Logo

सन्दर्भ : विश्व मृगौला दिवस

मृगौला प्रत्यारोपणपछि पनि सामान्य जीवन सम्भव

पछिल्लो समय विभिन्न कारणले गर्दा मृगौला बिरामीको संख्या बढ्दो छ । हामीहरू थाहै नपाई मृगौला रोगको सिकार बन्न सकिन्छ । मृगौलाले काम गर्न छाडेपछि मात्रै यो रोग लागेको थाहा हुन्छ । मृगौला जोगाउन व्यक्ति आफैं सचेत हुनुपर्छ । मृगौलाका विषयमा धेरै भ्रम पनि छन् । प्रत्यारोपण गरे पनि धेरै बाँच्दैनन्, विवाह गरे राम्रो हुन्न, काम गर्न सकिन्न, छोराछोरी हुँदैनन् भन्ने भ्रम छ । यस्ता भ्रमलाई चिर्न मृगौला प्रत्यारोपण गरेर सामान्य नागरिकसरह दैनिकी सञ्चालन गर्दै आएका भैरहवाका केही पात्रसँग कारोबारकर्मी मनोरञ्जन शर्माले विश्व मृगौला दिवसको सन्दर्भमा गरेको कुराकानीको सार :

निःशुल्क औषधिको व्यवस्था हुनुपर्छ
आयुषा पाण्डे
कम्प्युटर अपरेटर
संघीय आयोजना कार्यान्वयन इकाई, रूपन्देही

मेरो आमा (तिलकुमारी गैरे पाण्डे) ले मलाई मृगौला दिएर दोस्रो जीवन दिनुभएको हो । गत असार २९ गते मेरो प्रत्यारोपण भएको हो । अहिले आठ महिना पुगिसकेको छ मेरो प्रत्यारोपणको । म अहिले सामान्य अवस्थामा आइसकेकी छु । संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देही, भैरहवामा कम्प्युटर अपरेटर पद (करार)मा कार्यरत छु । प्रत्यारोपणको दुई महिनामा कार्यालयमा पुगेर काम गर्ने भइसकेकी थिएँ । सामान्य जीवन भइसकेको छ मेरो । अझै पनि प्रत्यारोपण गरेकालाई बिरामीकै रूपमा हेर्ने गलत धारणा छ समाजमा, यो परिवर्तन हुनु जरुरी छ । प्रत्यारोपणपछि म सामान्य अवस्थामा आइसकें । म नियमित काम मज्जाले गर्छु । नियमित हिँडडुल गर्छु । मास्टर्समा भर्ना हुँदाहँुदै बिरामी परेपछि अपुरो रहेको पढाइमा ध्यान दिएकी छु । लोकसेवा दिने सोच बनाएकी छु । प्रत्यारोपणपछि जीवन लामो हुँदैन, स्वास्थ्य अवस्था राम्रो हुँदैन, काम गर्न सक्दैनन् भन्ने सबै भ्रम मात्रै हो । प्रत्यारोपण गरेपछि सफल जीवन जिएकाहरू मजस्तै यहीं वरपर कति हुनुहुन्छ, उदाहरणका लागि । हो, त्यति मात्र हो कि प्रत्यारोपणपछि नियमित औषधि जीवनभर सेवन गर्नुपर्छ र नियमित रूपमा चिकित्सकको परामर्शमा रहनुपर्छ । अरू सबै सामान्यजस्तै हो ।
२०७५ साल कात्तिकतिर स्वास्थ्यमा सामान्य समस्या आउँदा परीक्षण गर्न चिकित्सककहाँ पुगेकी थिएँ । चिकित्सकले भिडिओ एक्सरे गर्न भने । त्यही क्रममा रिपोर्टमा मृगौला बिग्रेको छ भने । विश्वास नै लागेन मलाई । पछि मंसिरमा काठमाडांै शिक्षण अस्पतालमा गएर परीक्षण गर्दा पनि त्यही रिपोर्ट आयो । औषधि सेवनले सन्चो हुन सक्छ भनेर चिकित्सकले नआत्तिन सुझाव दिनुहुन्थ्यो । सुरुसुरुमा एकदम निराश थिएँ । अब के होला; घरपरिवार, जागिर, साथीसंगीबाट टाढा हुने त होइन भन्ने निराशावादी सोच आउँथ्यो । सुरुमा त एकदम अत्तालिएकी थिएँ । यस्तै रहेछ जीवन, भगवानले पनि के गर्दा रहेछन्, भाग्यमा यही लेखेको भनेर चित्त बुझाउँदै बस्थे । तर पछि विस्तारै उपचार, परीक्षणका क्रममा रहँदा मृगौलाको बिरामी भई उपचारपछि नयाँ जीवन पाउनुभएकाहरू धेरै भेटेपछि धेरै आत्मविश्वास बलियो बनाउँदै लगें मनलाई । क्रिटिनिन बढेपछि डाइलासिस वा प्रत्यारोपणको विकल्प भएन । बीचमा कोरोनाका कारण उपचारमा धेरै समस्या रह्यो भने आर्थिक समस्या छँदै थियो । तर, म कति पनि हिम्मत हारिनँ । सहयोगी संस्थाहरूले सहयोग गर्न थालेपछि हिम्मत अझ बढेर गयो । उच्च हौसला भयो । तपार्इंहरूको सहयोग र माया प्रेमले मलाई धेरै हिम्मत दिएको छ । जस्तोसुकै भए पनि आत्मविश्वास गुमाउँनु हुँदैन, भन्छु म । आत्मविश्वास नै ठूलो कुरा हो ।
मृगौलाका बिरामी जो पनि हुन सक्छन् । त्यसैले यो वर्ग, त्यो वर्ग, यो उमेर त्यो उमेर भनेर नबसौं, कम्तीमा वर्षको एकपटक मृगौला परीक्षण गरौं, जनचेतना फैलाऔं । आफ्नो मृगौलाको सुरक्षा आफैं गरौँ । बचौं र बचाऔं ।
मृगौला बिरामीका लागि सरकारले निःशुल्क डाइलासिस साथै सरकारी अस्पतालमा प्रत्यारोपण गरे पाँच लाख रुपैयाँ उपचारमा सहयोग गर्ने व्यवस्था गरेको छ । यो निकै राम्रो कुरा हो । खास गरी काठमाडौँ बाहिर बस्नेहरूलाई उपचारका क्रममा बारम्बार काठमाडौं गइरहन पर्ने र गैरजिल्लाको डाइलासिस काठमाडौंमा निःशुल्क नहुने हुँदा आर्थिक भार बढी छ । त्यसैले जहाँ गरे पनि निःशुल्क डाइलासिस गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ । साथै सरकारले विभिन्न नीति ल्याई सहयोग गर्ने भन्छ । गत वर्ष पनि बजेटमा प्रत्यारोपण गरेकाहरूका लागि औषधिका लागि मासिक पाँच हजार प्रदान गर्ने भनियो । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । मजस्तो प्रत्यारोपण गरेका सामान्य आर्थिक अवस्था भएकाहरू धेरै हुनुहुन्छ, जसले मासिक २० हजार रुपैयाँभन्दा बढी औषधिमा खर्चनुहुन्छ । हामीलाई मासिक पैसा होइन, निःशुल्क औषधि व्यवस्था होस् सरकार, अरू केही चाहिँदैन ।

प्रत्यारोपणको २१ वर्ष भयो, सामान्य छु
मनिष भट्टराई
निर्देशक, बीबीएन (म्याक्स), रूपन्देही

मेरो मृगौला प्रत्यारोपण गरेको २१ वर्ष पूरा भएको छ । चिकित्सा विज्ञानले पनि प्रत्यारोपण गरेको व्यक्तिको आयु सरदर १० देखि १५ वर्ष मात्र हुन्छ भन्छन् । तर, त्यसो होइन । मेरो २०५६ सालमा भारतमा मृगौला प्रत्यारोपण भएको हो । अहिले सामान्य मानिसजस्तै जीवन बिताएको छु । ५० वर्ष बाँचेको पाएका छौं । त्यसैले मृगौला प्रत्यारोपणपछि धेरै आयु हुँदैन भन्नु सरासर गलत हो । मृगौला दिने र लिने दुवैको आयु लामो हुन्छ । आममानिसजस्तै स्वस्थ हुन्छन् । उदाहरण म आफैं छु । मृगौला प्रत्यारोपण गरेकाहरूले विवाह गरे पनि सफल हुँदैन भन्ने भ्रम छ अझै पनि । मैले प्रत्यारोपणपछि विवाह गरें । छोरा जन्मियो । त्यत्ति हो, हामीले औषधि नियमित खानुपर्छ, स्वास्थ्य सतर्कता अपनाउनुपर्छ । अहिले म सामान्य आममानिसजस्तै बाँचिरहेको छु । नियमित कामहरू गरिरहेको छु । मैले के महसुस गरें भने मृगौला रोगको सिकार जोसुकै पनि हुन सक्ने रहेछन् । जस्तो कि यो रोग देखा पर्नुअघि तीन महिनासम्म त मलाई केही समस्या नै थिएन । त्यसैले म सबै जनालाई सकिन्छ भने प्रत्येक तीन महिनामा, सकिँदैन भने ६–६ महिनामा पिसाब परीक्षण गरेर बस्न आग्रह गर्छु । सामान्य मान्छेले पनि आफ्नो खानपानमा ध्यान दिँदा राम्रो हुन्छ । सबैभन्दा महŒवपूर्ण कुरा पिउने पानी सफा हुनुपर्छ । सकिन्छ भने तातो पानी पिउँदा धेरै राम्रो हुन्छ ।
मृगौला बिरामीले डाइलासिस नियमित अथवा ट्रान्सप्लान्ट प्रत्यारोपण गरेपछि अन्य आम मानिसजस्तै जीवन व्यतीत गर्न सक्छन् । यसको उदाहरण म आफैं छु । मृगौला प्रत्यारोपण गरेको ६ वर्षपछि मैले विवाह गरें । मेरो वैवाहिक जीवन सफलतापूर्वक अघि बढेको छ । मेरो एउटा छोरा छ । श्रीमती पनि मेरो स्वास्थ्यप्रति सचेत छिन् । त्यसो त म नियमित व्यायाम गर्छु । १५ देखि २० किलोमिटरसम्म दैनिक साइक्लिङ गर्छु । त्यसपछि आफ्नै व्यवसायमा दैनिक ८ देखि १० घण्टासम्म व्यस्त रहन्छु । त्यसैले म सबै दाजुभाइ–दिदीबहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने आफ्नो शरीरको नियमित परीक्षण गरिराख्नुपर्छ । मलाई अहिलेसम्म केही रोग छैन भनेर नबस्नुहोस् । रोग लाग्नुभन्दा पनि रोग लाग्न नदिनु नै राम्रो कुरा हो ।
मृगौला प्रत्यारोपणपछि अहिले करिब २१ वर्ष पूरा भएको छ । त्यही हो, प्रत्यारोपणपछि जीवनभरि नियमित औषधि सेवन गर्नुपर्छ, जुन खर्चिलो छ । राज्यले प्रत्यारोपण गरेका बिरामीहरूलाई मद्दत गर्नुपर्छ । सहयोग गर्ने भनेर नीति ल्याउँछ, तर कार्यान्वयन भएको पाइँदैन । जसरी अहिले प्रत्यारोपण गर्न आर्थिक सहयोग उपलब्ध गराउँछ त्यसैगरी औषधिका लागि पनि मद्दत गर्न जरुरी छ ।

मृगौला सुरक्षित आफैं गर्न सक्छौं
सुदर्शन पन्त
कर्मचारी
हिमालयन बैंक, भैरहवा शाखा

म अहिले ४५ वर्षको भएँ । भैरहवा बैंक कलोनीमा बस्छु । हिमालयन बैंक, भैरहवा शाखामा जागिरे छु । हेर्नुस्, आज १७ वर्ष भयो मृगौला प्रत्यारोपण गरेको । कसले भन्छ, म मृगौला फेरेको मान्छे भनेर । बिहान व्यायाम गर्छु, साइकल चलाउँछु, दिनभरि अफिसमा हुन्छु, साथीभाइसँग घुम्छु, व्यस्त राख्छु आफूलाई । मृगौला फेरेपछि (प्रत्यारोपण) मान्छे धेरै बाँच्दैनन्, विवाह गर्न हँुदैन, विवाह गरे पनि बच्चा हुँदैन, काम गर्न सकिँदैन भन्छन्, यो सब हावादारी कुरा र भ्रममात्र हो, उदाहरण मै छु । १८ वर्ष भयो, मृगौला फेरेको । विश्वास गरांै आफूलाई । सकारात्मक सोच राखौं । आफ्नो बानी, खानपानमा सुधार गरौं । सब ठीक हुन्छ । एउटा कुरा के छ भने रोग लाग्यो भने जरो आएर पनि मान्छेको ज्यान जान्छ नि, हो हामी सचेत भने पक्कै हुनुपर्छ । हामी सचेत रह्यांै र आत्मविश्वास बलियो भयो भने जस्तोसुकै रोग लागे पनि लड्न सक्छौं ।
मृगौला प्रत्यारोपण गरिसकेपछि खानपानमा ध्यान दिनुप¥यो, नियमित व्यायाम हामीले मात्र होइन, सबैले गर्दा राम्रो हुन्छ, समयमा सुत्ने, समयमा उठ्ने, कम्तीमा आठ घण्टा सुत्ने, धूम्रपान, मद्यपान, मदिरापान नगर्ने, मानसिक तनावमा नरहने, ६–६ महिनामा स्वास्थ्य परीक्षण गर्नुप¥यो र नियमित औषधि टुटाउन भएन । सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो, मलाई केही भएकै छैन भनेर सकारात्मक सोच लिएर हिँड्नुपर्छ । हामी हाम्रो मृगौला सुरक्षित आफैं गर्न सक्छौं । रोग लागेपछि औषधि गर्नुभन्दा पनि रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो । त्यसैले कम्तीमा वर्षको एकपटक मेरो मृगौला कस्तो छ भनेर परीक्षण भने अवश्य गर्नुपर्छ । सरकारले पनि मृगौला प्रत्यारोपण गरेकाहरूलाई डाइलासिस र प्रत्यारोपण गर्दा आर्थिक सहयोग गर्छ, त्यसैगरी प्रत्यारोपणपछि नियमित औषधि सेवन आजन्म गर्नुपर्ने भएकाले पनि यसको बारेमा केही सोचोस् भन्ने मेरो धारणा छ ।
आजभन्दा करिब १८ वर्षअघि मेरो स्वास्थ्यमा अचानक समस्या देखिँदा मृगौला बिग्रेको थाहा लाग्यो । डाइलासिस निरन्तर वा प्रत्यारोपण गर्नुपर्ने भनी चिकित्सकहरूले सल्लाह दिए । ढिला गरे जे पनि हुन सक्छ भन्दा त जिन्दगी यत्तिकै रहेछ भन्ने हुन्थ्यो र नेपालमा मृगौला प्रत्यारोपण हुन्थ्यो÷हुन्नथ्यो थाहा थिएन, डाइलासिस काठमाडौंमा हुन्थ्यो । चिकित्सकको सल्लाहसँगै मृगौला प्रत्यारोपण गर्ने निधो भयो । दाता खोजेर भारतमा प्रत्यारोपण गर्ने सल्लाह भयो । भारतमा उपचार, त्यसमा पनि मृगौला प्रत्यारोपण झन् महँगो । मध्यमवर्गका हामीलाई निकै समस्या, घरपरिवारलगायतकोे सहयोगले सन् २००५ मा भारतमा मृगौला प्रत्यारोपण सफलतापूर्वक भयो ।

प्रत्यारोपणपछि जीवन सामान्य छ
कृष्ण पाण्डे
नायब महाप्रबन्धक, अर्घाखाँची सिमेन्ट प्रालि

म मृगौला प्रत्यारोपण गरेको व्यक्ति हुँ र यो मेरो जीवन दोस्रो जीवन हो । म ३४ वर्षको हुँदा मृगौलाले काम गर्न छाडेको थियो । अहिले मृगौला प्रत्यारोपण गरेको आठ वर्ष भयो । अहिले ४२ वर्ष भएको छु । त्यस्तो कुनै समस्या छैन । मृगौला फेरेको मान्छेको बालबच्चा हुँदैनन् भनेर हल्ला गर्छन् । मृगौला फेरेको तीन वर्षमा हाम्रो परिवारमा छोराको जन्म भयो । योभन्दा ठूलो उदाहरण के हुन सक्छ ?
वास्तवमा मृगौला प्रत्यारोपण गरेको मानिस आममानिसले जस्तै जीवन जिउन सक्छ भन्ने उदाहरण म आफैंलाई देखाउन चाहन्छु । बिहान पाँच बजेदेखि मेरो दैनिकी सुरु हुन्छ । लगभग आठदेखि नौ किलोमिटर मर्निङ वाक, त्यसमा पाँच÷छ किलोमिटर दौड (रनिङ) समेत हुन्छ । बिहान ९ बजे अफिस जानु र बेलुका ६ देखि ७ बजेसम्म घर पुग्नु मेरो दिनचर्या हो ।
म भन्छु, रोग लाग्न नदिनु उत्तम हो । त्यसैले आफ्नो स्वास्थ्यप्रति सचेत आफैं हुनुपर्छ । मृगौला प्रत्यारोपण गरिसकेपछि सावधानी धेरै अपनाउनुपर्छ ।
मृगौला बिरामी भइयो भनेर आत्तिनु पर्दैन । अहिले नेपालमा सरकारले निःशुल्क डाइलासिसको व्यवस्था गरेको छ भने प्रत्यारोपण हुने सरकारी अस्पतालमा प्रत्यारोपण गरे पाँच लाख रुपैयाँ प्रत्यारोपणका लागि अनुदान आउँदो रहेछ । त्यसैले आत्तिनु पर्दैन । उपचारमा सहयोगी हातहरू पनि भेटिन्छन् । तर, प्रत्यारोपणपछि जीवनभरि औषधि सेवन गर्नुपर्छ, आर्थिक भार बढी छ । खर्च जुटाउन गाह्रो हुन्छ औषधिका लागि । मासिक पाँँच हजारदेखि २५ हजार रुपैयाँसम्म औषधिमा खर्च हुन्छ । त्यसैले सरकारले प्रत्यारोपण गरी नियमित औषधि सेवन गरिरहेका बिरामीहरूप्रति ध्यान देओस् । आर्थिक सहयोग होइन, औषधिको उपलब्धता निःशुल्क हुनुप¥यो । निःशुल्क औषधि उपलब्ध भयो भने आर्थिक अवस्था कमजोर भएकाहरूलाई धेरै राहत हुन्छ, हुनेखानेले त जसरी पनि व्यवस्था गर्छन् ।
३२ वर्षमा प्रवेश गर्दा मलाई सोही वर्ष एपेन्डिक्सले ठूलो दुःख दियो । मेरो एपेन्डिक्स बिग्रेर जीवनको अन्तिम समयमा डक्टरको प्रयास र समयमै भएको शल्यक्रियाले बच्न त सफल भएँ, तर जीवनभर पीडा दिने रोगको सिकार हुन पुगें । एपेन्डिक्स बिग्रेकै कारण म मृगौला रोगको सिकार हुन पुगें । मृगौला रोगका कारण थियो, एपेन्डिक्स बिग्रिएर फैलिएको विषजस्तै पदार्थ । पहिलो पटक यो रोग लागेको मैले थाहा पाउँदा मैले आफूलाई संसारको सबैभन्दा दुःखी व्यक्ति ठान्न पुगें । जब मैले मृगौला खराब भएको जानकारी पाएँ, निकै निराश भइसकेको थिएँ त्यतिबेला ।
मैले यो रोगको दुईवटा मात्र विकल्प देखें । त्यो भनेको नियमित डाइलासिस या मृगौला प्रत्यारोपण । मैले सोंचे, नियमित डाइलासिस त्यति राम्रो होइन, प्रत्यारोपण भनेको जीवन जिउन सकिने उत्तम विकल्प मैले ठानें । प्रत्यारोपण त गर्ने तर ‘मृगौला दान गर्ने को ?’ भन्ने प्रश्नले मलाई पटक–पटक विचलित बनायो ।
मेरो ठूली दिदी (उमेर ३८ वर्षमै) मलाई आफ्नो मृगौला दिन तयार हुनुभयो । मृगौला प्रत्यारोपणका लागि हामी मानसिक रूपमा तयारी त भयौं तर अगाडि आर्थिक समस्या विकराल रूपमा आयो । परिवार, साथीभाइ, इष्टमित्र, काम गर्ने संस्थालगायतको सहयोगमा भारत, दिल्लीको गंगाराम अस्पतालमा मृगौला प्रत्यारोपण भयो । तर पनि यसमा परिवार, नातागोताको सरसापटी, सहयोग रह्यो र महत्वपूर्ण योगदान म कार्यरत संस्था (अर्घाखाँची सिमेन्ट प्रालि) का प्रबन्ध निर्देशक राजेश अग्रवालज्यूको ठूलो सहयोग रह्यो । तसर्थ मैले उहाँलाई कर्म दिने बाबुको रूपमा लिने गरेको छु । चार महिनाको लामो समयपछि काममा फर्किएँ । धेरै डर–त्रास थियो । जीवनमा के हुने हो जस्ता कुरा जहिले पनि मनमा खेलिरहन्थ्यो, तर मैले कहिल्यै हिम्मत हारिनँ । श्रीमतीको अथाह माया, स्याहार र दैनिक खानपानका साथै उसले गर्ने आमाजस्तो व्यवहारका कारणले नै मेरो जीवनको यो बेलासम्म म एउटा आममानिसजस्तै तन्दुरुस्त र हट्टाकट्टा छु । नियमित औषधि सेवन र परीक्षण गराइरहनु मेरो जीवनको बाँकी उमेरको प्रक्रिया हुनेछ ।

मृगौलाप्रति सचेत होऔं
उज्ज्वल जोशी
निर्देशक, जोशी प्याथोलोजी, भैरहवा

आजभन्दा करिब १३ वर्षअघि मेरो मृगौलामा समस्या देखिएको थियो । त्यसपछि थप परीक्षण गर्दा मृगौला खराबी हुन लागेको भनेर चिकित्सकहरूले भन्नुभयो । सुरुको अवस्था भएकाले नआत्तिन सुझाव दिनुहुन्थ्यो ।
तर जति भने पनि मन न हो, मृगौला खराब भनेको सुनेपछि आत्तिने कुरै भएन । सुरुको अवस्था भएकाले केही हुँदैन भन्ने धेरै थिए । त्यही अनुसार औषधि र अन्य परीक्षण भइरहेको थियो । अहिले ३५ वर्षको भएँ । मृगौलाको समस्या देखिनुअघि नै विवाह भइसकेको थियो । छोरीको जन्म पनि भएको थियो । जसले जे भने पनि परिवारको चिन्ता भइहाल्छ नि । विस्तारै डर बढ्दै जान लाग्यो । केही पो हुने हो कि भन्ने डर बढ्दै गयो । तर, हतास भने भइनँ ।
म आफैं ल्याब टेक्निसियन भएका कारण नियमित परिक्षण गर्थें र यो सुरुमै थाहा भयो । ६ वर्षसम्म नियमित औषधि सेवन गरें । तर, डाइलासिस भने गरिनँ । एकैपटक प्रत्यारोपण गरें ।
पाँच वर्षअघि उमेर भक्तपुर मानव अंग प्रत्यारोपण अस्पतालमा मृगौला प्रत्यारोपण सफलतापूर्वक भयो । त्यसपछि छोरा पनि जन्मियो । राम्रै छ । कुनै समस्या छैन । नियमित व्यायाम गर्छु । खानपानमा ध्यान दिन्छु । भैरहवामा जोशी प्याथोलोजी सञ्चालन गरेको छ ु। नियमित रूपमा त्यहाँ पनि जान्छु । केही समस्या छैन ।
मृगौला रोग लाग्यो भनेर आत्तिनु, तनाव लिनु भनेको आफ्नो बिरामी आफैं बढाउनु हो । अहिले त निःशुल्क डाइलासिस हुन्छ । सरकारले उपचारका लागि पैसा अनुदानमा दिन्छ । त्यसैले आत्तिनु हुँदैन । सहयोगी मनहरू हुन्छन् । बरु स्वास्थ्य परीक्षण सकिन्छ भने वर्षको दुई पटक, नसके एकपटक नियमित रूपमा गर्दा धेरै राम्रो हुन्छ । जसरी मैले नियमित परीक्षण गर्दा सुरुमै थाहा भयो, त्यसैगरी सुरुमै मृगौला मात्र होइन कुनै पनि रोगका बारेमा जानकारी प्राप्त भए उपचारमा धेरै सजिलो हुन्छ । त्यसैले हामी आफ्नो स्वास्थ्यप्रति आफैं सचेत बनौं । नियमित व्यायाम गरौं, प्रशस्त सुतांै, खानपानमा ध्यान दिऔं । त्यति गरे जीवन आफैं रफ्तारमा चल्छ । त्यति हो, आफैंले ध्यान दिए मृगौला सुरक्षित राख्न सकिन्छ ।

मृगौला बिरामी भइयो भनेर हरेस नखाऔं
गौतम रौनियार
इन्जिनियर, बुटवल उपमहानगरपालिका

मृगौला प्रत्यारोपण गरेपछि दैनिकी निकै असहज हुन्छ । धेरै बाचिँदैन, काम गर्न सकिँदैन भन्ने सबै भ्रम हुन् । यहीं हाम्रो वरपर प्रत्यारोपण गरेर २० वर्षभन्दा बढी बाँचिरहनुभएको कति हुनुहुन्छ । अझै पनि सामान्य जीवन जिइरहनुभएको छ । म पनि यस्तै एक प्रत्यारोपण गरेको उदाहरण हुँ । ६ वर्ष भएको छ प्रत्यारोपणको, सबै ठीक छ अहिले । पेसाले इन्जिनियर हुँ । नियमित रूपमा काम गर्छु, फिल्डमा जान्छु । केही समस्या छैन । अन्य मानिससरह नै काम गरिरहेको छु । त्यसैले मृगौला प्रत्यारोपण गरेकाहरू काम गर्न सक्दैनन्, भविष्य लामो हुँदैन भन्नु सबै बकवास कुरा हुन् । अहिले मेरो दैनिकी आममानिसको जस्तै चलिरहेको छ । त्यति हो, स्वास्थ्यप्रति बढी सचेत हुनुपर्छ ।
मलाई स्वास्थ्यमा त्यस्तो कुनै समस्या थिएन । आफ्नो काम मजाले गरिरहेको थिएँ । जिन्दगी आफ्नै रफ्तारमा दौडिरहेको थियो । खानपान, विलासिता जीवन त्यस्तो खासै केही थिएन । परिवारमा सबै खुसी थियौं, जिन्दगी चलिरहेथ्यो हाँसीखुसी । २०७२ सालमा दौडिरहेको मेरो जिन्दगीको गाडीमा अचानक ब्रेक लाग्यो । देशमा भूकम्प आयो । मेरो जिन्दगीमा पनि त्यही भूकम्पको धक्का लाग्यो । अचानक स्वास्थ्यमा समस्या देखियो । परीक्षण गर्दा मृगौला खराब छ भन्ने कुरा आयो । मलाई त विश्वास नै लागेन । न कुनै सिन्ट्रोम, न कुनै त्यस्तो समस्या केही थियो । चिनेजानेका आफन्तमार्फत सीधै दिल्लीको सर गंगाराम अस्पताल पुगें ।
अस्पताल पुग्नेबित्तिकै सामान्य चेकजाँच र रिपोर्टका आधारमा चिकित्सकले मृगौला बिग्रेको छ भन्यो । मैले म नेपालबाट आएको हुँ, टाढाबाट आएको छु, राम्रोसित परीक्षण नै नगरी यसो भन्नुहुन्छ, सीधै डाइलासिस भन्दिनुहुन्छ भनें । चिकित्सकले सही कुरा हो भन्यो, मलाई विश्वास लागेन । म अन्यत्र भेल्लोर, मुम्बई, लखनउ सब ठाउँमा गएँ । जहाँ पनि मृगौलामा समस्या छ भन्थे, अब अलि–अलि विश्वास लाग्न थाल्यो र उपचार सुरु गर्नुपर्छ भन्ने लाग्यो । आफैंले आफैंलाई माया गर्नुपर्छ भन्ने धारणा ममा आयो । आत्मविश्वास बलियो बनाएँ । हौसला उच्च राखें । हिम्मत कमजोर बनाइनँ ।
फेरि दिल्ली सर गंगाराम अस्पताल फर्किएँ र उपचार सुरु गरें । डाइलासिस पनि सुरु गरें ६ महिनासम्म । हप्ताको तीन पटक, चार पटकसम्म गरें । डाइलासिसकै क्रममा मैले बाँच्न सिकें । कतिपय बिरामी डाइलासिसकै क्रममा मरेको पनि देखें । त्यो देखेर परिवारका सबै डराउँथे । तर, मैले आत्मविश्वास कहिल्यै डगमगाउन दिइनँ ।
मलाई मृगौला दान मेरी सासूले गर्नुभयो । अहिले मृगौला प्रत्यारोपण गरेको ६ वर्ष भइसकेको छ । मेरो जिन्दगी, प्यासन पुरानै रफ्तारमा फर्किएको छ । काम गरेकै छु । त्यस्तो केही समस्या छैन, ४४ वर्ष भएँ । अर्को कुरा, रोग लाग्यो भनेर आत्तिनु हँुदैन । आत्मविश्वास बलियो बनाउनुप¥यो । मुख्य कुरा, बाँच्न सिक्नुपर्छ, आँटिलो हुनुपर्छ, हिम्मतिलो हुनुपर्छ, केही हँुदैन । मुख्य कुरा, प्रत्यारोपण पछि नियमित आजन्म औषधि खानुपर्छ । मैले अहिले मासिक २५ हजार रुपैयाँको औषधि खान्छु । त्यसैले सरकारले औषधि निःशुल्क पाउने व्यवस्था गरोस् । प्रत्यारोपण गरेका बिरामीलाई निःशुल्क औषधि दिने व्यवस्था सरकारले गरे सामान्य आर्थिक अवस्था भएकालाई सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्