Logo

‘सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि’

वीरगन्ज-प्रधामन्त्री शेरबहादुर देउवाले सरकारको मुख्य प्राथमिकता विकास र आर्थिक समृद्धि भएको बताएका छन् । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक विकासलाई तीव्रता दिन चाहेको र निजी क्षेत्रमैत्री नीति तथा कानुन बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन प्रयत्नशील रहेको उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहीबार वीरगन्जमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, “कोभिड–१९ को महामारीका कारण उद्योग व्यवसाय खासगरी लघु, घरेलु तथा साना उद्योगहरुमा परेको व्यापक प्रभाव न्यूनीकरण गरी पुनरुत्थानका लागि सरकारले थप राहत र छुटका कार्यक्रम कार्यान्वयन गर्ने विश्वास दिलाउन चाहन्छु ।”
विश्व बजारमा नयाँ अवसरहरु देखा परेको अवस्थामा सूचना–प्रविधि लगायतका सेवा क्षेत्रको प्रवद्र्धन समेत घरेलु तथा साना उद्योग क्षेत्रबाट भइरहेको भन्दै उनले यसबाट लाभ उठाउन आह्वान पनि गरे । सरकारले घरेलु तथा साना उद्योगको विकासका लागि ऋण सहुलियत सुविधाहरुको व्यावस्था गरेको, कृषिजन्य उद्योगहरुको लागि सरकारले विभिन्न योजनाहरु ल्याएको बताउँदै प्रधानमन्त्री देउवाले सहुलियतको समुचित उपयोग गरी घरेलु तथा साना उद्योग क्षेत्रको दिगो विकासमा जुट्न सबै उद्यमी व्यवसायीहरुलाई अनुरोध गरे । उनले भने, “लघु घरेलु तथा साना उद्योगहरुमा देखिएका चुनौती समाधान गर्न सरकार तत्पर छ । निजी क्षेत्रको समेत सुझाव लिएर अघि बढ्न सरकार तयार छ ।”
महिलाहरुको आत्मनिर्भरताले आर्थिक र सामाजिक दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकोले महिला उद्यमशिलतामा सरकार सचेत रहेको र यसका लागि सरकारले विशेष योजनाबद्ध कार्यको थालनी गर्ने उनले बताए । यसमा सरकारलाई सुझाव दिन घरेलु तथा साना उद्योग महासंघको महिला उद्यम समिति र महासंघलाई देउवाले अनुरोध गरे । उद्योग व्यवसाय स्थापना र सञ्चालन सम्बन्धी कानुनी प्रक्रियालाई थप सरल पारदर्शी बनाउँदै मुलुकमा लगानीमैत्री वातावरण निर्माण सरकारले प्राथमिकता दिने देउवाको भनाइ थियो ।
निजी क्षेत्रको छाता संगठनबाट प्राप्त नीतिगत सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएका कार्यक्रमहरुबाट मुलुकमा औद्योगिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।
उद्यमशिलताको संस्कृतिलाई युवाबीच संस्थागत गरी मुलुकलाई समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार तथा स्तरोन्नति गर्न आवश्यक रहेको उनको भनाइ थियो । बदलिँदो परिवेशअनुकूल हुनेगरी उद्योग व्यवसायलाई गुणस्तरीय सेवासुविधा दिई दिगो औद्योगिक विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताए । दुईसम्म चल्ने घरेलु तथा साना उद्योग व्यवसायी महासंघ राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय महिला उद्यमी सम्मेलनले घरेलु तथा साना उद्योग व्यवसायीहरुलाई परेका साझा समस्या सम्बोधनका लागि सरकारलाई दबाब दिने गरी घोषणपत्र जारी गर्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्