विमानस्थलमा श्रमस्वीकृति परीक्षण क्युआर कोडमार्फत

वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परीक्षणका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यतालाई सहजीकरण गरिएको छ ।
वैदेशिक रोजगार विभागले श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन प्रवेशमा तीनवटै द्वारबाट प्रवेश पाउने र श्रम स्वीकृति स्टिकर परीक्षणमा छाप लगाउनु नपर्ने नियम लागू गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको नाममा जारी हुने श्रम स्वीकृति निस्सा (प्रिन्टेड स्टिकर) मा लामो लाइन बसेर छाप लगाउने प्रचलन बुधबारबाट हटाएर क्युआर कोडबाट परीक्षण सुरु गरिएको हो । चालू आर्थिक वर्षको सात महिनामा मात्र तीन लाख ५१ हजार श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवालाई विमानस्थलमा झन्झटरहित प्रवेशमा सहजीकरण गरिएको बताए । बुधबारदेखि श्रमिकले अन्य यात्रुसरह कुनै पनि गेटबाट प्रस्थान गर्न पाउने व्यवस्था सुरु गरिएको बताए । अब फर्केर आउने यसरी नै सम्मान हुने गरी विशेष व्यवस्था गरिने मन्त्री श्रेष्ठले बताए । नौ खर्ब रेमिट्यान्स पठाउने श्रमिकलाई सोहीअनुसारको सम्मान र सुविधा दिने जनाइएको छ ।
यसअघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक दुई हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतिको छाप लगाउनु पर्ने नियम रहेका कारण श्रमिकले सास्ती बेहोर्दै आएका थिए । यसैगरी यसअघि वैदेशिक रोजगारीमा जान श्रमिकले तीन वटामध्ये एकवटा मात्र प्रस्थान द्वार प्रयोग गर्न पाउने विभेदपूर्ण नियमसमेत हटाइने भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्वारलाई सीमित गरिएका कारण भित्र प्रवेश गर्न समेत श्रमिकले घन्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको थियो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायाण पौडेलले अब विदेश जान विमानस्थल पुगेका श्रमिकले लिएको श्रम स्वीकृति अध्यागमन कर्मचारीले नै हेर्न सक्ने गरी सेवालाई एकीकृत गरिएको बताए । “अब श्रम स्टिकरमा छाप लगाउनु नपर्ने र प्रस्थानका लागि एउटा मात्र गेट प्रयोग गर्न पाउने विभेदपूर्ण नियम हटाइएको छ,” महानिर्देशक पौडेलले कारोबारसँग भने, “यसअघि श्रमिक प्रवेशका लागि १ नम्बर द्वारमात्र तोकिएकोमा अब भने तीनवटै प्रवेशद्वारबाट श्रमिक विमानस्थलभित्र जानसक्ने गरी व्यवस्थापन गरिने छ ।”
वैदेशिक रोजगार ऐन २०६४ को दफा ७३ मा वैदेशिक रोजगारमा जान लागेको कामदार ऐनबमोजिम जान लागेको हो होइन भन्ने सम्बन्धमा जाँच गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा र आवश्यकता अनुसार अन्य स्थानमा श्रम डेस्क राख्न सकिने व्यवस्थाबमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगार विभागको श्रम डेस्क शाखा रहँदै आएको थियो । अब भने श्रम डेस्कलाई अध्यागमसँगै वैदेशिक रोजगार सूचना केन्द्रको रूपमा रहने विभागले जनाएको छ ।
विगतमा वैदेशिक रोजगारीमा जाने कामदारको नाममा जारी हुने श्रम स्वीकृति निस्सा (प्रिन्टेड स्टिकर) सम्बन्धित व्यक्तिको राहदानीमा टाँस गरिने र श्रम जारी गर्ने कार्यालय तथा श्रम डेस्कले कार्यालयको छाप लगाउने प्रचलन रहँदै आएको थियो । त्यो कारणले दैनिक दुई हजार श्रमिक चापका कारण श्रमिकले घन्टौं लाइन बस्नुपर्ने अवस्था रहेको थियो । विभागले यो वर्षको कात्तिक २६ गतेको निर्णयबाट श्रम स्वीकृति निस्सा (प्रिन्टेड स्टिकर) पूर्ण रूपमा प्रतिस्थापन गरी क्युआर कोडसहितको ई–स्टिकर जारी भई कामदारको ई–मेल ठेगाना तथा कामदारको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) एकाउन्टमा उपलब्ध हुने नियम बनाएको थियो । यो नियम लागू गरेपछि श्रम स्वीकृतिको जानकारी कामदारको मोबाइलमा सन्देसमार्फत समेत प्राप्त हुन थालेको थियो । साथै वैदेशिक रोजगार विभागको वेबसाइटबाट राहदानी-स्टिकर नं. राखी सर्च गर्दा अनलाइनबाटै श्रम स्वीकृति लिए-नलिएको देखिने व्यवस्था भएको हुँदा वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट यस अघि ई–स्टिकरको प्रिन्ट प्रतिमा छाप लगाउँदै आएकोमा अब उप्रान्त ई–स्टिकरको प्रिन्ट प्रतिमा छाप लगाउन नपर्ने महानिर्देशक पौडेलले जानकारी दिए ।
विभागले यसको सहजीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई समेत अनुरोध गरिएको छ ।