहल गर्ने । इन्जिनियरहरूका बीच बृहत् छलफल गरी नेइएको अल्पकालीन तथा दीर्घकालीन कार्ययोजनाहरू निर्माण गर्ने । कानुनी सेल निर्माण गरी इन्जिनियरहरूको व्यावसायिक जीवनमा आइपर्ने कानुनी समस्याहरूको समाधान गर्न आवश्यक पहल गर्ने, साथै पर्याप्त अनुसन्धान नभइसकेका कतिपय विषयहरूमा भएका त्रुटिलाई लिएर इन्जिनियर तथा इन्जिनियरिङ संस्थाहरूले बेहोरिरहेको कानुनी जटिलता सन्दर्भमा त्यसको सहजीकरणका लागि आवश्यक पहल गर्ने, साथै यस्ता विषयमा हुने अनुसन्धानमा इन्जिनियरिङ परिषद्मार्फत इन्जिनियरको प्रतिनिधित्व सुनिश्चित गर्न इन्जिनियरिङ परिषद् ऐनमा परिमार्जन गर्न पहल गर्ने ।
आर्किटेक्टहरूको छुट्टै काउन्सिल स्थापनाको मागलाई सम्बोधन गराउन आवश्यक पहल गर्ने । इन्जिनियरिङ पेसाको मर्यादा, अनुशासन तथा दायित्व निर्वाहका सम्बन्धमा देखिएका विसंगत क्रियाकलापहरूप्रति साथै इन्जिनियरिङ परिषद्मार्फत प्रभावकारी अनुगमनका लागि पहल गर्ने । सार्वजनिक संरचनाहरूको निर्माणको सन्दर्भमा प्रतिस्पर्धामार्फत डिजाइन छनोट विधिलाई प्रोत्साहन गर्ने । इन्जिनियरिङ पेसामा आचारसंहिता, यसको मर्यादा र गुणस्तरको अभिवृद्धि गर्न नेपाल इन्जिनियरिङ परिषद्सँग रहेको सहकार्यलाई निरन्तरता दिने । इन्जिनियरिङ शिक्षा प्रदायक संस्थाहरूको बीचमा समन्वय गरी एकरूपताको स्थापना गर्ने इन्जिनियरिङ स्नातकोत्तर अध्यापन हुने शिक्षण संस्थाहरूमा अनिवार्य छात्रवृत्तिको व्यवस्था लागि पहल गर्ने । इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीलाई भर्ना भएको आधारमा सहुलियत ऋण उपलब्ध गराउन सहजकर्ताको भूमिका निर्वाह गर्ने । इन्जिनियर-आर्किटेक्टहरूको आफ्नो क्षेत्रमा सीप तथा क्षमता वृद्धि अद्यावधिक गर्न रिफ्रेसर कोर्स, प्रोफेसनल ट्रेनिङ नियमित रूपमा केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा प्रभावकारिताका साथ सञ्चालन गर्ने । दीर्घकालीन रूपमा आवश्यक हुने यस्ता अनवरत तालिमहरूका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापनार्थ निर्णायक पहल गर्ने । निजी क्षेत्रमा कार्यरत इन्जिनियर-आर्किटेक्टहरूलाई न्यूनतम सरकारी स्केलसरहको तलब प्राप्त गराउनुका साथै वृत्तिविकास तथा क्षमताको विकास गर्ने । बेरोजगार इन्जिनियरहरूको समस्यालाई सम्बोधन गर्न नेइएभित्र रोजगारी सूचना आदानप्रदान केन्द्र स्थापना गर्ने ।