सुपारी, केराउ र मरिचको आयात खुला

सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरेर आयात खुला गरेको हो ।
यी वस्तुको आयातमा चैत २०७६ देखि प्रतिबन्ध लगाइएको थियो । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले नै आयात गर्न पाउने गरी आयात खुला गरिएको राजपत्रमा उल्लेख छ । रापजत्रमा प्रकाशित सूचनामा कुन वस्तुको आयात कति परिमाणमा हुने भन्नेबारे प्रष्ट रुपमा केही खुलाइएको छैन । उद्योगहरुले आयात अनुमतिका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिन सक्नेछन् । इन्डोनेसिया, मलेसिया, क्यानडालगायत मुलुकबाट आयात हुने सुपारी र केराउ नेपालबाट तस्करी भएर भारतीय बजार पुग्ने भन्दै आयात खुला नगर्न अर्थविद्हरुले सरकारलाई सुझाव दिएका थिए ।
यस्तै, किसानले पनि स्वदेशी उत्पादनले बजार नपाउने भन्दै सुपारी लगायतका वस्तु आयात नगर्न सरकारलाई दबाब दिँदै आएका थिए । विदेशी मुद्राको सञ्चिति घटेर दैनिक उपभोग्य वस्तुको समेत आयात नियन्त्रण भइरहेका बेला सरकारले तस्करी भएर भारत जाने सुपारी, केराउ, मरिच र छोकडाको आयात खुला गरेको हो ।
निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार प्रतिबन्धित बस्तुको आयात खुला गरिएको जनाइएको छ । यी सामग्री उद्योग विभागको सिफारिसमा उद्योगले औद्योगिक प्रयोजनका लागि ल्याउन सक्नेछन् । उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको कार्यविधि पन्छाएर अर्को बाटोबाट निर्णय गरिएको बताइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी आयात खुलाउन एक कार्यविधि तयार गरेको थियो। सो कार्यविधि १ महिना अगावै मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि सार्वजनिक गरिएको थिएन । कार्यविधि अनुसार आयात भएको सुपारी तथा केराउ भारत निर्यात गर्न नपाइने व्यवस्था गरिएको छ ।