सोचेअनुसार राजस्व नउठेकोमा सरकार चिन्तित «

सोचेअनुसार राजस्व नउठेकोमा सरकार चिन्तित

सरकारले चालू आर्थिक वर्षको ६ महिनामा सोचेअनुसारको राजस्व संकलन नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । अर्थतन्त्र र ब्यापारको आकार बढेसँगै उपभोग पनि बढेको तर सो अनुरूप राजस्व संकलनमा बढोत्तरी हुन नसकेको भन्दै अहिले देखिएको ट्याक्स ग्यापको खोजी गर्नुपर्ने बताएको हो । उसले उद्योगगत रूपमा आयातित वस्तुमा तिरेको मूल्य अभिवृद्धि कर र उद्योगको उत्पादन बिक्रीमा तिरेको मूल्य अभिवृद्धि करको ग्यापको खोजी गर्नुपर्ने, पूँजी बजारमा सेयर कारोबार एवम् घर जग्गाको कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर गणना गर्ने भएको छ । राजस्व असुलीको अवस्थाको आन्तरिक राजस्व विभागबाट छानबिन गर्नुपर्ने, भन्सारतर्फ पैठारी बढ्दा पनि केही वस्तुको भन्सार महशुल बढ्न नसक्नुको कारणको खोजी गर्न पनि अर्थ मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले बढ्दो राजस्व छुटको प्रवृत्तिले राजस्व संकलनमा कमी आएको भन्दै राजस्व छुटलाई निरुत्साहित गर्नुपर्ने, मुलुकको अर्थतन्त्र एवम् उपभोगमा भएको बढोत्तरीको तथ्यांक विश्लेषण गरी सो अनुरूप राजस्व वृद्धि गर्ने रणनीति बनाइ अघि बढ्नुपर्ने बताए । “कर प्रशासनको दक्षता भनेकै राजस्व भएकाले लक्ष्यअनुरूप राजस्व असुली हुने गरी दक्षता र नैतिकताका साथ कार्य सम्पादन गर्न जरुरी देखिएको छ,” उनले भने । अर्थ मन्त्रालयले बुधबार गरेको चालु आर्थिक वर्षको राजस्वको समीक्षा बैठकमा ढुंगानाले चालु आर्थिक वर्षको प्रथम ६ महिनाका लागि तोकिएको राजस्व संकलनको लक्ष्य हासिल भएकोमा भने सबैप्रति आभार प्रकट गरे । “चालू आर्थिक वर्षको ६ महिनामा हामीले राखेको राजस्वको लक्ष्य पूरा भएको छ,” उनले भने, “यसले हाम्रो कर प्रशासनको शाख जोगिएको छ ।” उनले आगामी दिनमा दक्षता एवम् नतिजामूखी कार्य सम्पादन गरी लक्ष्य प्राप्ति गर्न निर्देशन दिए । २०७४-७५ को राजस्व प्रगतिको अर्धबार्षिक समीक्षामा अर्थ सचिव शंकरप्रसाद अधिकारीले समयानुकूल पृथक कार्यशैली, कार्य व्यवहार र क्रियाशीलताका साथ कार्यसम्पादन गरी राजस्व असुलीको लक्ष्य प्राप्तिमा प्रतिबद्ध भएर लाग्न निर्देशन दिए । “भन्सारतर्फ वस्तु वर्गीकरण र मूल्यांकनलाई यथार्थपरक बनाउन र तस्करी एवम् चोरी पैठारी नियन्त्रण गर्नतर्फ कर्मचारीहरू जिम्मेबार हुनुपर्छ,” उनले भने । “राजस्व अनुसन्धानतर्फ सूचनामा आधारित अनुसन्धानलाई उपलब्धिमूलक बनाउन उच्च चाहना र दृढ इच्छाशक्तिका साथ लागि पर्नुस्” आफू मातहतका कमचारीलाई निर्देशन दिँदै उनले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. चिन्तामणि सिवाकोटीले विद्यमान ट्याक्स ग्यापका क्षेत्रको पहिचान गरी करको दायरा बढाउनुपर्ने, हुन्डी कारोबार नियन्त्रण गर्नुपर्ने, आयात वृद्धिको तुलनामा भन्सार महशुल एवम् अन्य कर बढ्न नसक्नुको कारणको खोजी गर्नुपर्ने बताए ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो कर्तव्यलाई केन्द्रविन्दूमा राखेर उच्च नैतिकताका साथ प्रभावकारी रूपमा कार्यसम्पादन गरी चालू आर्थिक वर्षका लागि तोकिएको राजस्वको लक्ष्यभन्दा कम्तिमा २० प्रतिशत बढी असुली गर्ने गरी क्रियाशील हुन निर्देशन दिए । अर्थराज्यमन्त्री उदयशमशेर राणाले मुलुकको खर्चको आवश्यकता र माग बढिरहेको सन्दर्भमा अपेक्षित लक्ष्य हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलगायतका प्रतिनिधी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्