निर्माण व्यवसायी महासंघको १२औं अधिवेशन शुक्रबारदेखि

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । साधारणसभा तथा अधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासंघले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । साधारणसभा तथा अधिवेशनमा करिब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ । साधारणसभाकै उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्नु हुने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँकार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारण सभामा महासचिव एवं कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागका विषयमा छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने छ ।