मूल्यवृद्धि दोब्बर हुने खतरा : पूर्वमन्त्री बिष्ट

गुल्मी-नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा निरन्तर बढिरहेको बताएका छन् । गृह जिल्ला गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एकीकृत बस्तीमा पीडितहरुलाई घर हस्तान्तरण गर्दै बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुन सक्ने खतरा बढिरहेको बताएका हुन् ।
“पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगिसकेको छ” बिष्टले भने, “रुस र युक्रेनको युद्ध नरोकिएमा नेपालको मूल्यवृद्धि दोब्बरले वृद्धि हुन सक्छ ।” निरन्तरको मूल्यवृद्धि र पछाडि धकेलिएको आर्थिक अवस्थामा वर्तमान सरकार गम्भीर बन्न नसकेको बिष्टको आरोप छ ।
नेपालले अहिले निरन्तर ब्यापार घाटा बेहोरेको अवस्थाले गर्दा अहिले देश अप्ठ्यारो अवस्थामा रहेको बिष्टले बताए । निरन्तर उपभोग गर्ने सबै समानहरु भारतबाट खरिद गर्नुपर्ने अवस्थामा नेपाल रहेका कारणले गर्दा आर्थिक हिसाबले देश पछाडि धकेलिएको बिष्टको भनाइ रहेको छ ।
सरकारले ८ महिना बित्दा पनि २० प्रतिशत पनि विकास खर्च नगर्नु लज्जास्पद भएको बिष्टले बताए । सरकारले आर्थिक वर्ष सकिन लाग्दा पनि जम्मा १७÷१८ प्रतिशत बजेट मात्र खर्च गरेको भन्दै बिष्टले वर्तमान सरकारले देशको अर्थतन्त्र लथालिङ्ग बनाएको समेत बताए । फरक प्रसंगमा बिष्टले पहाडी क्षेत्रको ग्रामीण भेगमा सोचेजस्तो विकास गर्न लामो समय लाग्ने बताए ।
सिर्सेनीमा सालझण्डी–ढोरपाटन राजमार्ग विस्तारको क्रममा क्षति पुगेका र भूकम्पले क्षति पु¥याएका १७ घरपरिवार पीडितलाई एकीकृत नमुना बस्ती बनाएर घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको कुल ९९ लाख ४१ हजार रुपैयाँमा पीडितलाई घर बनाएर हस्तान्तरण गर्न सफल भएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।