Logo

कांग्रेसको निर्वाचन केन्द्रित अभियान २९ फागुनदेखि

नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।
बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए । त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यस अघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरुको सम्बन्धमा जनतालाई सुसूचित गराउने लक्ष्य राखिएको छ ।
प्रवक्ता महले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरुले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि यस सम्बन्धमा प्रशिक्षण समेत सञ्चालन गर्ने बताए । एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उनले उल्लेख गरे । उनले भने, ‘एमसीसीको बारेमा अत्यन्त नकारात्मक प्रचार गरिएको छ । दुष्प्रचार गरिएको छ, भ्रम फैलाइएको छ । त्यो भ्रमलाई चिर्नु हाम्रो जिम्मेवारी हो । किनभने नेपाली कांग्रेस पार्टी यथार्थ कुरामा विश्वास गर्छ । सत्य कुरामा विश्वास गर्छ । सत्तामा हुँदा एउटा कुरा, सत्ता बाहिर अर्को कुरा हामी गर्दैनौँ । त्यसो हुनाले यो हाम्रो जिम्मेवारी हो, कर्तव्य हो । जति बाँकी बचेको भ्रम र दुष्प्रचार छ त्यसलाई हामी चिर्छौ ।
यो विकास सहयोग हो । अनुदान सहयोग हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ । नेपालकै संयन्त्र अर्थ मन्त्रालय अन्तर्गतको सचिवको नेतृत्वको संयन्त्रले यो कार्यान्वयन गर्छ । अरुखाले अनुदान सहयोगसँग हामीले तुलना गर्ने हो भने यो धेरै उदार प्रकृतिको छ ।’
पार्टीको अभियान सफल पार्नका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ । फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताए । अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उनको भनाइ छ । स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताए । कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उनले स्पष्ट पारे । आगामी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उनले बताए । देशको परिस्थिति, गठबन्धन सरकारको भविष्य लगायतका तत्कालिन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे सुविचारित निर्णय लिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्